काठमाडौं – २०८२ माघ २२ गते राति करिब १० बजे तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालका प्रमुख स्वकीय सचिव धीरज जोशीको फोनको घण्टी बज्यो। त्यतिबेलासम्म जागै बसेका जोशीले पहिलो घण्टीमै फोन उठाए। बैतडीको पुर्चौडी नगरपालिकाबाट आत्तिएको स्वरमा आवाज आयो, ‘जन्ती बोकेको बस तल खसेको छ, उद्धारका लागि सहयोग गर्नुस्।’ यो कुरा जोशीले तुरुन्तै फोन गरेर गृहमन्त्री अर्याल र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई जानकारी गराए। गृहमन्त्रीजीले मलाई सम्बन्धित सीडीओहरूसँग समन्वय गरेर घटनाको विस्तृत जानकारी र ताजा अवस्थाका अपडेट लिन भन्नु भयो,’ जोशी सुनाउँछन्, ‘सबै बुझ्दा बस २०० मिटर तल खसेको रहेछ। ८ जना यात्रीको त मृत्यु नै भइसकेको कुरा सुन्दा बाँकीलाई हेलिकप्टरबाट उद्धार गरेर भए पनि बचाउन सकिन्छ कि जस्तो लाग्यो। जोशीले घटनाको संवेदनशिलता बुझेर सहसचिव काफ्लेलाई सेनासँग समन्वय गरेर नाइटभिजन हेलिकप्टर उडाउन आग्रह गर्छन्। काफ्ले पनि ‘हुन्छ, एक पटक प्रयास गरिहेर्छु’ भन्छन्। तर, त्यो रात सेनाको नाइटभिजन हेलिकप्टर उडेन। बिहानसम्म बसमा सवार थप पाँच जना गरी १३ जनाको मृत्युको खबर सार्वजनिक भयो। भर्खरै बिहे सम्पन्न भएको घर शोकमा डुब्यो। पुर्चौडी नगरपालिकाले एक दिनको शोक बिदा दियो। गत वर्ष माघमा बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको बस। काफ्लेका अनुसार उनले त्यो रात सेना मुख्यालय जंगी अड्डाको ‘अपरेसन डेस्क’ मा नाइटभिजन हेलिकप्टर उडाउन आग्रह गरेका थिए। तर उताबाट जवाफ आयो, ‘हामीसँग नाइटभिजन हेलिकप्टर छैन। उहाँहरूले स्काई ट्रकको कुरा गर्नु भयो तर रातिको समयमा स्काई ट्रक उडाउन पूर्वाधार चाहिन्छ,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘भएको यत्ति हो, हामीले प्रयास नै नगरेको होइन। हेलिकप्टर नउडेकोमा जोशी अहिलेसम्म थकथकी मानिरहेका छन्। उनी भन्छन्, ‘हेलिकप्टर भएर पनि नउडाउनु हत्या गर्नुजत्तिकै अपराध हो। अधिकांश राति हुने घटनामा हेलिकप्टरको प्रयोग आवश्यक देखिए पनि ‘सेनाले राति के हेलिकप्टर उडाउला र ?’ भन्ने जिज्ञासासहित त्यसको पहलको प्रयास सुरु नहुँदै समाप्त हुने गरेको छ। यसको पुष्टि दुई वर्षअघिको घटनाले पनि गर्छ। २०८० पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस राति साढे १० बजेतिर दाङको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा खस्यो। घटनास्थलमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारकार्यमा तत्कालै खटिए। तर पाँच जनाले घटनास्थलमै प्राण त्यागे। २५ जनाभन्दा बढीलाई उद्धार गर्न हेलिकप्टरको अभाव महसुस भयो तर, उड्ने आश नहुँदा पहलको प्रयास नै गरिएन। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट यो घटनामा हेलिकप्टरका लागि पहल रातिको समय भएकै कारण नगरिएको बताउँछन्। उनका अनुसार एकातिर झन्झटिलो प्रक्रिया, अर्कातिर अबेर रातका कारण एम्बुलेन्सकै सहारामा उद्धार गर्ने निर्णय भयो। हेलिकप्टर भएको भए पक्कै पनि सबैको उद्धार अलिक छिटो हुन्थ्यो,’ विष्टले अनलाइखबरसँग भने, ‘तर दिउँसै त प्रक्रियामा जानुपर्छ, त्यो रात झन् के हेलिकप्टरको विकल्पमा जान्थ्यौँ।साभार : अखप












