पालुमा गएको भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पाँच हजार सम्पर्कविहीन………

२२ असोज २०७५, पालु (एजेन्सी)
– इन्डोनेसियाको पालुमा १० दिनअघि गएको भूकम्प र त्यसपछिको सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन्। इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म एक हजार सात सय ६३ जनाको शव भेटिएको छ। गत सेप्टेम्बर २८ मा सुलावेसी टापुलाई केन्द्र भएर ७.५ म्याग्निच्युडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक जनधनको क्षति गरेको थियो। सुनामीले सबैभन्दा ठूलो क्षति गरेको पालु सहरका पेटोबो र बालारोआ इलाकामा अझै पनि हजारौं मानिस हराइरहेका छन् । यी दुई इलाकाका घर पूर्ण रूपमा ध्वस्त भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ। बालारोआ र पेटोबो इलाकाका प्रमुखको सूचनाअनुसार त्यहाँ अझै पाँच हजार हराइरहेका छन्,’ संस्थाका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले संवाददातालाई बताए । ‘अधिकारीले यो तथ्यांक सत्य रहे नरहेको अनुसन्धान गरिरहेका छन्। पहिरो र माटोमा पुरिएका मानिसको यथार्थ संख्या पत्ता लगाउनु त्यति सहज छैन,’ उनले बताए । नुग्रोहोले आगामी अक्टोबर ११ सम्म खोजी कार्यलाई निरन्तरता दिइने बताए । त्यसपछि बेपत्ता भएका मानिसलाई मृत्यु भएका नागरिकको सूचीमा राखिने अधिकारीहरुको तयारी छ। १० दिनअघिको विनाशकारी विपदपछि हरेक दिन मृत्यु भएका, घाइते भएका र बेपत्ताको संख्या बढ्दै गएको छ। अधिकारीले प्रारम्भमा पालु सहरमा झण्डै एक हजार मानिस पुरिएको अनुमान गरेका थिए । पालु सहरको पेटोबो इलाका भूकम्प र सुनामीका कारण लगभग विलुप्त भएको छ । भूकम्पका कारण जमीन लेदो माटोमा रुपान्तरण भएको छ भने घर सुनामीले सबै ढालेको छ। भत्किएका घरमा कति मानिस च्यापिएका छन् भन्ने अझै पत्तो छैन । बालारोआमा पनि इन्डोनेसियाली उद्धारकर्ताले मृतकको खोजतलास अझै जारी राखेका छन् । त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना कमै भएपछि सरकारले मानिसको खोजी गर्नुको साटो सिँगै बस्तीलाई चिहानका रूपमा घोषणा गर्ने तयारी गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘आज १० दिन भयो । अझै कोही जीवित भेटिनु भनेको चमत्कार मात्र हो,’ इन्डोनेसियाका खोज तथा उद्धार संस्थाका प्रमुख मुहम्मद स्याउजीले बताए । अधिकारीहरुलाई अहिले बाँचेका व्यक्तिसम्म राहत पु-याउन नै धौधौ परेको छ । हाल ८२ हजारभन्दा बढी सैनिक तथा प्रहरीका साथै स्वयंसेवीले उद्धार र राहतका कार्य गरिरहेका छन् । इन्डोनेसियाली सैनिक हेलिकप्टरले दुर्गम क्षेत्रसम्म खाद्यान्न र अन्य आपतकालीन सामग्री लैजाँदै छन्। ‘स्थानीयवासी ठूलो समस्यामा छन् किनभने सडक अवरुद्ध भएको छ र यहाँ हवाई सेवामात्र उपलब्ध हुन सक्दछ,’ उपसेनानी रेइनाल्डो आप्रीले बताए। अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट हर्कुलस हवाइजहाज मार्फत राहत आइरहेको छ। सेभ द चिल्ड्रेन र अन्य निकायबाट दक्षिण अफ्रिकी चिकित्सा टोली पनि पालु पुगेको छ। इन्डोनेसियाली रेडक्रसले गोदामघर निर्माण गर्नुका साथै अत्यावश्यक सामग्री वितरण गरिरहेको छ । तर यहाँ राहतकर्मीले ठूलो समस्या झेल्नु परिरहेको छ किनभने पालु र अन्यत्र ठूलो क्षेत्रमा मानिस छरिएर बसेका छन् । ‘म टेन्ट चाहिएको कुरा लिएर यहाँ आएको हुँ किनभने हाम्रो गाउँका ९५ प्रतिशत घर क्षतिग्रस्त भएका छन्,’ लिड्डुबाट आएका सिमसम मुजुले एएफपीसँग बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार