आधा शताब्दीपछिको मिलन……….

०४ जेठ २०७५,   काठमाडौं – एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ। एसियामा चीन र भियतनामपछि नेपाल कम्युनिस्ट पार्टी तेस्रो दल बनेको छ । यी तीनटै देशमा कम्युनिस्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रोहबाट सत्तामा पुगेका कम्युनिस्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् । नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिस्ट सत्तामा पुगेका हुन्। एमाले र माओवादी केन्द्र मिलेर बिहीबार नेपाल कम्युनिस्ट पार्टी बनेको हो । दुई पार्टी एकीकरणसँगै स्थानीय, प्रदेश तथा संघीय सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्पष्ट बहुमत छ । सात सय ५४ स्थानीय तहमध्ये नेपाल कम्युनिस्ट पार्टीको एकल बहुमत भएका चार सयभन्दा बढी स्थानीय तह पुगेका छन् भने सातमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत मिलेको छ । जहाँ पहिले नै सरकार बनिसकेको छ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि एकीकृत भएर बनेको नेकपाको करिब दुई तिहाइ स्थान भएको छ । संघीय सरकार र सदनमा पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको एकल बहुमत बनेको छ । आजको घटना ज्यादै ठूलो हो । नेकपा दक्षिण एसियाको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी मात्रै होइन एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ’, राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नागरिकसँग भने, ‘चीन र भियतनामपछि एसियामा तेस्रो ठूलो कम्युनिस्ट पार्टी नेकपा हो । नेपालमा चुनाव जितेर कम्युनिस्ट सत्तामा पुगेका छन् । यो एकताकै जगमा सफल भएको हो । यसलाई ठूलो उपलब्धि मान्नुपर्छ, यो साधारण उपलब्धि होइन ।’सुरुमा २००६ वैशाख ९ मा गठन भएको नेपाल कम्युनिस्ट पार्टी १३ वर्षसम्म निर्बाध रुपमा अघि बढ्यो । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा संसदीय प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था लागू गरेपछि नेकपामा दुई धार देखियो । तत्कालीन महासचिव केशरजंग रायमाझीसहितका नेताले पञ्चायतको समर्थन गरे । पञ्चायतको विरोध गरेका मनमोहन अधिकारी र मोहनविक्रम सिंहसहितका नेता जेल परे भने पुष्पलाल श्रेष्ठ र तुलसीलाल आमात्यसहितका नेता भारत निर्वासित भए । २०१८ सालमा तेस्रो महाधिवेशनसँगै नेकपा कम्युनिस्ट पार्टीमा विभाजन भयो । निर्वासनमा रहेका श्रेष्ठ र अमात्य पनि लामो समय एकै स्थानमा बस्न सकेनन् । पुष्पलालले तेस्रो महाधिवेशन गरी महासचिवको जिम्मेवारी लिए । पञ्चायती दमन छँदै थियो कम्युनिस्टहरु आन्तरिक कलहले छिन्नभिन्न अवस्थामा पुग्न थाले । राष्ट्रियस्तरमा कम्युनिस्ट गतिविधि सञ्चालन गर्न सक्ने अवस्था भएन । पञ्चायती व्यवस्थाको विषयमा लिएर तत्कालीन नेकपामा सुरु भएको मतभेदका कारण पार्टी टुक्रिएर झुन्ड झुन्डमा परिणत हुन पुग्यो । २०२७ सालमा जेलमा रहेका मनमोहन अधिकारी र मोहनविक्रमसिंह छुटे । उनीहरुले शम्भुराम श्रेष्ठसहितका नेताहरुसँग मिलेर न्युक्लियस गठन गरे । जसमा अधिकारी, सिंहका साथै निर्मल लामा, शम्भुरामसहितका नेता थिए। न्युक्लियस गठन छिन्नभिन्न भएको दललाई केन्द्रीकृत बनाउनका लागि थियो,’ त्यसबेला न्युक्लियसका सदस्य रहेका एमाले नेता भरतमोहन अधिकारीले भने, ‘पुष्पलालसँग पनि मिलेर अघि बढ्न छलफल भएको थियो । तर त्यो सफल हुनसकेन ।’ मनमोहन र शम्भुरामले भारतको फार्बिसगन्जमा पुष्पलालसँग भेटर छलफल गरेका थिए । त्यसपछि न्युक्लियस पनि निस्क्रिय जस्तै भयो । पछि मनमोहन र सिंहबीच पनि विभाजन भयो । न्युक्लिसयमा आएको विभाजनपछि एमाले र माओवादीका नाममा दुई फरक धार बने । ‘करिब आधा शताब्दीपछि यी दुवै बिहीबार एकै स्थानमा आएका छन् । अहिलेको एकीकरण न्युक्लियस विभाजनपछि दुई फरक धारमा पुगेकाबीको पुनर्मिलन हो,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने। सिंह र लामाले २०३१ मा नेकपा चौथो महाधिवेशन गरे । चौथो महाधिवेशन पनि २०३९ मा विभाजन आयो । सिंहले नेकपा मशाल खोले । मशालमा २०४२ मा फुट आयो । त्यसपछि सिंहले नेकपा मसाल खोले । २०४८ मा लामा नेतृत्वको चौथो महाधिवेशन र पुष्पकमल दाहाल नेतृत्व नेकपा मशाल एकीकरण भई एकता केन्द्र बन्यो । यसमा पनि विभाजन भई २०५१ मा नेकपा माओवादी अस्तित्वमा आयो । सोही नेकपा माओवादी, एकीकृत नेकपा माओवादी (नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मिलेपछि ) हुँदै नेकपा माओवादी केन्द्र बन्यो । २०२८ मा मनमोहन अधिकारीको नेतृत्वमा पूर्वी कोसी प्रान्तीय कमिटी बन्यो। सोही कमिटीअन्तर्गतको झापा जिल्ल कमिटी नेतृत्वमा २०२९ मा झापामा सशस्त्र विद्रोह भएको थियो । कोशी पूर्वीय क्षेत्रीय कमिटीको रुपमा रह्यो । जुन केन्द्रीय कोअर्डिसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमाले बन्यो । नेकपा माले र मनमोहन नेतृत्वको नेकपा (माक्र्सवादी) बीच एकता भएपछि एमाले बन्योे । एमालेले संसदीय राजनीतितर्फ लाग्यो भने माओवादीले दस वर्षसम्म सशस्त्र विद्रोह ग¥यो । माओवादी २०६३ सालमा शान्ति सम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा आएको हो । पञ्चायतकालभरी नेकपा माले र नेकपा चौथो महाधिवेश नेपालको कम्युनिस्ट इतिहासमा प्रमुख धारका रुपमा रहे । त्यस समयसम्म मालेभन्दा चौथो महाधिवेशन शक्तिशाली थियो । २०३९ सालमा चौथो महाधिवेशन (चौम) बाट विभाजित बनेर सिंहले नेकपा मशाल गठन गरे । पार्टीले सिंहलाई कारबाही गरेपछि उनले २०४२ सालमा नेकपा मसाल खोले । माओवादी र मसालबीच त्यहींबाट फरक धार बनेको हो। पञ्चायतको उत्तरार्धमा पुग्दासमेत नेकपा माले अर्को धारभन्दा शक्तिशाली बनिसकेको थियो । नेकपा माले र नेकपा माक्र्सवादीबीचको एकीकरणपछि बनेको नेकपा एमाले बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि बनेको संसद्मा शक्तिशाली प्रतिपक्षीका रुपमा स्थापित भयो । नेकपा मशाल, नेकपा चौम मिलेर नेकपा एकता केन्द्र बने पनि त्यो लामो समय चल्न सकेन । २०५१ सालमा विभाजित भएर नेकपा माओवादी बन्यो । माओवादीले २०५२ सालम सशस्त्र विद्रोह सुरु गरेको थियो । ‘यो एकीकरणले नेपालमा मात्रै नभएर विश्वभरलाई सन्देश दिएको छ,’ भरतमोहनले भने, ‘राजनीतिलाई स्थायित्व प्रदान गरेको छ । यसले आर्थिक समृद्धि र विकासको आधार तयार पारेको छ।’ गत असोज १७ गते पार्टी एकीकरण घोषणा गरेका दुवै दलले सात महिना लगाएर एकीकरण प्रक्रिया पूरा गरेका हुन् । स्थायित्व र समृद्धिको नारा दिएर दुवै दलले गठबन्धन निर्माण गरेर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए । सो चुनावमा यही गठबन्धनलाई बहुमत मिल्यो । गठबन्धनले केन्द्र र छवटा प्रदेशमा सरकार बनायो । ‘यो एकीकरणले शक्ति मात्रै दिएको छैन चुनौती पनि एकीकृत दलसामु आएको छ । चुनावमा गरेको वाचा कम्युनिस्ट सरकारले पूरा गर्न नसके त्यसले उत्पन्न गर्ने असहज परिणामले पार्टीमात्रै नभएर देशले पनि मूल्य चुकाउनुपर्ने छ,’ श्रेष्ठले भने । एकीकरणसँगै प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली नेताको रुपमा उदाएका छन् । विश्लेषक सुवेदीले २०४६ सालपछि ओली सबैभन्दा शक्तिशाली नेताको रुपमा स्थापित भएको बताए । ‘२०४६ पछि सबैभन्दा शक्तिशाली नेताको बनेका छन्,ओली’, सुवेदीले भने, ‘अदालत, सञ्चारमाध्यम र नागरिक समाजले उनलाई निरंकुश भने बन्न दिने छैनन् । अबका चासो एकीकृत कम्युनिस्ट शक्ति मुलुकको समृद्धिमा लाग्छ, लाग्दैन भन्ने हो ।’

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार