पानीबारे अध्ययन गर्न उर्जामन्त्रीको टोली अस्ट्रेलियामा

१० सेप्टेम्बर, एडीलेड । नेपालका उर्जामन्त्री महेन्द्रबहादुर शाही केही सांसदहरू र सरकारी कर्मचारीको टोलीसहित आइतबार अस्ट्रेलिया आइपुगेका छन् । टोलीमा एमाले अनुशासन कमिटीका नेता अमृत बोहोरासमेत छन् ।

आइतबार बिहान दक्षिण अस्ट्रेलियाको एडीलेड आइपुगेका मन्त्री शाहीको भ्रमण दलमा सांसद सीता नेपाली, नेपालको व्यबस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बराल, सदस्यहरु अमृत बोहोरा, तारामान गुरुङ, गीता सिंह र नेपाल सरकारका दुई जना कर्मचारीहरु रहेका छन् ।

मन्त्री शाहीको टिमलाई एडीलेड अन्तर्रास्ट्रिय विमानस्थलमा दक्षिण अस्ट्रेलियाका लागि नेपालका अवैतनिक बाणिज्यदूत दीपक धमला, स्थानीय सामाजिक कार्यकर्ता कपिल पाण्डे तथा अस्ट्रेलियन सेन्टर अफ एक्स्लेंस इन वाटर रिसोर्सेज म्यानेजमेन्टका एक्जेक्युटिब सेक्टर स्पेसिलिस्ट एन्ड जोन्सनले स्वागत गरेका थिए ।

मन्त्री शाहीको नेतृत्वको टीम अस्ट्रेलियाको साताब्यापी भ्रमणका क्रममा दक्षिण अस्ट्रेलिया, भिक्टोरिया , क्यापिटल टेरिटोरी र तास्मनियाका विभिन्न जलविद्युत आयोजना र सिचाइँ आयोजनाहरुको निरीक्षण गर्नुका साथै अस्ट्रेलियन अधिकारिहरुसँग बैठक गर्ने बताइएकाे छ।

अस्ट्रेलियन सरकारी टोलीहरुसँंगको भेटमा नेपाली प्रतिनिधि मण्डलले कमनवेल्थ देशहरुको उर्जा, जलबिद्युत तथा सिचाइँ आयोजनाहरुको ब्यबस्थापनबारे अनुभव आदानप्रदान गर्नेछन् ।

यो टिमले अस्ट्रेलियाका विभिन्न राज्यहरुका बिचमा पानी तथा उर्जाको वितरण ब्यबस्थापन बारे पनि अध्ययन गर्ने बताइएकाे छ ।

नेपाल संघीय ब्यवस्थामा भर्खरै प्रवेश गरेकाले यो भ्रमण दलले अस्ट्रेलियाको उर्जा तथा जल वितरण सम्बन्धी ब्यवस्थाबारे ज्ञान आर्जन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार