काठमाडौं – गोरखा–१ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार छैनन् । गोरखामा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन प्रलोपाले जिल्ला इन्चार्ज यानप्रसाद भट्टको नेतृत्वको तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ । प्रलोपाका नेताहरूका अनुसार प्रलोपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरूसँग संवाद गरिरहेको छ । गोरखा–२ मा प्रलोपाका संरक्षक पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई उम्मेदवार थिए । उम्मेदवारी फिर्ता लिनुअघि डा. भट्टराई यही माघ ९ गते चुनावी तालमेलको प्रस्ताव लिएर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवास पुगेका थिए । प्रचण्ड र डा. भट्टराईबीच के कुरा भएको बाहिर आइसकेको छैन । तथापि, डा. भट्टराईको सद्भाव गोरखाको निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैमा उम्मेदवारी दिएकाहरूले खोजिरहेका छन् ।
प्रलोपा र श्रम संस्कृति:
प्रलोपाकै नेता सुदन किरातीले सुनसरी–१ मा धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र भोजपुरमा ध्रुवराज राईलाई समर्थन गरेका छन् । ध्रुवराज पनि श्रम संस्कृति पार्टीकै उम्मेदवार हुन् । सुनसरी–१ र एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रलोपाका उम्मेदवार छैनन् । २०७९ को निर्वाचनमा भोजपुरमा किरातीले एमालेका शेरधन राईलाई पराजित गरेका थिए । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा किरातीले राईलाई दुई हजार ३२९ मतले पराजित गरेका थिए ।
एमाले–प्रलोपा तालमेल:
एमाले-प्रलोपाबीच चुनावी गठबन्धन गर्ने सहमति नै भइसकेको छ । माघ ११ गते यी दुई दलबीच कर्णाली प्रदेशलाई केन्द्रमा राखेर चुनावी गठबन्धन गर्ने सहमति भएको थियो । सहमति अनुसार रूकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रूकुम पूर्वमा प्रलोपाका सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ । प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्नेछ । रूकुम पश्चिममा प्रलोपाका शर्मा र अन्य पार्टीका गरी कुल १२ जना उम्मेदवार छन् ।साभार : अखप












