प्राइभेट’ नम्बर परिवर्तन गर्न निर्देशन………

०५ चैत २०७४,  काठमाडौ- गृह मन्त्रालयले अस्थायी रुपमा रातो नम्बर प्लेट बनाएका सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरीय निर्णयबाट सरकारी सवारी साधनको रातो नम्बर प्लेट हटाउन निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै रातो नम्बर प्लेट भएका सवारी साधनलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएका छन्।  सरकारी सवारी साधन दुरुपयोग हुन नदिनका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी नम्बर प्लेटको सवारी साधन चलाउनु परेमा स्पष्ट प्रयोजन, प्रयोग गर्ने अधिकारी, नाम पद र सम्पर्क नम्बर समेत खुलाई अधिकार प्राप्त अधिकारीसँग स्वीकृत लिन पनि निर्देशन दिएको छ । विगतमा असामान्य परिस्थितिका कारण अति आवश्यक कामका लागि सकारात्मक उद्देश्यले अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएपनि हाल परिस्थिति सामान्य रहेको भन्दै नम्बर प्लेट परिवर्तनका लागि मन्त्रालयले निर्देशन दिएको हो। पछिल्लो समय कतिपय सरकारी निकायले नम्बर प्लेट परिवर्तन गरी आफू खुसी प्रयोग गरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। विगतमा मुलुक द्वन्दको अवस्थामा भएकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै विभिन्न सरकारी निकायले गृह मन्त्रालयको स्वीकृतिमा अस्थायी रातो नम्बर प्लेट लिने गरेका थिए । सरकारी निकायको माग अनुसार विभागीय प्रमुख वा सहसचिवसम्मका कर्मचारीलाई अस्थायी रातो नम्बर प्लेट उपलब्ध गराइएको प्रवक्ता सुवेदी बताउँछन्। अनुसन्धान अधिकारीको हकमा भने तल्लो तहका कर्मचारीलाई पनि यस्तो नम्बर प्लेट उपलब्ध गराइएको सुवेदीले जानकारी दिए । अनुसन्धान अधिकारीको सुरक्षालाई मध्यनजर गर्दै यस्तो गरिएको उनले बताए । अहिले पनि अनुसन्धान अधिकारीको हकमा अस्थायी रातो नम्बर प्लेट आवश्यक पर्ने उनको भनाई छ। मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा मुलुकमा संविधान अनुसार तीनै तहको निर्वाचन सम्पन्न भइसकेकाले नयाँ सरकार गठन भई मुलुक स्थिरता तर्फ अघि बढेकाले विगतको जस्तो प्रतिकुल अवस्था नरहेको उल्लेख गरिएको छ। अनुसन्धानमा खटिने व्यक्ति सरकारी गाडीमा हिँड्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन, त्यसैले उनीहरुका लागि रातो नम्बर प्लेट आवश्यक पर्छ,’ सुवेदीले भने । अन्यको हकमा तत्कालिन परिस्थिति जन्य कारणले रातो नम्बर प्लेट आवश्यक परेपनि अहिले परिस्थिति परिवर्तन भएकाले आवश्यक नरहेको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार