हङकङमा कवि प्रकाश थाम्सुहाङको एकल कवितावाचन सम्पन्न

४ डिसेम्बर २०२३ बगैंचा संचार हङकङ,

हङकङ । कवि प्रकाश थाम्सुहाङको एकल कवितावाचन सम्पन्न भएको छ । बगैंचा संचारको आयोजनामा हङकङको जोर्डनस्थित बगैंचा रेस्टुरेन्टमा गत सोमबार आयोजित कार्यक्रमको व्यवस्थापन बिएस एकेडेमीले गरेको हो ।

बगैंचा संचारका निर्देशक धीरजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि हङकङवासी अग्रज कवि नरेश सुनुवार, विशेष अतिथिहरुमा हङकङ साझा शृङ्खलाका संयोजक रमण गुरुङ, थाम्सुहाङ सेवा समाजका केन्द्रीय अध्यक्ष भवेन्द्र थाम्सुहाङ र समाजसेवी शोभा मगर राई थिए । हङकङवासी साहित्यकार बज्रकुमार थुलुङद्वारा संचालित कार्यक्रममा हङकङवासी अधिकांश साहित्यकार तथा समाजसेवीहरुको उपस्थिति थियो ।

कार्यक्रममा थाम्सुहाङले समकालीन नेपाली कविता र हङकङको नेपाली साहित्यमाथि धारणा राख्दै आधा दर्जन कविता वाचन गरेका थिए । व्यस्त समयका बावजूद हङकङवासी नेपाली साहित्यकारहरुको सक्रिय लेखनले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए । उनले भने, “विभिन्न साहित्यिक अभियानहरुको ऐतिहासिक विरासतलाई निरन्तरता दिइरहेका हङकङवासी नेपाली साहित्यकारहरुको सिर्जनामा अब्बल दर्जाको चिन्तनशीलता पनि पाइन्छ ।” कार्यक्रममा हङकङवासी कविहरु-  शरण सुब्बा, जुनु दिव्या राना, जानु काम्बाङ लिम्बू , देवेन्द्र खेरेस, भुपेन्द्र चेम्जोङ र गायिका खुशी थुलुङ लगायतले कविता वाचन गरेका थिए ।

कवि प्रकाश थाम्सुहाङको कवितामाथि हङकङवासी अग्रज साहित्यकार प्रदीप कन्दङ्वाले समालोचनात्मक टिप्पणी राखेका थिए । सशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा कवि थाम्सुहाङलाई आठ हजार हङकङ डलरसहित सम्मान गरिएको थियो ।

पचासको दशकदेखि लेखनयात्रामा निरन्तर रहेका प्रकाश थाम्सुहाङ कवि, निबन्धकार, गीतकार, स्तम्भकार तथा सामाजिक नेतृत्वदायी व्यक्तित्व हुन् । हाल इलाम साहित्य, कला, संगीत प्रतिष्ठान र याक्थुङ लेखक संघका अध्यक्ष रहेका थाम्सुहाङको ‘पालामको मुर्छना’ कवितासङ्ग्रह प्रकाशित छ । उनको पछिल्लो कृति निबन्धसङ्ग्रह ‘शब्दथुम’ गत असोज ३० गते सार्वजनिक भएको छ ।

उक्त कार्यक्रममा बगैंचा संचारद्वारा हङकङद्वार स्थापना गरिएको ‘बगैंचा पुरस्कार’ र ताम्रापत्र सहित पत्रकार, लेखक तथा समाजसेवी स्वर्गीय किसन राईलाई उहाँको योगदानलाई कदर गर्दै मरोपरान्त पुरस्कारको रूपमा उहाँकी धर्मपत्नी श्रीमति शोभा मगर राईलाई प्रदान गरिएको थियो ।हङकङमा नेपाली साहित्य, शिक्षा र कला क्षेत्रमा योगदान पुर्याए वापत प्रत्येक बर्ष एक विधालाई ‘बगैंचा पुरस्कार’ प्रदान गरिन्छ । हङकङ डलर ५ हजार राशि रहेको सो पुरस्कार यस अधि कला क्षेत्रमा योगदान पुर्याएबापत चित्रकार दिपेन राईलाई प्रदान गरिएको थियो ।

तस्विर: टोप यक्खा, देबेन्द्र खेरेस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार