सूर्य उपासनाको पर्व छठ सुरु………

लहान – ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्यलाई ‘नहाय खाय’ विधि भनिन्छ। सो विधिपछि उनीहरू दोस्रो दिन शुक्रबार साँझसम्म उपवास बस्छन्। घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचीन कालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गरिँदै आएको छ। यो पूर्णतया शाकाहारी पर्व भएकाले ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्। सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीझैं माहोल हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो। दोस्रो दिन (शुक्रबार साँझ) चोख्याइएको एक कोठामा खिर र केरालगायत मीठा पकवान केराको पातमा फिँजाएर ईश्वरको आराधना गरिन्छ। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि पूजनस्थलवरिपरि प्रसादको प्रतीक्षामा रहेका परिवारजन एवं छरछिमेकलाई बाँड्छन्। घरभित्रै दुईदिने आन्तरिक विधिपछि दीपावलीझैं झिलिमिली पारिएको जलाशय किनारमा शनिबार साँझ (सँझिया घाट) र आइतबार बिहान (भोरका घाट) ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दूध एवं जलको अघ्र्य दिन्छन्। मुख्य ब्रतालुले झैं लोक आस्थाका कारण परिवारजन, छरछिमेक एवं दर्शनार्थीले पनि पूजा गर्छन्। छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दीपावली गर्छन्। छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रूपमा समेत सम्झिँदै दसैं एवं तिहारसमेत मधेसवासीले छठको लोकगीत गाउँछन् या बजाउँछन्। बिहानको अन्तिम अघ्र्यपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ। लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्। नसक्ने भएपछि वरीयता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन्। भाकलअनुरूप सम्पन्नले पनि भीक्षा माग्ने परम्परा छ।

समानताको पर्व

दलित डुम एवं आदिवासीद्वारा निर्मित बाँसको ढाकी र नाङ्लोमा पूजा गरिने हुनाले यसलाई समानताको पर्व पनि मानिन्छ। सिरहा–२ गोढियारीकी पूजा मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँदै आएकी छन्। सोही पोखरीमा टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन्। मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं।’ यो पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधिभित्र खुम्चिन पुग्छन्। ‘पूजासामग्री अन्य जातका मानिससँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्,’ उनी भन्छिन्, ‘सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ।’ छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका सहप्राध्यापक उमेशकुमार झाको तर्क छ।

सबै जातजातिको एकै थलो

लहान–१० का भूतनाथ उपाध्याय ६५ वर्षका भए। पहाडी मूलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ। जान्नेबुझ्ने भएदेखि नै मातापिताले गर्दै आएको छठ पूजालाई भूतनाथले निरन्तरता दिँदै छन्। गोलबजार–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५५ वर्ष भयो। छोरा पाउन गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। ७० वर्ष पार गरिसकेकी उनलाई पछिल्लो चार वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन्। सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ। सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य हो। पहाडी समुदायले पनि उत्तिकै निष्ठाका साथ मनाउने क्रमले व्यापकता पाउँदै जानुले सामुदायिक सद्भावको मियोलाई समेत मजबुत बनाउँदै छ। बिहान उदाउँदो सूर्य र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन्। ‘यो पर्व सामाजिक–सांस्कृतिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ। पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दै छ,’ आमाको बिडो थामेर आठ वर्षदेखि छठ व्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘छठ घाटमा मधेसी र पहाडी भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन्।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार