सडकबाटै सरकार ढाल्छौं………..

काठमाडौं – आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दबाब दिएको छ। नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ। नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने सो निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिए। त्यस अवसरमा नेविसंघले सरकारले भारतको दबाबमा सो निर्णय लिएको दाबी गर्दै व्यंग्यस्वरुप प्रधानमन्त्री ओलीलाई विषादीयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ। नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ। नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिबद्धता पनि व्यक्त गरे। सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषादी परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उनको आपत्ति छ। सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार