महाभूकम्पको ३ वर्ष पुरा राष्ट्रपति हनुमानढोमा, प्रधानमन्त्री धरहराको प्रांगणमा

  बगैचा सम्वाददाता

काठमाडौं
विनाशकारी महाभूकम्प गएको आज ३ वर्ष पुरा भएको छ । २०७२ वैशाखमा आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए। भूकम्प र त्यसपछि गएका पराकम्पका कारण ८ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब ७ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। भूकम्पबाट काठमाडौ एतिहासिक धरोहरहरू धरहरा, काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको आज अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज बसन्तपुर गद्दी बैठक, काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको चासोपूर्वक जानकारी लिएकी थिइन्। अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपाली संस्कृति र परम्पराअनुसारका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा आफ्नो मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन दिइन् ।
उता वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले भने “हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको छ ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार