पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना……….

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आइतबार मुलुकको पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। आइतबार रातिसम्म वर्षको सम्भावना कायमै रहेको र भारी वर्षा नभएका ठाउँमा पनि बदली हुने मौसमविद्हरूको भनाइ छ। काठमाडौंमा पनि बदली र वर्षाको सम्भावना पूर्ण रूपमा नहटेको उनीहरूले बताए। महाशाखाका अनुसार न्यून चापीय रेखामध्ये र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित छ। यसका साथै मध्य र पूर्वी नेपाल नजिक रहेको एउटा न्यून चापीय क्षेत्र कमजोर अवस्थामा छ। यी प्रणालीका कारण मनसुन अझै सक्रिय रहने महाशाखाले जनाएको छ। सोमबारदेखि भने मनसुन कमजोर हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जनाए। महाशाखाका अनुसार आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ। खासगरी पूर्व र मध्य क्षेत्र र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने र पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदीहरूमा जलको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। महाशाखाका अनुसार पछिल्लो २४ घण्टा (शुक्रबार साँझ ५ बजेर ४५ मिनेटदेखि शनिबार साँझ ५ बजेर ४५ मिनेटसम्म) सबैभन्दा बढी वर्षा जनकपुरमा भएको थियो। महाशाखाको रेकर्डमा जनकपुरमा २८३ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो। यसैगरी सिमरामा १२५ दशमलव ९, विराटनगरमा १०७ दशमलव ९ र धरानमा ८६ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो। पछिल्लो २४ घण्टामा काठमाडौंमा ४० मिलिमिटर वर्षा भएको जनाइएको छ। शुक्रबार काठमाडौंमा ११५ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। मौसमविद्हरूका अनुसार न्यून चापीय रेखा दक्षिणबाट उत्तर (नेपाल) तिर आउँदा नेपालमा वर्षा सक्रिय हुन्छ। नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउँछ। त्यसमा न्यून चापीय रेखाहरू बनेपछि वर्षा सुरु हुन्छ। महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा नेपालको तराईको भूभागमा अवस्थित छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार