केसीको शपथले धाँधली स्पष्ट भयो…..

काठमाडौँ — गैरआवासिय नेपाली संघ (एनआरएनए)को ११ औँ सम्मेलनको नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रतिस्पर्धीले आरोप लगाएका छन् । अध्यक्षमा निर्वाचित घोषणा गरिएका बद्री केसीको पक्षमा धाँधली भएको अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले आरोप लगाएका हुन् । अध्यक्षका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले शनिबार धाँदलीबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्न नसकिने पनि घोषणा गरेका छन् । ललितपुरमा पत्रकार सम्मेलन गरेर शर्मा र श्रेष्ठलगायतले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति तोडेर अध्यक्ष निर्वाचित घोषित केसीले शपथ लिएको भन्दै नेतृत्व स्वीकार गर्न नकसिने बताएका हुन् । अध्यक्षका उम्मेदवार शर्माले आईटी विज्ञ राखेर अनुसन्धान गर्ने सहमति केसीले उलंघन गरेको बताए । ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरूले धाँदली गरेर जितेको स्पष्ट हुन्छ । आजै शपथ खानुपर्ने दुई हप्तापछि खानुपर्नेमा, मलाई लाग्दैन दुई हप्तामा ठूलै पहाड पल्टिन्छ,’ उनले आरोप लगाए, ‘धाँदली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरू सच्चा हुनुहुँदो रहेनछ । गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ । सबल हुनुपर्छ । अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सिमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । ‘उहाँहरूले सिमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ । त्यो प्रयत्न उहाँहरूले गर्नुपर्दथ्यो,’ उनले भने, ‘सिमित समूहले के गर्न खोज्नुभएको हो ? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ ? यसले नराम्रो असर पर्छ । यसैपनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ । काठमाडौंमा भएको सम्मेलनमा अध्यक्षका तीन उम्मेदवार थिए । विजयी केसीले केसीले १ हजार ३७८ मत पाएका थिए । प्रत्याशीद्वय शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका थिए । विजयी घोषित केसीले शनिबार शपथ र पदभार ग्रहण गरेका थिए । उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट एक मत पनि नआएपछि गणनाका क्रममा विवाद भएको थियो । आफूले हालेको भोट समेत विद्युतीय भोटिङ मेसिनमा नदेखिएको उनले बताएका थिए । एनआरएनको चुनाव विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ मार्तफ भएको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार