झलनाथलाई राष्ट्रपति बनाउन सकारात्मक छु………

१८ फागुन, काठमाडौं । होली खेल्ने बहानामा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ-माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए । गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड (झलनाथ खनाल) लाई सघाउन आग्रह गरेका थिए । जवाफमा गौतमले भने- अहिले पार्टीमा केपी ओलीको एकलौटी चलेको बेला छ । देखिहाल्नुभयो, प्रदेशका मुख्यमन्त्री छनोटदेखि मन्त्रीसम्म । झलनाथप्रति म सकारात्मक नै छु, तर त्यस्तो वातावरण आउलाजस्तो लाग्दैन । आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेले फागुन २२ सम्म आफ्नो उम्मेदवार तय गरिसक्नुपर्ने छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै दोहोरिने अधीक सम्भावना रहेको भनिएका बेला एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनालले आफ्नो लागि लबिङ तीब्र पारिरहेका छन् । हालसालै माधव नेपाल र वामदेव गौतमसँग आफ्नो पक्षमा लबिङ गरिदिन आग्रह गरेका पूर्वप्रधानमन्त्री खनालले विहीबारै वामदेवनिकट स्थायी कमिटी सदस्य किरण गुरुङलाई पनि सोही आग्रह गरे । खनाल स्थायी कमिटीमा आफ्नो पक्षमा बहुमत देखाएर आफूलाई राष्ट्रपति उम्मेदवार बनाउन ओलीमाथि दबाव दिन खोजिरहेका छन् । अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले अहिलेसम्म राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याउने वा अर्को नेतालाई पठाउने भन्नेबारे मुख खोलेका छैनन् । पछिल्लो समय केपी ओलीसँग नियमित परामर्शमा रहेका माधव नेपाल अहिले नै खनालको पक्षमा खुल्ने सम्भावना छैन । केपी ओली के चाहान्छन् भनेर बुझेका कारण पनि एमाले नेताहरुले खनाललाई सान्त्वना दिने बाहेक मसक्कै आँटेर खनाललाई नै राष्ट्रपति बनाउँ भन्न चाहेका छैनन् । एमालेका एक स्थायी कमिटी सदस्यले अनलाइनखबरसँग भने- राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भनेर स्थायी कमिटीमा भोटिङ हुनेवाला छैन । कसको पक्षमा कति नेता छन् भन्ने खासै अर्थ नभएको अवस्थामा कोही बोल्ने देखिँदैन । विद्या भण्डारीलाई नदोहोर्‍याउँ भन्नेमा धेरै नेता सहमत हुन सक्छन् तर पार्टीको मूल नेतृत्व विद्यालाई नै दोहोर्‍याउन बाध्य छ भन्ने हामीले बुझेकाले झलनाथ कमरेडलाई सान्त्वना दिनमात्रै सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार