बलदेव भट्ट “बिहानी” अष्ट्रेलिया
थकित आँखामा साँझको गाजल भरेर कसले भन्छ म निदाए
असिना र ढुङ्गाहरुमा लेखिएका यस देशका मुर्च्छनाहरु पढ्दै
हो, मैले बिहानीमा जलजलाको रातो मुख हेर्न सकिन
ललिता जोशीको आस्थाको बगैचामा फूलको कविता कोर्न सकिन ।
खाराको बखेडा झिकेर समयको लच्किदो झोलुंगे पुलमा बसी
म देश बोकेर मर्नेहरु को पिण्ड खाँदै राप्ती किनार हेर्न सक्दिन,
जेठको घामले ब्याकुल तिर्सना बढाएकोको बेला तिर्खाको कलंकीत बैंश लाई
आसुँ र सपनीको भेल सँग उर्लेको मादीमा लगेर पखाल्न पनि सक्दिन ।
कसले भन्छ म मुग्लानमा लाहुरे फूल बन्न अनिदो देश बोकेर हिँडे
श्रम-सम्मान मक्किएको देशमा गुलाबी हौसलाको कुरा नगर्ने हो भने
म हातहरु सल्काएर आफ्नै छातीमा रापिलो योजनाको रोटी पकाउँछु
देवकला क्षेत्रीको आस्थाको बगैंचामा संगिन परिवर्तनको रुप रेखा कोर्छु ।
हजार चोटि धर्तीको बन्जर छातीमा टाउको ठोकाएर अक्षरी हाँसोहरु मर्लान
तिनीहरु सतबाझको झिसमिसेलाई युगिन बिहान मान्न तयार छैनन,
गोल्फुकी चाटेर जसले आज मेरा परेवाहरुको आकाश लुटेका छ्न
तीनकै बिरुद्ध ध्वस्त पछी हुने निर्माण नियाल्दै यि अक्षरहरु बारुदी हाँसो हाँस्नेछ्न ।
बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।
संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’ ।