१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

  टोपबहादुर याक्खा

२६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्ति संगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको श्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झै ११५ औं जन्म जयन्तिको अवसरमा महाकवि लक्ष्मि प्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाएर कार्यक्रम शुरु गरिएको थियो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ भ्रमणका क्रममा रहेका कार्यक्रमका प्रमखु अतिथि कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको पछिल्लो निबन्ध संग्रह ‘शब्द थुम’, बबिता मादेनको ‘१९८६ बास हराएपछि’ लेख संग्रह, दिलीप योञ्जन तामाङको मुक्तक संग्रह ‘आगमन’ र मञ्जल मितेरीको ‘कामी’ कविता संग्रह सार्वजनिक गरिएको थियो । सोही क्रममा श्रृंखलाका संयोजक रमण गुरुङले प्रमुख अतिथि प्रकाश थाम्सुहाङलाई श्रृंखला परिवारको तर्फबाट ताम्रपत्रद्धारा सम्मान गरेका थिए ।
हङकङकै संयुक्त स्टुडियोमा नेपाली भाषा कक्षा लिइरहेका बालबालीकाहरु युनेश लिम्बु, नाम्लाहाङ खिम्पुले राई, सुवम लिम्बुका साथै प्रमुख अतिथि प्रकाश थाम्सुहाङ लगायत कार्यक्रममा उपस्थित कवित तथा साहित्यकारहरुले आफ्ना सृजना वाचन तथा मन्तव्य राखेका थिए । सार्वजनिक गरिएको प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्द थुम’ माथि कवि तथा साहित्यकार देवेन्द्र खेरेसले टिप्पणी राखेका थिए भने अत्य कृति लगायत समग्र कार्यक्रम बारे श्रृंखलाका संरक्षक दाजु गुरुङले आफ्ना भनाइहरु राखेका थिए ।
याउ मा तेईस्थित हिन्सको कार्यालयमा साहित्यकार रोशन यक्सोद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमका अध्यक्ष रमण गुरुङद्धारा आफ्नो मन्तव्य राख्दै समापनको घोषणा गरेसंगै नेपालीहरुको महान चाड तिहारको अवसरमा मोडल तथा गायीका मन्जु थापाको अग्रतामा देउसीभैलो तथा नाँचगान गर्दै तिहार विशेष साहित्य श्रृंखला सम्पन्न भएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार