रहस्यमय बन्दै निर्मला हत्या प्रकरण,प्रहरी नै शंकाको घेरामा…………

भदौ ६, २०७५
कञ्चनपुर – निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास गरेको भन्दै सर्वत्र त्यसको विरोध भइरहेको छ । निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले बुधबार पनि प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका–१९, बागफाँटाका मानसिक रुपमा अस्वस्थ दीलिप बिष्टलाई सार्वजनिक गरेपछि जनस्तरमा आक्रोश बढेको छ ।आक्रोशित स्थानीयको भिडले जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिरहेका छन् भने वास्तिविक दोषी पत्ता लगाउन माग गर्दै बजार व्यवसाय बन्द गरिएको छ ।

को हुन् दीलिप बिष्ट ?

बिष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा ९ वर्ष कारागारको सजाय भोगिसकेका व्यक्ति हुन् । उनी आपराधिक पृष्ठभूमिकै भए पनि निर्मलाको बलात्कार र हत्यामा उनको संलग्नता स्थानीयका लागि अपत्यारिलो कथा बनेको छ ।साथीको घर गएकी निर्मलाको शव मूल बाटोबाट झण्डै सय मिटरजति भित्र उखुबारीमा फेला परेको थियो भने साइकल पचास मिटरको दूरीमा फेला परेको थियो । निर्मलालाई मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले मूल सडकबाट झण्डै सय मिटर भित्र एक्लैले घिसारेर लगेको बिष्टले स्वीकारेको प्रहरीले बताए पनि उनको मानसिक र शारीरिक अवस्था हेर्दा त्यो सम्भव देखिँदैन । यसअघि प्रहरीले निर्मलाको बलात्कार र हत्या घटनास्थलमा नभएको दावी गरेको थियो । तर बिष्टलाई पक्राउ गरेपछि भने घटनास्थलका बारेमा प्रहरीले जवाफ दिन सकेको छैन । न त पत्रकार सम्मेलनमा एसपी डिल्लीराज बिष्टले घटनाका सम्बन्धमा पत्रकारहरुले गरेका कुनै पनि प्रश्नको उत्तर दिनुभयो । त्यस्तै साइकलसहित रहेकी निर्मलालाई मूलसडकबाट उखुबारीसम्म त्यति सहजै लैजान सक्यो वा एकजनाको मात्र प्रयासमा उक्त घटना भयो भन्नेबारे स्थानीयले विश्वास गर्न सकिरहेका छैनन् । यद्यपि घटना भएलगत्तै प्रहरीले निर्मलाको सामूहिक बलात्कारपछि हत्या गरिएको बताउँदै आएको थियो । तर पत्रकार सम्मेलनमा बोल्दै डीएसपी ज्ञानबहादुर सेटीले बालिकाको बलात्कारपछि घाँटी थिचेर मारेको बताउनुभएको थियो । उहाँका अनुसार पोष्टमार्टम रिपोर्टमा एक जनाले घाँटी थिचेको देखिन्छ ।

यस्तो छ प्रहरीको दावीमा शंका गर्नुको कारण

बिष्ट महेन्द्रनगर बजारमा माग्दै हिँड्ने भएकाले पनि अधिकांशले उनलाई चिन्ने गर्दछन् । मानसिक र शारीरिक रुपमा अस्वस्थ भएकाले पनि उनलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै जनस्तरमा आक्रोश बढेको छ । यद्यपि, निर्मलाको बलात्कार र हत्या प्रकरणमा प्रहरीको सुरुदेखि नै शंकास्पद भूमिका देखिन्छ । यसअघि पनि प्रहरीले चक्रदेव बडू नामका युवकलाई निर्मलाको हत्याको जिम्मेवारी स्वीकार्न दबाब दिँदै दुई साता बढी हिरासतमा राखेको थियो भने अर्का एक युवकलाई समेत यस्तै दबाब दिएको खुल्न आएको छ । प्रहरीले दीलिपले निर्मलाको बलात्कार र हत्या आफूले गरेको स्वीकार गरेको दावी गरेको छ । तर उनलाई दोषी सावित गर्न प्रहरीसँग यथेष्ट प्रमाण नभएपछि घटनाको २६ औं दिनमा निर्मलाका बाबुलाई घटनास्थलमा लगेर बिष्टको लुगा फेला पर्न सक्ने भन्दै लुगाको टुक्रा खोजेजस्तो नाटक गरेको छ । प्रहरीले घटनास्थलमा दीलिपको सर्टको खल्तीको टुक्रा भेटिन सक्ने भन्दै आफूलाई पनि घटनास्थल लगेको र केही बेरमा नाटकीय रुपमा लुगाको टुक्रा भेटिएको निर्मलाका बुवाको भनाई छ । घटना भएको २५ दिनसम्म घटनास्थलबाट केही बरामद नगरेको प्रहरीले एकैछिनमा एकाएक लुगाको टुक्रा भेटाउनुले प्रहरीमाथि नै शंका उब्जिएको छ । पन्तका अनुसार प्रहरीले बोलाएर सोमबार अनुसन्धानमा सजिलो हुने भन्दै दीलिपविरुद्ध जाहेरी दिन समेत दबाब दिएको थियो । बालिकाको शव भेटिएसँगै उनको शव हेर्न सयौँको संख्यामा सर्वसाधारणको घटनास्थलमा उपस्थिति थियो ।

आरोपीद्वारा आरोप अस्वीकार

प्रहरीले बिष्टले निर्मलाको हत्या गरेको अभियोग लगाएर उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको बताए पनि आरोपी बिष्टले भने आफूलाई फसाउन खोजिएको जिल्ला अदालतमा बयान दिएका छन् । उनलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । प्रहरीले समेत विगतको पृष्ठभूमिलाई आधार मानेर बिष्टलाई पक्राउ गरेको जनाएको छ । तर बिष्टका आफन्त र छिमेकीले भने उनलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताएका छन् ।

प्रहरीकै भनाईमा दुई मत

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले घटनाको कुनै तथ्य पत्ता नलागेको बताइरहँदा प्रहरी प्रमुख डिल्लीराज बिष्टले भने अनौपचारिक रुपमा ९० प्रतिशत अनुसन्धान सकिएको बताउने गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले समेत अनुसन्धानमा स्थानीयको सहयोग नभएकाले सत्यतथ्य पत्ता लगाउन कठिन भएको बताउने गरेको थियो । तर सोमबार प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा मानसिक रुपमा अस्वस्थ भएका दीलिप बिष्टलाई सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड झन् रहस्यमयी बनेको छ ।

एसपीको भूमिकामा प्रश्न

निर्मलाको बलात्कारी र हत्यारालाई पत्ता लगाउन स्थानीयले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन एसपी बिष्टले कर्फ्यू लगाउन खोजेको खुल्न आएको छ । घटनाको विरोध गर्दै स्थानीयले अपराधी पत्ता नलागेसम्म बालिकाको अन्त्येष्टि गर्न नदिने भन्दै आन्दोलन र प्रदर्शन जारी राखेपछि एसपी बिष्टले बल प्रयोग गरी कफ्र्यू लगाउन खोजेका थिए । स्थिति अझ बिग्रिने भन्दै स्थानीय प्रशासनले तत्काल कर्फ्यू लगाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । तर स्थानीयको प्रदर्शनमा प्रहरीले २२ शेल अश्रु ग्यास भने प्रहार गरेको थियो । स्थानीयवासीले गरेको विरोध प्रदर्शनमा एसपीले बल प्रयोग गर्नुले पनि उनलाई अझ विवादमा मुछेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार