काठमाडौँ आएर आत्मसमर्पण………..

जेठ १०, २०७५   काठमाडौं– सुन तस्करी छानविन गर्न बनेको समितिले भारतको कलकत्तामा रहेका सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ बस्ने फ्ल्याट लोकेट गरिसकेका थिए । छानविन समितिले विशेष ब्युरोको प्रहरी टोलीलाई कलकत्ता पठाएको खबर पाएसँगै ‘गोरे’ त्यहाँबाट भागेर पश्चिम बङ्गालको सिलगुढी पुगेका थिए ।  मङ्गलबार गृहमन्त्रालयमा सुन तस्करी छानविन समितिका संयोजक सहसचिव ईश्वरराज पौडेलले पत्रकार सम्मेलन ‘गोरे’ काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको दाबी गरेका थिए । पौडेलले त्यस्तो दाबी गरे पनि समितिले अनुसन्धानात्मक विधिबाट पक्राउ गरेको नभएर ‘गोरे’ आफैले आत्मसमर्पण गरेको पाइएको छ । गोरेलाई पक्राउ गर्नुभएको हो कि सरेन्डर गरेको हो ?’ भन्ने  जिज्ञासामा छानविन समितिका संयोजक ईश्वरराज पौडेलले भने, ‘दुवै कुरा हो । अदालतको थुनछेक बहस सकिँदै गर्दा ‘गोरे’ प्रेसरमा पर्दै गएको थियो, हाम्रो एक्टिभनेस र उसको पनि सरेन्डर गर्ने निक्र्योलले गर्दा हामी उसलाई नियन्त्रणमा लिन सफल भएका छौं ।’ सुन तस्करीमा संलग्न आफ्ना घेराका साथीहरू धमाधम पक्राउ पर्दै गएपछि ‘गोरे’माथि प्रेसर बढेको थियो । सिलगुढीमा लुकेर बसेका ‘गोरे’लाई प्रहरी वा सुन तस्करीमा लगानी गर्ने व्यापारी तथा तस्करको माथिल्लो घेराले समेत मार्ने सम्भावना बढ्दै गएको थियो । जसरी हुन्छ देखापर्छु भन्ने माइन्ड सेटअप गरेर गोरे सिलगुढीबाट झापा हुँदै गाडीमा काठमाडौं आएको देखिन्छ’, छानविन समितिका एक सदस्य भन्छन्, ‘ऊ काठमाडौं आउने सूचना हामीले १–२ दिन अगाडि नै पाएका थियौं ।’ गोरे’लाई सार्वजनिक गर्दै छानविन समितिका संयोजक पौडेलले भनेका थिए, ‘सुन तस्करीको जालो जेरीजस्तै जेलिएको रहेछ, हामी जेरीलाई एक–एक गरेर सेलरोटी आकारमा छुट्याएर अनुसन्धान गरिरहेका छौं । तस्करीको त्यस्तो ‘जेरी’लाई छुट्याउन ‘गोरे’को बयानले सहयोग गर्नेमा समिति ढुक्क छैन । यद्यपि प्रारम्भिक बयानका क्रममा गोरेले ८–१० जना नयाँ मान्छेको नाम पोलेको बताए पनि समितिका संयोजक ईश्वरराज पौडेलले ती नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् । समितिका एक सदस्यले दिएको जानकारीअनुसार प्रारम्भिक बयानका क्रममा ‘गोरे’ले तस्करीको सेटिङ राप्रापा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङले मिलाउने गरेको बताएका छन् । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट ‘गोरे’ समूहले ल्याएको र काठमाडौंमा लुटिएको ३३ किलो सुनमा नेपाली सुन ब्यापारी प्रमोद श्रेष्ठको नाम गोरेले पोलेका छन् । ‘प्रमोदबाहेक अर्का एक नेपाली व्यापारी र दुईजना भारतीय व्यापारीले अवैध सुनमा लगानी गर्ने गरेको तथ्य गोरेको बयानबाट खुल्न आएको छ’, समितिका एक सदस्य भन्छन्, ‘भारतीय व्यापारीहरूले भुजुङ गुरुङ र ‘एमके’ भन्ने मोहनकुमार अग्रवालाई पैसा दिने गरेको र अरू सेटिङ भुजुङले मिलाउने गरेको कुरा गोरेको बयानबाट खुल्न आएको छ ।’

दृश्यमा ‘गोरे’, अदृश्यमा को थियो ?

‘टच वान, टच टु अनि टच नन’ अर्थात एउटा समात्ने, दुईवटा समात्ने त्यसपछि कसैलाई नसमात्ने । यो फर्मुला सङ्गठित अपराध अनुसन्धानको एउटा विशेषताभित्र पर्छ । कतै यस पटक पनि त्यस्तै हुने त हैन ? छानविन समितिका लागि महत्वपूर्ण हुने माथिल्लो घेरा ‘गोरे’को बयानबाट खुल्छ कि भन्नेमा समितिका समस्यहरू विश्वस्त थिए । तर करिब दुई महिनाको बीचमा कानुन व्यवसायी र जानेबुझेकाहरूको सल्लाहमा ‘यति बोल्छु, यति बोल्दिनँ’ भन्ने मानसिकतासहित सार्वजनिक भएका ‘गोरे’बाट धेरै कुरा नखुल्दा समितिको अन्तिम ‘ठूला माछा’ गोरे नै हुने देखिएको छ । चूडामणि उप्रेती दुई–चार वर्ष जेल बस्ने हिसाबले मुख्य भएर मैले काम गरेको होइन, परिबन्दमा छु भनेर मेन्टल्ली तयार भएर आएको हो’ नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘समितिले कमिटमेन्ट देखाएमा धेरै कुरा हुन्छ, दृश्यमा गोरे अदृश्यमा रहेको ‘काले’ को हो भन्नेबारे छानविन समितिले गहन ढङ्गले खोज्न सकेमा तस्करीको अर्को घेरा पनी उदाङ्गो हुन्छ ।’ समिति समक्ष सरेन्डर गर्नुअघि ‘गोरे’ले एउटा छोटो भिडियो बयानमा भनेका छन्, ‘मलाई दबाब थियो, ३३ किलो सुन खोजेर लिएर आइज नत्र पैसा तिर भन्ने दबाब थियो । त्यत्रो पैसा मैले कहाँबाट ल्याउनु ? म निर्दोष छु । भिडियो बयानमा भनेअनुसार गोरेलाई दबाब दिने भुजुङ र मोहन अग्रवाल मात्रै थिए कि अरू पनि कोही थिए ? भुजुङ र मोहन अग्रवालभन्दा माथिल्लो घेरामा रहेका तर अदृश्य पात्रहरू को–को थिए ? गोरेको गिरफ्तारीसँगै तस्करीको अर्को घेरामा रहेका अनुहारहरू सतहमा आउलान् ?  केही नयाँ पात्रहरू गोरेको बयानबाट खुलेको छ’, छानविन समितिका एक सदस्य भन्छन्, ‘हामीलाई महत्वपूर्ण हुने माथिल्लो घेरा आउँछ कि भन्ने थियो तर त्यो घेरा खोल्न गोरेले अस्वीकार गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार