काठमाडौं – इतिहासमै ठूलो जनधनको क्षति हुने गरी भएको २३ र २४ भदौको जेनजी विद्रोहले राजनीतिक दलहरूमा ररूपान्तरण र पुस्तान्तरणको चाहना अभिव्यक्त गरेको थियो । विद्रोहले दलहरूमा चर्को दबाब सिर्जना गरेको थियो । तर, विद्रोहको रापताप सेलाउँदै जाँदा दलहरूका शीर्ष नेतृत्व रूपान्तरणलाई टार्न वैकल्पिक उपायहरू अपनाउने प्रयास गरिरहेका छन् । नेकपा एमालेले यो विद्रोहलाई जनताको शक्ति प्रदर्शन नभएर प्रतिगमनकै संज्ञा दिएको छ । दोस्रो-तेस्रो पुस्ताका केही नेताहरूले फाट्टफुट्ट नेतृत्व परिवर्तनको कमजोर आवाज बोले पनि एमालेमा नेतृत्व परिवर्तनको कुनै छेकछन्द देखिंदैन । एमाले महासचिव शंकर पोखरेलले त फुटेको नेकपा एकीकृत समाजवादीका नेताहरूलाई पार्टीमा भित्र्याउन नेता र नेतृत्वलाई निशर्त स्वीकार्नुपर्ने शर्त नै राखेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनको भावनाअनुसार रुपान्तरण हुनुपर्ने स्वीकार गरेर कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन् । यद्यपि उनीमाथि पनि सिंगापुरबाट पार्टी चलाइरहेको आरोप छ । विशेष महाधिवेशन माग्ने बहुमत महाधिवेशन प्रतिनिधिहरूको माग उनकै चाहनाअनुसार दबाउने प्रयत्न भइरहेको सुनिँदैछ । जेनजी विद्रोहलाई समर्थन गर्दै आफ्नै पार्टीको माग उठाएको भन्न पछि नपरेका नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले बठ्याइँपूर्वक नेतृत्वमै टिकिरहने प्रयत्नमा देखिएका छन् । यही प्रयत्नस्वरूप उनले बुधबार काठमाडौंमा कम्युनिष्ट घटकहरूको एकता समारोह राखे । केही घन्टा चलेको उक्त समारोहमा परिवर्तनको रोडम्याप प्रस्तुत भएन । बरू, वृद्धावस्थामा पुगेका केही नेताहरूले चर्का भाषण गरे । उनीहरुका तिनै पुराना गन्थन सहभागी नेता कार्यकर्ताले सुने । एकता समारोहमा मञ्चमा देखिएका थिए वृद्ध नेताहरू । ४० वर्षदेखि निरन्तर नेतृत्वमा रहेका ७0 वर्षीय प्रचण्ड नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजक बने । ७२ वर्षीय माधव नेपाल सहसंयोजक भए । ७५ वर्षीय झलनाथ खनाल पनि एकता समारोह सुरु भइसकेपछि लिफ्ट लिन पुगे । ७७ वर्षीय वामदेव गौतमले त २ हजार केन्द्रीय सदस्य रहेको नवगठित पार्टीले एक करोड नागरिकलाई पार्टी सदस्य बनाउनुपर्ने बताए । एकता प्रक्रियामा आएका अर्का नेता महिन्द्रराय यादव ७१ वर्ष पुगे भने प्रमबहादुर सिंह ७२ वर्ष । उनीहरूले जेनजीको माग पूरा गर्ने मन्तव्य दिइरहेका थिए । पार्टीभित्र लोकतन्त्र पुनर्स्थापनाका लागि रुपान्तरण र पुस्तान्तरणको एजेन्डा छल्नेगरी गरिएको एकता समारोहमा न अगाडि बढ्ने रोडम्याप सार्वजनिक गरियो न यसअघिका विभाजनको कारण खोज्ने यत्न नै । जेनजीले उठाइरहेका माग र मेरा माग एकै हुन्,’ जेनजी आन्दोलनपछि प्रचण्डले यो अभिव्यक्ति निकैपटक दिएका छन् । तर ‘इतिहासले सम्झिरहने दिन’ को संज्ञा दिएको एकता समारोहमा न पात्रको चर्चा भयो न मुद्दाको । यही पुरानै खेलमा लागिरहने हो भने जेनजी विद्रोहमा भएको बलिदानीको अर्थ के हो ? यसको जवाफ कार्यक्रमले दिन सकेन ।साभार : अखप












