आलम छुट्ने डरले पीडित आतंकित………..

रौतहट – राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो। आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका आफन्तहरू थर्कमान भएका हुन्। बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका दाजु सत्येन्द्रप्रताप सिंह आफूहरू मुस्किलले दुई घण्टा पनि सुत्न नसकेको बताउँछन्। आलम थुनामुक्त भए आफूहरू मारिने त्रासले निदाउन नसकिएको उनको भनाइ छ। त्रिलोकका पिता ७९ वर्षीय श्रीनारायण सिंह छोरा मारिएपछि कारबाहीको माग गर्दै निरन्तर विभिन्न अड्डा धाइरहेका छन्। आफूले पहिलेदेखि नै विभिन्न धम्की सहँदै आएकाले खासै डर नलागे पनि आलम पक्राउ परेपछि भने केही गरिहाल्ने हुन् कि त्रास पैदा भएको उनी बताउँछन्। त्रिलोककी ७५ वर्षीया आमा कमलादेवी सिंह आलमले सजाय पाए भने मात्र आफूहरू ढुक्कसाथ बाँच्न सक्ने नत्र मारिन सक्ने बताउँछिन्। बम काण्डमै मारिएका ओसी अख्तरकी आमा रुक्साना खातुनलाई अज्ञात समूहले गोली हानी गरेको हत्याको छानबिनसमेत हुन नसकेको बताउँदै उनी आलम रिहा भए आफूहरूको हालत पनि उस्तै बनाउने हो कि भन्ने चिन्ताले सताउने गरेको सुनाउँछिन्। छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै विभिन्न अड्डा धाउने क्रममा रुक्सानाको दिउँसै हत्या भएकाको सिंहको भनाइ छ। छोरालाई इँटा उद्योगमा जलाउनेहरूलाई कडा कारबाही हुनुपर्ने उनको माग छ। ओसीकी पत्नी अमना खातुन र छोराहरू हैदर तथा साहिल अलीलाई ससुरा समसुल मियाँले आफ्नै घरमा ल्याएर राखेका छन्। ज्वाइँ ओसी अख्तरको मृत्यु भएको घटनालाई लिएर सम्धिनी रुक्सानाले हत्यारालाई कारबाही गराउन माग गर्दै सर्वोच्च अदालतसम्म पुग्दा अज्ञात समूहले हत्या गरेको र अहिले आलम सोही घटनामा पक्राउ परेपछि छोरी र नातिहरूको संरक्षणका लागि त्यस्तो कदम चालेको उनी बताउँछन्। समसुलले प्रहरीसमक्ष आफूले इँटाभट्टामा मान्छे मारेको घटना प्रत्यक्ष देखेको बयानसमेत दिएका छन्। ज्वाइँ राजपुरमा गएको र त्यहीबेला बम विस्फोट भएको थाहा पाउनेबित्तिकै आफू सरुअठाबाट पाँच किलोमिटरमा रहेको राजपुरसम्म दौडेर गएको तर सशस्त्र प्रहरीले राजपुरको घटनास्थलतर्फ जान रोकेको उनले स्मरण गर्छन्। सांसद आलमका मान्छे र सशस्त्र प्रहरीको गतिविधि शंकास्पद लागेपछि आफू गहुँबारीमा लुकेको उनको भनाइ छ। अँध्यारो भएकाले आलमका मान्छे र सशस्त्र प्रहरीले आफूलाई नदेखेको र एकैछिनमा सशस्त्र प्रहरीको गाडीको पछि ट्याक्टरमा लोड गरी बोरामा मान्छेलाई कोचेर इँटाभट्टीतिर ल्याएको आफूले प्रत्यक्ष देखेको र बयानमा पनि सोही कुरा उल्लेख गरेको उनी बताउँछन्। बोरामा जिउँदै छटपटाइरहेको मानिसलाई भट्टीमा कोचेको देखेको साबिती बयान समसुलले दिइसकेको प्रहरी स्रोतको दाबी छ। बम काण्डमा घाइते भएर आन्द्राभुँडी बाहिर निस्केको र १९ दिन बेहोस रही तीन महिना भारतको मोतीहारीमा उपचार गराएका सर्लाही गोडैताका ५५ वर्षीय सफी महम्मदले पनि प्रहरीसमक्ष घटनाबारे साबिती बयान दिएका छन्। काठमाडौंस्थित शिक्षण अस्पतालमा निजको घाउखत चेकजाँच गराउँदा बम विस्फोटमा नै भएको पुष्टि भएपछि रौतहट प्रहरीले सफीको बयान लिएको छ। सफीले घटनामा दर्जनौं मानिस मारिएको आफूले प्रत्यक्ष देखेको बयान दिएका छन्। प्रहरीको निगरानीमा रहेका उनको सुरक्षा व्यवस्था मजबुत रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटना भएकै छैन:आलम

आइतबार दिउँसो रौतहट जिल्ला अदालतबाट पाँच दिनका लागि म्याद थप भएपछि प्रहरीको हिरासतमा रहेका सांसद आलमले प्रहरीसमक्ष बयान दिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको रोहबरमा जिल्ला सरकारी वकिलको कार्यालयमा सांसद आलमले घटनाबारे इन्कारी बयान दिएका हुन्। सरकारी वकिल खणिन्द्रराज कटुवालले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा सांसद आलमले घटना नै नभएको दाबी गर्दै घटनासित सम्बन्धित सबै प्रश्नको इन्कारी बयान दिएका हुन्। आइतबार सांसद आलमको पक्षमा २८ जना कानुन व्यावसायीले बहस गरेको सुनेपछि सांसद आलमले आइतबार राति नै बयान दिएका हुन्।

मुद्दा चलाउने आधार पर्याप्त: प्रहरी

जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेका सांसद आलमले घटना नै नभएको दोहो¥याउँदै आए पनि मुद्दा चलाउन सकिने पर्याप्त प्रमाणहरूको खोजी गरिसकेको जनाइएको छ। सर्वोच्च अदालतको २०६९ जेठ १६ मा तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मृतक भनिएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर आलम आलमसँगै चुनाव प्रचारमा खटिएको पाइएको र बम विस्फोट हुँदा दुवैजना घाइते भई जिउँदै इँटाभट्टीमा जलाइएको प्रमाण देखिएको भन्दै मुद्दाको पुनः गम्भीर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। कानुनी भाषामा रेसियोडेसिडेन्डी भनिने कानुनी आधारमा घटनाका घाइतेहरूको बयान, मृतक परिवारको जाहेरी, बम विस्फोट भएको स्थान वरपरका स्थानीय एक दर्जन प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारिएको कागजात, विस्फोटपछि मृतक र घाइतेलाई ओसार्न प्रयोग गरिएको सांसद आलमका भाइ महताब आलमको नाउँमा दर्ता भएको ट्र्याक्टर, इँटाभट्टामा काम गरेका मजदुरहरूको बयानसमेतले घटनाको पुष्टि गरेकाले मुद्दा चलाउने आधार पर्याप्त रहेको प्रहरी स्रोतको दाबी छ।     श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार