हङकङे किरात कोईंच सुनुवारहरूले महान चाड ‘उभौली ष्याँदर’ सम्पन्न गरे

बगैंचा अनलाईन हङकङ सम्बाददाता

१९ मे २०१९, हङकङ- किरातहरूको महान चाड उभौलीको अवसरमा सुनुवार समाज हङकङले हङकङ स्थित किरात ष्याँदर पार्क (पार्कभ्यू कन्ट्रिपार्क) मा उभौली सालिवा ष्याँदर ५०७९ हर्षोल्लासकासाथ मनाउदै सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष श्यामकर्ण सुनुवारले किरात सुनुवार रिती संस्कार अनुसार संस्थाका बिशिष्ट सल्लाहकार तथा किरात संस्कृतिबिद ईश्वर किरण सुनुवार (अतित मुखिया)लाई ‘कैता ना~सो’ (पूजारी) रूपमा पगरि गुथाएर शिर उठान गरि कोईच ना~सोको अनुष्ठान विधि अनुसार थान बनाएर धजा-पतका, तोर्म, फलफूल, खेमेर राँकु, निकवाकु, वफू पोटखमे चढाएर धुपधुवार गरि पितृ र प्रकृतिको बिधिवत पूजाआजा गरेर गुईदवा (ढोल) झ्याम्टाको तालमा गीत गाउदै बिबिध पार (ताल) मा नाच्दै बिश्व शान्तिको कामना गर्दै सम्पन्न गरेको छ ।

कार्यक्रममा कोईच सभ्यता र संस्कार अनुसार घरघरबाट बिबिध प्रकारका किरात कोईंच परिकारहरू- चाम्रे, प्लेत, फुलौरा, षोब्ले, बाल्शो डिम्मा वफु, वाल्शो रेबचाना, गन्द्रुक अचार, किनिमा भटमास अचार, तिनपाने लगायतका निशुल्क खाना उपलब्ध हुनुको साथै, सशूल्क बिबिक्यूको ब्यबस्था थियो । बिहान ११ बजेबाट शुरू गरिएको कार्यक्रम साँझ ७ बजे सम्पन्न भएको थियो ।

उधौली र रभौलीको रूपमा बर्षमा २ पटक मानिने यो किरातहरूको महान चाड हो । हङकङको परिबेशमा समेत किरात कोईच सुनुवारहरूले संस्थागत रूपमा हङकङको पार्कभ्यू कण्ट्री पार्क (ष्याँदर पार्क)मा कार्यक्रम आयोजना गरि नियमित रूपमा मान्ने गरेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार