कारागारमा कैदीबन्दीको गुपचुप मृत्यु, किन खोजिँदैन कारण ?…..

विराटनगर –      जिल्ला कारागार मोरङको थुनामा रहेका दुई जनाको गएको वैशाख तेस्रो साता ६ दिनको अन्तरमा रहेका मृत्यु भयो । वैशाख २१ गते आइतबार ५४ वर्षीय थुनुवा प्रवीण तामाङले कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । चिकित्सकहरुका अनुसार, उनलाई श्वासप्रश्वासको समस्या थियो । वैशाख १५ गते उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको कोशी अस्पतालमै मृत्यु भयो । उनी जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् । दनुवारलाई अस्पताल पुर्‍याएको २ दिनपछि र तामाङको एक दिनपछि मृत्यु भएको हो । एक सातामै मृत्यु भएका दुई व्यक्तिको मृत्युको थप कारण खोजिएन । पोष्टमार्टम नगरी कारागारले कागज गरेर परिवारलाई शव जिम्मा लगायो । २ चैत २०८१ मा पनि मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय थुनुवा जितबहादुर देवानको मृत्यु भयो । अपराधिक उपद्रव गरेको कसुरमा अदालतले धरौटी बापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसक्दा उनी कारागार चलान भएका थिए । उनको पनि पोष्टमार्टम भएन । मोरङ कारागारमा गत साउनदेखि वैशाखसम्मको ८ महिनामा ८ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । जसमा ४ जना कैदी छन् । ४ जना पुर्पक्षका लागि थुनामा रहेका थुनुवाहरु हुन् । तर, कुनै पनि घटनामा उनीहरुको मृत्युको कारण गम्भीरतापूर्वक खोतल्ने प्रयास गरिएको छैन ।

यी कैदीबन्दी, जसले गुपचुप ज्यान गुमाए:

– माघ २९ गते जबरजस्ती करणी मुद्दाका कैदी रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडू सतारको मृत्यु भयो ।
– पुस २० गते हाडनाता करणी मुद्दामा कैदी बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईले ज्यान गुमाए ।
– पुस ९ गते ज्यान मार्ने उद्योगका थुनुवा ५१ वर्षीय अन्तरे भनिने बिर्खबहादुर लिम्बुको मृत्यु भयो । – मंसिर २ गते विराटनगर महानगरपालिका–८ का ५५ वर्षीय कैदी महानन्द राय अमातको मृत्यु भयो । – भदौ २३ गते बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको मृत्यु भयो । उनीविरुद्ध मोरङसहित झापा, सुनसरी, इलाम र धनकुटामा चोरी मुद्दा चलेको थियो । – २०८१ वैशाख १ गते लागुऔषध मुद्दाका थुनुवा नरेन्द्र लिम्बू र जेठ ८ गते ३९ वर्र्षीय धनबहादुर थापाको मृत्यु भयो ।

कारागारको अभिलेखमा कुनै पनि कैदीबन्दीको मृत्यु हुँदा त्यसको कारण उल्लेख गर्नुपर्छ । तर, मोरङ कारागारको अभिलेखमा सबैको मृत्युको कारण एउटै छ–अस्पतालमा मृत्यु भएको उपचारकै क्रममा ।’ अर्थात्, चिकित्सकीय जाँच गरेर मृत्युको कारण खोतल्नुपर्नेमा सामान्य औपचारिकताका शब्द मात्र त्यसमा लेख्ने गरिएको छ । कारागारको रेकर्डले कैदीबन्दीको शृङ्खलाबद्ध मृत्यु देखाउँछ तर, कैदीबन्दीको मृत्युमा कारागार प्रशासन र राज्य गम्भीर भएको देखिन्न । मृत्युको कारण नखोजिँदा कारागारमा कैदी कालगतीले मात्र मरिरहेका छन् कि अरु कुनै समस्याले ज्यान गुमाइरहेका छन् भन्ने विषयमा शंका उत्पन्न हुने मानव अधिकारकर्मीसमेत रहेका एमाले नेता सोमराज थापा बताउँछन् । कालगतीले मृत्यु हन्छ कि मारिन्छन् भन्ने खोजी गरिनुपर्छ,’ उनले भने,‘ सरकारको नियन्त्रणमा भएका मानिसको मृत्यु सामान्य ठानिनु हुँदैन । यद्यपि, अधिकारीहरुका अनुसार, कारागारमा मृत्यु भएकाहरुको पोष्टमार्टम अनिवार्य गर्नुपर्ने कानुनी बाध्यता छैन । कानुनी बाध्यता नभएका कारण मृत्युको कारण खोजी गर्न राज्यले चासो नदिएको उनी टिप्पणी गर्छन् । कतिपय घटनामा कैदीबन्दीको मृत्यु भएपछि प्रक्रियागत झन्झट इंगित गर्दै पोष्टमार्टम नगर्न कारागार प्रशासनले दबाब दिने गर्छ । मानव अधिकारकर्मी कोशराज न्यौपाने एउटै कारागारमा निरन्तर कैदीबन्दीको मृत्यु हुँदा राज्यले कारण खोज्नुपर्ने उनी बताउँछन् । ‘मृत्युको कारण खोजेपछि मात्रै कम गर्न सकिन्छ,’ उनी भन्छन् ।

कारागार प्रशासन भन्छ–अस्पताल लगेकै छौं:

मोरङ कारागारका प्रमुख गौरव ढुंगेल कारागारभित्र भएका मृत्यु शंकास्पद नभए पोष्टमार्टम नहुने बताउँछन् । बिरामीलाई उपचारका लागि हामी अस्पताल पुर्‍याउँछौं, हरेक दिन ८–१० जना उपचारका लागि जानुहुन्छ,’ उनले भने, ‘उपचारमा नलगेको भन्ने छैन, त्यसैले कालगतीले ज्यान गुमाउनु भएको मान्छौं । मृत्यु भएका कैदीबन्दीहरुमा कुनै न कुनै शारीरिक समस्या देखिएको बताउँदै उनले कैदीबन्दीलाई अस्पताल लैजानुअघि कारागारमा भएका स्वास्थ्यकर्मीले चेकजाँच गर्ने बताए । क्षमता भन्दा पाँच गुणाबढी कैदी रहेको मोरङ कारागारमा कैदीलाई बस्ने र सुत्ने ठाउँ छैन । सानो कोठामा ३५ जनासम्म कैदीलाई राखिएको छ । न्युनतम मानवीय आवश्यकताका विषय पनि नराखेका कारण कैदी बिरामी परिरहन्छन् । उनका अनुसार कैदीबन्दीको उपचार खर्च पनि कोशी अस्पताललाई तिर्न बाँकी छ । ६० लाख भन्दाबढी अस्पताललाई तिर्न बाँकी रहेको उनले बताए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार