को बन्ला आइजिपी ?………

२३ चैत २०७४,   काठमाडौं- नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् । अर्यालसँगै जनपद समूहमा अहिले बहाल रहेका सबै एआइजी रिटायर्ड हुने भएकाले यसपालि पनि २५ औं आइजिपीझैँ २६ औं पनि डिआइजीबाट नियुक्त हुनेछन् । प्रहरी नियमावली अनुसार अहिले बहाल रहेका १२ जना डिआइजी आइजिपीका लागि योग्य छन् । अन्यको तुलनामा सर्वाेत्कृष्ट तीन रहेका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की चर्चामा छन् ।  गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा बादल रहे पनि आइजिपी चयनको चाबी प्रधानमन्त्री केपी ओलीको गोजीमा छ । आइजिपी आकांक्षीको दौडधुप जता चाबी उतै बढी हुनु सामान्य नै हो । गृहमन्त्री रहेको दलका प्रभावशाली नेता र शुभेच्छुक भेट्न व्यस्त छन् आकांक्षी। जानकार स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले आइजिपीबारे मुख खोलिसकेका छैनन् । आफूलाई भेट्न आउने, भेट्न चाहने आकांक्षी र उनका शुभेच्छुकहरुलाई उनले ‘यस अगाडिको सरकारको निर्णयले सत्तासिन दल र प्रहरी संगठनमा नकारात्मक प्रभाव पारेकाले नियमअनुसार जो नियुक्त हुनुपर्ने हो उही हुन्छन्,’ भन्ने जवाफ दिने गरेका छन् । नियमावलीमा रहेको आइजिपी छनोटको अधिकार मन्त्रिपरिषद्को स्वविवेकीय अधिकारको रुपमा उल्लेख भएकाले प्रधानमन्त्री ओली निस्क्रिय नै बस्ने सम्भावना देखिन्न ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार