विश्वकप प्रारम्भिक चरण छनोट, लाओसविरुद्ध नेपाल…..

काठमाडौँ — ‘मैले चाहेअनुसारको टिम बनेको छ । मैले धेरै बोल्नु हुन्न । टिमले मैदानमा खेलेर देखाउनेछ । फुटबलमा यत्तिको सुन्नमा पनि मज्जा आउने हुन्छ । धेरै आत्मविश्वासी भएन र ? सायद हो नै । यो भनाइ हो, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको । विश्वकप प्रारम्भिक छनोटको पहिलो लेगमा नेपालले बिहीबार दशरथ रंगशालामा लाओसको सामना गर्न लागेको हो । फेरि एकपल्ट विश्वकप छनोटको माहोल फर्केको छ । दोस्रो लेग मंगलबार हुनेछ र यसका लागि नेपाल तुरुन्तै लाओसको भ्रमणमा निस्कनेछ । यो खेल एसिया कपको पनि छनोट रहेको छ । अहिले तत्कालका लागि नेपाली टिम आफ्नो घरेलु मैदानमा आफूअनुकूल नतिजा निकाल्नेमा ढुक्क देखिन्छ । यसका दुई कारण छन् । पहिलो, एनिसकै भनाइमा उनले यसपल्ट आफूले चाहेजस्तो टिम बनाएका छन् । म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलपछि उनी भन्थे, नेपाली टिम उत्कृष्ट बन्ने बाटोमा छ । थ्री नेसन्स कप हुँदा उनले तयारीका लागि समयमै पाएनन् । साफ च्याम्पियनसिपका बेला पनि हतारो नै थियो । यसपल्ट भने तयारीका लागि उनले भनेजस्तो समय पाए । दोस्रो कारण भने तथ्यांकले बोल्ने गर्छ । पहिलो तथ्यांक, लाओस नेपालका लागि त्यस्तो प्रिय प्रतिद्वन्द्वी रहेको छ, जसका विरुद्ध नेपालले अहिलेसम्म हार बेहोर्नुपरेको छैन । त्यसो भनेको नेपाल लाओसविरुद्ध अपराजित छ । अहिलेसम्म लाओसविरुद्ध तीन खेल भएकामा सुरुआती दुई खेल बराबरीमा टुंगे भने तेस्रो खेलमा नेपाल विजयी रहेको छ । नेपाल विजयी रहेको खेल थ्री नेसन्स कपको हो अनि त्यसै प्रतियोगिताको फाइनलमा नेपालले लाओसलाई नै हराएको हो । दोस्रो कारण, विश्वकप छनोटमा नेपाल आफ्नो घरेलु मैदानमा सन् २०११ यता हारेको छैन । अन्तिम पटक हारेको सन् २००७ मा ओमानविरुद्ध हो । त्यसो भनेको नेपालले विश्वकप छनोटको घरका खेलेका पछिल्ला चार खेलमा अपराजित छ । त्यसमध्ये दुई खेल बराबरीमा रहेको छ दुई खेलमा नेपाल विजयी रहेको छ । साफ च्याम्पियनसिपमा जसरी प्रशिक्षक एनिस प्रस्तुत भए, उनको आफ्नै आत्मविश्वास पनि बढेको देखिन्छ । बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक एनिसले थपेका छन्, ‘यो छनोट मेरा लागि पनि निकै महत्त्वपूर्ण छ किनभने यो नेपालका लागि मैले सामना गर्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता हो । हामीले विश्वकप छनोटका लागि भनेर दुई महिना तयारी गरेका छौं । सबै खेलाडी फिट छन् । भोलि पक्कै पनि हाम्रो टिमले राम्रो खेल्नेछ । हाम्रा लागि त्यसैले राम्रो अवसर छ । थ्री नेसन्स कपमा लाओसको सामना गर्दाको भन्दा अहिलेको स्थिति फरक छ ।  साभार : इका

नेपाली टिम:

गोलरक्षक : किरण लिम्बू, दीप कार्की र अभिषेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ र एरिक विष्ट ।

मिडफिल्डर : सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश छन्जु र मनीष डाँगी ।

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, गिलेप्सीजंग कार्की, दिनेश हेम्जन, हिसुब थपलिया र सञ्जीव विष्ट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार