भ्रमण वर्षलाई सांस्कृतिक स्वागत………

भक्तपुर – प्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सांस्कृतिक स्वागत गरेको छ। बुधबारबाट सुरु हुने भ्रमण वर्षको अवसरमा पूर्वसन्ध्यामा मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालिन सांस्कृति सम्पदा पदयात्रा गरिएको थियो। पदयात्राको क्रममा नगरा बाजासँगै विभिन्न सांस्कृतिक प्रदर्शन गरियो। राजा जितामित्र मल्लले तलेजु भवानीलाई चढाएको ऐतिहासिक नगरा र बडेमानको घन्टा पून्यराम थिमी र हरेराम थिमीले बजाएसँगै सांस्कृतिक नगर संसारभरका पर्यटकलाई स्वागत गर्न आतुर रहेको नगरप्रमुख शुनिल प्रजापतीले बताए। नेपाल भ्रमण वर्षको अवसरमा थन्केर रहेका तीन सय २९ वर्ष लामो ईतिहास बोकेको दुई नगरा ताहा सत्तल (तबा सत्तल) मा अघिल्लो साता मात्रै पुनस्र्थापना गरिएको थियो। मंगलबार दिउँसो साढे ३ बजे दरबार क्षेत्रको मूलढोकामा बाँसुरी र लाखे प्याँखबाट अतिथीहरूलाई स्वागतपछि उक्त ऐतिहासिक नगरासँगै घन्ट पनि बजाइएको थियो। मल्लकालमा नगरमा हुने कार्यक्रमको सुरुवातमा उक्त नगरा बजाइन्थ्यो। कला र संस्कृतिले सम्पन्न भक्तपुर नगरमा रहेका दरबार क्षेत्र, टौमढी क्षेत्र, ५५ झ्याले दरबार, सुनढोका, भैरवनाथ मन्दिरलगायत पाटी पौवा, ढुंगेधारा, पोखरीजस्ता थुप्रै जीवन्त पर्यटकीय क्षेत्र रहेको मेयर प्रजापतीले जानकारी दिए। ‘हाम्रा पुर्खाले सिर्जेका ती सम्पदाको दृश्यावलोकन गर्न संसाभरका लाखाैं पर्यटक बर्सेनी भक्तपुर आउने गरेका छन्,’ उनले भने, ‘नेपाल भ्रमण वर्षको अवसरमा जतिसक्दो धेरै पर्यटक आउने हामीले विश्वास लिएका छौँ। चालु आर्थिक वर्षको मंसिरसम्म मात्र यहाँ एक लाख १४ हजार पर्यटक आएको उनले बताए। सांस्कृतिक झाँकीसहित मंगलबार भएको पद यात्रामा सहभागी टोलीलाई नगरका विभिन्न चोकमा नृत्य प्रदर्शन गर्दै स्वागत गरिएको नगरपालिका पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले बताए। सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग गर्न नगरपालिकाले वर्षभरीनै पर्यटन केन्द्रित विभिन्न गतिविधि गर्ने बताइएको छ। पर्यटक सूचना केन्द्रको व्यवस्था, स्तरीय शौचालयलगायतक पूर्वाधारको तयारी गरिएको केन्द्र प्रमुख लासिवाले बताए। भ्रमण वर्षकै अवसरमा आगामी चैत ४ देखि ८ गतेसम्म पाँच दिने ‘भक्तपुर महोत्सव’ समेत सञ्चालन गरिने भएको छ। महोत्सवमा हस्तकालाको जीवन्त प्रदर्शनी, दही उत्सव, परम्परागत झाँकी, जीवन शैलीको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ। त्यसैगरी नगरपालिकाले नयाँ वर्षको पहिलो दिनमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर पर्यटकलाई स्वागत गर्ने भएको छ। नगरापालिकाका अनुसार बुधबार बिहान ७ बजे बाँसुरी र लाखे प्याँखसहित स्वागतको तयारी गरिएको छ। भक्तपुर दरबार क्षेत्रको मूलढोमा प्रवेश गर्ने पर्यटकको पहिलो समूहलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को औपचारीक उद्घाटन बुधबार (आज) राजधानीको दशरथ रंगशालामा भव्य रूपमा गर्ने तयारी गरिएको छ। उद्घाटन कार्यक्रममा चार देशका पर्यटनमन्त्री र १८ देशका पत्रकारको सहभागीता हुने आयोजकले जानकारी दिएको छ।  साभर:  एनअेाएन

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार