नेपालमा २३ वर्षपछि चिनियाँ शीर्ष पाइला…………

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउँदै छन्। भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्। उनको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थल जाने कार्यक्रम छ। प्रधानमन्त्री केपी ओली पनि सीको स्वागतका लागि विमानस्थल जाने सम्भावना छ। राष्ट्रपति सीको भ्रमणलाई केन्द्रमा राखेर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलदेखि सोल्टी होटल र त्यहाँदेखि राष्ट्रपति कार्यालयसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै अग्ला घरहरूमा शुक्रबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ। सीको सवारीका बेला हेलिकोप्टरबाट समेत गस्ती गरिनेछ। राष्ट्रपति भण्डारीसँगको भेटघाटबाहेक सीका सबै कार्यक्रम होटल सोल्टीमा हुनेछन्। चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए। राष्ट्रपति सी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेर केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास जनेछन्। भेटवार्ता साँझ ६ः३० का लागि तय गरिएको छ। भेटमा दुई देशीबीचको सम्बन्ध विस्तारका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि राष्ट्रपति भण्डारीले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी सहभागी हुनेछन्। आइतबार बिहान १०ः३० बजे राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र सीबीच औपचारिक भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली र सीबीच एकान्त वार्ता पनि हुने पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। परराष्ट्रका अनुुसार प्रधानमन्त्री ओलीसँगको भेटवार्ताअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार बिहान सीले भेट गर्ने कार्यक्रम छ। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार साँझ नै भेटवार्ता गर्ने तय भएको छ। भ्रमण सकेर आइतबार दिउँसो १२ः३० देखि १ बजेको समयमा सी स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपति सीको भ्रमणमा नेपालले ठूला भौतिक पूर्वाधारमा सहयोगका लागि प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिनेछ। भ्रमणको सदुपयोग गर्दै दुवै पक्षले सकारात्मक सोचका साथ परियोजनाहरूको प्रस्ताव तयार पारेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए। उनका अनुसार केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याफ्रुबेंसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावबारे पनि सम्झौता हुन सक्नेछ। चीनसँगको हाम्रो सीमा ७८ किलोमिटर मात्र हो, त्यसकारण रेलवेबारे त सुरुमा डिपीआर हुनुपर्छ। त्यसपछि मात्र खर्च लागत निस्कन्छ र लागत नै ननिस्कीकन अरू विषय आउँदैनन् होला। यो चिनियाँ सद्भावमा भर पर्छ,’ मन्त्री बाँस्कोटाले भने। उनका अनुसार चिनियाँ सद्भाव नेपाललाई प्राप्त हुने विश्वास गरिएको छ। नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका (मितेरी पुल) देखि धुलिखेलसम्म सडक स्तरोन्नति, चीनसँग जोडिने कोसी, कर्णाली र गण्डकी सडक करिडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने तयारी सरकारले गरेको छ। नेपाल–चीनबीच गत वर्ष भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुद्रिक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ। सोही सम्झौतालाई कार्यान्वनयका लागि पनि दुई देशबीचको पूर्वाधार सञ्जालमा नेपाल सरकारले विशेष जोड दिएर सी भ्रमणको सदुपयोग गर्न लागेको सरकारले जनाएको छ। चीनका बन्दरगाह जोड्न सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला सिमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माण एवं विस्तार जरुरी देखिएको छ। यसै विषयलाई ध्यानमा राखी सरकारले सम्झौताको तयारी गरेको हो। त्यस्तै चिनियाँ पक्षले पनि बेल्ट एन्ड रोड (बीआरआई) जस्तो महŒवाकांक्षी परियोजना लिएर अगाडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रसारणलाइनजस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ।

यस्तो छ सुरक्षा व्यवस्था

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई ध्यानमा राखी सेनाका सहायक रथीको नेतृत्वमा सुरक्षा टोली खटाइएको छ। सरकारले अतिविशिष्ट सुरक्षाका लागि विश्वभरि दिइने सुरक्षा विधि अपनाएको छ। गृह मन्त्रालयका अनुसार सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी भइसकेको छ। स्रोतका अनुसार शुक्रबार काठमाडौं आइपुगेका तीनवटा बुलेट प्रुफ गाडीमध्ये एउटा राष्ट्रपति र दुईवटामा उनका सुरक्षाकर्मीले प्रयोग गर्नेछन्। राष्ट्रपति सी चढेको ‘कारकेड’लाई समानान्तर बुलेटप्रुफ गाडीद्वारा सुरक्षा दिइनेछ। सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले त्यसको समन्वय गर्नेछ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीको टोलीले बाटो क्लियर गराएपछि मात्रै भिभिआइपीको सवारी हुनेछ। राष्ट्रपति सीको गाडीपछाडि नेपाली सेनाले तोकेको सहायक रथीको गाडी, त्यसपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी र सशस्त्र प्रहरीको गाडी, सवारी मन्त्रीको गाडी, सेना, प्रहरी र सशस्त्रको कमान्डो फोर्स तैनाथ भएका गाडी हुनेछन्। साथै जामर, एम्बुलेन्स पनि राष्ट्रपतिको सवारीमा सँगै परिचालन हुनेछन्। त्यसक्रममा विमानस्थलदेखि सोल्टी होटल तथा शीतल निवाससम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले सडकका दायाँबायाँ सुरक्षा दिनेछन्। भिभिआइपी भेटघाटको चेकआउट नेपाली सेनाका कर्णेलको नेतृत्वमा हुनेछ। सोल्टी होटल शुक्रबार साँझबाटै नेपाली सेनाले आफ्नो निायन्त्रण लिएर सुरक्षा दिइरहेको छ। यो आइतबार बेलुकासम्म कायम रहने सुरक्षा स्रोतले जनाएको छ। भिभिआइपी बस्ने होटल २४ घण्टा अघिबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिने नियमबमोजिम सेनाले नियन्त्रणमा लिएको हो। भ्रमण अवधिभर नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन्। सुरक्षाकै लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपत्यकाबाहिरबाट समेत थप प्रहरी झिकाएका छन्।    श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार