अवसरको खेती ‘चुनाउ’

नरेश ठूले

शान्त तलाउ पनि छचल्किएको छ
सुनसान बोटबृक्षाहरू चलमलाएका छन
चुपचाप निदाउने रात पनि चिच्याएको छ
स्थिर बुख्याचा पनि हल्लिएको छ
चरा मुसा चिरबिर चुँचुँ गरेका छन
किट पतंग किरिक कुरूक गरेका छन
सर्पहरू सल्बलाएका छन
सुगुरहरू च्वॉच्वॉ गुँगुँ गरेका छन
कुकुरहरूलाई कात्तिकले उन्मत्त छोएको छ
चैते बॉदरलाई लिस्नु फेला परेको छ
गाईहरूको बथानले गोरू खोजेका छन
गोरू र बहरहरू सॉढे जस्तै डुक्री रहेछन
स्याल, ब्वाँसा, हुईया, गोहीको के कुरा
चिल, गिद्ध, उल्लूहरुले चारसुर मारिरहेका छन
जताततै पशुप्राणीहरू जोडजोडले स्वर निकाली रहेका छन
जस्तो की पशु दिवस या पसुमेला जात्रा भरेर
पशुहरू हॉडी गाउँमा उत्सव मनाईरहेछन,

किन भन्देखुन-
पर्वहरूको माहापर्व-
चुनाबि पर्वको- महामेला लागेको रहेछ नि त
हाम्रो नेपालको हाडी गाउँमा
यसरि पो त यि हरेक बस्तु बिशेषहरू
आफ्नै भाकाभंगी, लय, सुरमा
आफ्नो अजेण्डा, मुद्दा र घोषणापत्र
जोरजोरले एकसाथ
कराइरहेका-
चिच्याईरहेका-
गाइरहेका रहेछन,

गाई भन्छ-
प्रत्येक नगर गाउँ वडा र ईकाई टोलहरूमा
ग्वाली बनाउछु
प्रत्येक जनतालाई
मलको लागि गोबर गोब्य्राई दिन्छु
बलका लागि दूध दिन्छु
चोखिन सफा हुन मूत दिन्छु
साढेहरूको सुन्दरी बनिदिन्छु
जोत्नको लागि बहर पाईदिन्छु
गुइँठाको खरानी बिगोत घस्ने
जोगी र भोगिहरूको देश बनाईदिन्छु
घरघरमा ‘फेरी’ बजाएर
निदाएकाहरूलाई जगाइ दिन्छु
नागरिकहरूको ग्रह दशा झोलिमा थापेर
रोग र भयमुक्त पारिदिन्छु
त्यसैले गाईमा ठोक्नुस भोट,

बूढो रूख भन्छ-
प्रत्येक जिबलाई शितल छाहारी दिन्छु
चौतारीमा बर पिपल भैदिन्छु
सास फेर्नको लागि हावा दिन्छु
खानको लागि घाँस र फल दिन्छु
तस्कर ब्यपारीका लागि
रक्तचन्दन, चॉप सिसौं सखुवा बनिदिन्छु
बॉदरका निम्ति लिस्नु त
चोरका लागि भर्यांग बन्छु
अपांगहरूको साहारा लौरो बन्छु त
डाका गुण्डा लुटेराहरको भाटो र लाठो पनि हुन्छ
त्यति मात्र काहॉ हो र ?
घर बनाउन दलिन थाम चिरपट
अनि लास जलाउने चिता बनि दिन्छु
त्येसैले रूखमा भोट देउ
नत्र लट्ठी र भाटाद्वारा कार्बाही गरिने,

सूर्य भन्छ-
सूर्य भनेको सूर्य हो
सूर्य भनेको घाम हो
घाम भनेको सूर्य हो ‘बुझ्नु’
अबो यो कुरो कसैलाई सिकाई रनु परोईन
र अबको घाम हिजाको सूर्य जस्तो रहेन
अब घाम १२ हैन २४ होईन
४८ घण्टा उदाउनेछन
धेरैभन्दा धेरै प्रकाश र ताप दिएर
४८ घन्टा अस्ताउनेछन
त्यसपछी-
१४ दिनको १ हप्ता
६० दिनको १ महिना
२४ महिनाको १ बर्ष
एबं रितले समय चक्र घुम्ने छ
र मान्छेको ��”सत आयू १२० बर्ष हुने छ
त्यसैले सूर्यमा मत दिनु
यदि सूर्यले बहुमतले चुनाब जित्यो भने
कसैले गर्न नसक्ने चमत्कारी काम गरेर देखाउने छ
जस्तो की ५ बर्ष पछि
देशमा कहिल्यै सूर्य अस्ताउने छैन
कसैलाई भोक प्यास लाग्ने छैन
कसैलाई रोग बिमार लाग्ने छैन
कसैले रुनु पर्ने छैन
कसैलाई अनुच्छिक मृत्युबरण गर्नुपर्ने छैन
त्यसैले सूर्यलाई भोट दिनु
अर्को कुरा सुन्नु
यदि तपाईले भोट नदिएर
सूर्यले हार्यो भने सिधै तपाईको हार हुनेछ
जनताले हार्ने छन
देशले हार्ने छ
जस्तो की यूर्यबंशीको देश भए पनि पूरा अध्यारो हुने छ
सूर्य कहिल्यै झुल्किने छैनन
सबै अन्धाकारमा डुब्नुपर्ने छ,

अर्काथरीले हँसिया हथौडा देखाउदै भन्छ-
यो प्रतिक सजिलै अर्जेको हैन
यो चिन्ह सहजै प्राप्ति भएको छैन
किन, कसरी, कहिले, केका लागि प्राप्त भयो ???
यसको उत्तर दिन त्यति सजिलो छैन
हसिया कै आकार प्रकारको
प्रश्नजन्य घुमाउरो बाटो भएर
जो बिंडको जराबाट सुरु भएको
हसिया हथौडा यात्रा
धारैधार बिटैबिट टेकेर
डाडांकाडा काटेर, खोला नदी तरेर
जंगल झाडी फाडेर
बल्ल यहॉसम्म आईपुगेको छ
मजदूर किसान गरिब निमुखाहरूको
गाउँ-बस्ती र झुपडी पार गरेर
बल्ल सत्ता र महल गमन गर्दै
द्रब्य र शक्तिको रिले दौडदै गरेको बेला
हुन गईरहेको छ चुनाबी खेलको मनचन
रूखलाई काट्न सक्ने
घामलाई छल्न सक्ने
गाईलाई रेट्न सक्ने
जनतालाई ढाट्न र कुटन सक्ने
हास्नेलाई रूवाउने
रूनेलाई हसाउन सक्ने
हँसीया हथौडामा भोट दिनोस
नत्र टाउकोमा हथौडा र घॉटीमा हँसीया बर्सिने छ
भोट के मा ?
हँसीया हथौंडामा,

भित्रभित्रै सुरुङ खनेर बन्दरगाहसम्म सडक पुराउने योजना सुनाउछन
मुसाहरु
प्रत्येक नागरिकलाई पखेाटा प्रत्यारोपण गरेर उडने बनाउछु भन्छन
चराहरू
गाउँ, नगर र देशलाई सिंगापुर बनाउछु भन्छन
झिंगाहरू
देशलाई गोरखपुर गाभेर बिशाल बनाउछु भन्छन
गोहीहरू
देशलाई क्षणभरमै स्वर्ग बनादिन्छु भन्छन
दूत र अप्सराहरू,

यि नारा, अजेण्डा, मुद्दा र घोषणापत्रसंगै
अन्तरपाटीय बिबाह सम्पन्न भएको छ
सुहाग रातको रतिक्रिडासँगै
गाउँ, नगर र सिंगो देश
बिकासय भएको छ
हर्ष र उल्लामयका भएको छ
सुख, र सम्पन्नमय भएको छ
निर्बाचन नसकुन्जेल
भोजमय र नोटमय भएकोछ
झोलामय र लठैथमय भएको छ
लाग्दछ
देशमा सधैंभरी
चुनाव भैरहोस
जय चुनाव
जय अवसर ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार