अविरल वर्षाले डुब्यो नेपालगञ्ज

नेपालगन्ज– अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो। पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन्। सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको उनले बताईन्। ‘अस्ति भर्खर बाटो र नाला बनेको थियो, तर त्यसले केही काम गरेन,’ उनले भनिन् ‘नालामा माटो र प्लाष्टिक मात्रै भरिएको छ, पानी कहाँबाट बगेर जाओस् त! नेपालगन्जको सहिद सेतु विक चोक क्षेत्रमा पनि आधा दर्जनबढी पसल डुबेका छन् । न्युरोडका स्थानीय एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करिव आधा दर्जनबढी पसल डुबेका हुन्। ‘पसलभित्र पानी पस्दा व्यापारीको बिजोग नै भएको छ,’ श्रेष्ठले भने ‘नेपालगन्जमा जति नाला बनेपनि काम भएन, बनेका नाला पनि सफा भएका छैनन्, नालाभरी प्लाष्टिक भरिएको छ।’ प्लाष्टिकले भरिएका नाला सफा गर्न नेपालगन्ज उपमहानगरपालिकाले पुरै बेवास्ता गरेका कारण समस्या बल्झिएको विकासका लागि नागरिक सरोकार समितिका संयोजक रहेका श्रेष्ठले बताए। नेपालगन्जका अन्य वडा तथा टोलमा पनि केही घर तथा पसल डुबेका छन्। नेपालगन्जसँगै जोडिएको जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन्। खजुरा गाउँपालिका वडा नम्बर ७ मा आधा दर्जन बढी घर डुबेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) शिव सिंहले जानकारी दिए। ‘खजुरा क्षेत्रमा अहिलेसम्म आधा दर्जनबढी घर डुबेको खबर प्राप्त भएको छ, त्यहाँ उद्धारको लागि ईन्स्पेक्टरको कमाण्डमा ४० जना प्रहरी परिचालित भएका छन्,’ सिंहले भने। अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले सर्तकता अपनाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले आग्रह गरेको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु¥याएको क्षतिबारे बुझ्ने काम भईरहेको बताए। ‘वर्षाले के कति क्षति ग¥यो, हामीले बुझ्ने काम गरिरहेका छौं,’ उनले भने। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले अविरल वर्षाले नेपालगन्जसहित विशेषगरी पश्चिम क्षेत्रमा डुबान गरेको बताए। ‘कहाँ के कति डुबान भयो भन्ने बारेमा पुरा जानकारी प्राप्त भएको छैन,’ उनले भने। नेपालगन्ज क्षेत्रमा वर्षा भएपनि जिल्लाको पुर्वी क्षेत्रमा भने दिनभर घाम लागेको छ। राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ। त्यस क्षेत्रमा वर्षा नहुँदा राप्ती नदीमा पानीको सतह नबढेको हो। नेपालगन्जमा विशेषगरी २०६३ सालयता वर्षेनी डुबान समस्या निम्तिन थालेको हो। उपमहानगरभित्र रहेका पुराना ढल तथा नाला अतिक्रमणमा परेका छन्। पानी जम्मा हुने खाली ठाउँमा धमाधम घर निर्माण भईरहेका छन्। सडक छेउमा निर्माण गरिएका प्रायः नाला अवरुद्ध अवस्थामा छन्। ‘यही कारणले गर्दा वर्षा हुने बित्तिकै नेपालगन्जबासीलाई सधैं डुबान समस्याले पिरोल्छ,’ श्रेष्ठ भन्छन्। विगतका वर्षमा पनि नेपालगन्जबासीले सामान्य वर्षामै डुबान समस्या खेप्नु परेको थियो। एशियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा एकिकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनकै क्रममा रहेको छ। उपमहानगरको ढल तथा नाला व्यवस्थापन, सडक निर्माण र फोहोरमैला व्यवस्थापन गर्ने आयोजनाको मुख्य उद्देश्य हो। आयोजना सञ्चालनमा आएपनि नेपालगन्जबासीले डुबान समस्याबाट पूर्ण रुपले मुक्ती भने पाउन सकेका छैनन्। आयोजनाले निर्माण गरेका ढल तथा नाला नै डुबानको बाधक रहेको नागरिक अगुवाको बुझाई छ। निर्माण गरिएका ढल तथा नालाको समयमा सफाई नहुनु, पानी बग्ने क्षमताभन्दा नालाको साईज सानो बनाईनु नै डुबानको मुख्य कारण भएको श्रेष्ठ बताउँछन्। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा नेपालगन्ज क्षेत्रको डुबान समस्या पहिलेको भन्दा धेरै कम भईसकेको दाबी गर्छन्। नेपालगन्ज ‘लो ल्याण्ड’ भएकाले वर्षा भईरहँदासम्म जलाम्य भएपनि वर्षा रोकिने बित्तिकै तत्कालै पानी सुक्ने गरेको उनको भनाई छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार