निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी………

२२ असोज २०७५,
काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ। सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घट्नासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्य्राइँ भएको निकष्र्ष निकालेको छ। गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना अनुसन्धानपछि तयार पारेको छानबिन प्रतिवेदनमा निर्मलाको शव बरामद भएको स्थान, उनको साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र सामग्रीहरु प्राप्त भएको स्थान तथा आसपास क्षेत्रका अपराधी पहिचानका लागि सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुर प्रयोग नभएको, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (एसपी) ले शव फेला परेको स्थान वरिपरि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था नगरेको उल्लेख छ। गृहमन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको सो प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशनी र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ। बम दिदिबहिनीको बयान र तथ्य फरकफरक देखिएको भन्दै प्रतिवेदनमा उनीहरुको भूमिकालाई शंकास्पद भनिएको छ। बबिता भनिने अनिता बमले घटना भएको दिन (साउन १० गते) आफू ट्युसन पढ्न गएको बयान दिएकी थिइन्। उनले स्थानीय मिराइ एजुकेसन भिसा सेन्टरमा ट्युसन पढ्न गएको बताएकी थिइन्। तर त्यस दिन बबिता त्यहाँ ट्युसन पढ्न नगएको र उनले सञ्चालकलाई ‘यहाँ पढ्न आएकी हो’ भन्न लगाएको तथ्य समितिको छानबिनबाट खुलेको छ। ‘मिति २०७२/४/१० मा अनिता (बबिता) बम ट्युसन पढ्न आएको एकिन छैन। सो विषयमा प्रहरीले मेरो कापी मगाउन साउन १० गते ट्यूसन पढेको नोटकपीको फोटोकपी गरेर लगेका हुन् भन्ने मिराइ एजुकेसन भिसा सेन्टर मा ट्युसन पढ्ने विद्या पन्तको भनाइ, सो दिन अनिता बम ट्युुसन पढ्न आए–नआएको एकिन नभएको ट्युसन सेन्टर सञ्चालक बाबुराम राउतको भनाइ। साथै अनिता बम र निजका बुवा स्वयं सो ट्युसन सेन्टरमा गई सो दिन ट्युसन पढ्न आएको भनी हो भनिदिनु प-यो भनेर गरिएको आग्रहसमेतलाई आधार मान्दा निज अनिता बमको गतिविधि शंकास्पद देखिन्छ,’ समितिको प्रतिवेदनमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक र पीडित परिवार प्रहरीको काम कारवाहीप्रति विश्वस्त हुन नसकेको तथा मृतकको शव अत्येष्टि गर्ने समयमा पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिले धाकधम्की दिएका थिए’, प्रतिवेदनमा उल्लेख छ। निर्मलाको बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तुहरु भित्री बस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालिएको र सो बस्त्र नै लोप भएको तथा मृतकका पिता यज्ञराज पन्त नेपाल नभएको अवस्थामा प्रहरी कार्यालयले खडा गरेको दशी प्रमाण सनाखत मुचुल्कामा बाबुको नाममा सही छाप गरेको पनि सो प्रतिवदनमा उल्लेख छ। घटनामा संलग्न भएको आरोपमा दिलीप विष्टलाई पक्राउ गरी अनुसन्धान गर्ने र बयान लिने प्रहरीलाई विभागीय कारबाही गर्न पनि प्रतिवेदनमा भनिएको छ। एसपी विष्टको हकमा पनि उनको कार्यक्षेत्रभित्र गम्भीर प्रकृतिको घट्ना भएकाले छानबिन गरी विभागिय कारबाही गर्न सिफारिस गरिएको छ। प्रतिवेदनमा निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको आंशका गरिएको छ। शव पाइएको उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिर हत्या गरी त्यहाँ लगेर शव फालेको ठहर समितिको छ। कञ्चनपुर प्रहरीले तयार पारेको सनाखत मुचुल्कामा निर्मलाको रातो कलेजी रङको सुरुवाल, रातो रङको भेस्ट र खरानी रङको पेन्टीलगायत साइकल कापी प्रहरीले बरामद गरी लगेको उल्लेख भए पनि ती नभेटिएको प्रतिवेदनमा उल्लेख छ। घटनास्थलबाट नीलो रङको सेन्डो गन्जी र खैरो रङको जिन्स हाफपाइन्ट बरामद गरिएको जानकारी जिप्रकाले महाकाली अञ्चल अस्पताललाई पठाएकोमा पछि सच्याउन अनुरोध गर्दै अर्को पत्र पठाएको प्रतिवेदनमा उल्लेख छ। ‘सेतो गन्जी हुनुपर्नेमा नीलो रङको सेन्डो गन्जी हुन गएको र हापपाइन्ट हुनुपर्नेमा नीलो रङको हाफपाइन्ट हुन गएकाले सञ्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा निर्मलाको भेजिनल स्वाबमा भेटिएको भनिएको विर्यका विषयमा आशंका उत्पन्न भएको उल्लेख छ । भेजिनल स्वाब परीक्षणलाई समितिको प्रतिवेदनमा ‘चलाखीपूर्ण’ भनिएको छ। ‘महाकाली अञ्चल अस्पतालमा साउन २३ को शव परीक्षण रिपोर्टमा मृतकको भेजिनामा विर्यको जीवाणु नदेखिएको र कन्फर्म गर्न भेजिनल स्वाब नेसनल फरेन्सिकमा पठाउने भनिएको पत्रको बेहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुनेगरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार