दार्जीलिङमा उदाएका प्रतिभा “प्रबल थापा” र उनको सांगितिक यात्रा

  नरेश सुनुवार 'ठूले'

प्रबल थापाको सांगितिक यात्राको बारेमा कुरागर्नु पूर्ब गीत-संगीत भनेको के हो भन्ने बिषयमा छोटो चर्चा गर्नु सान्दार्भिक होला । हुन त यस बिषयमा बिभिन्न संगीतज्ञहरूले बिबिध र बिशिष्ट प्रकारले आ-आफ्नो तवरले प्रष्टाएको र परिभाषित गरेको पाईन्छ । तथापि मेरो आफ्नै सतही तवरले भन्नुपर्दा ‘गीत जीवन हो, लय तथा(भाका) जीवन प्रक्रिया हो र ताल-सुर जीवन पद्धति हो’ । यसर्थ ‘गीत-संगीत’ जीवन हो र ‘जीवन’ गीत-संगीत हो, यानि जीवन र गीत-संगीत एकअर्काका परिपूरक हुन् । तथापि फरक के छ भने जीवन मृत्युमा टुंगिन्छ तर गीत-संगीत अजर-अमर रहन्छ । तर गीत-संगीतको अस्तित्वलाई साधक र सर्जकहरूले साधनाको कसिमा घोटीघोटी पुस्थान्तरण गर्दै चम्काई रहन्छन स्वरबद्ध, लयब्द्ध र संगीतबद्ध गरिरहन्छन् । यसै प्रक्रिया अन्तर्गत नेपली गीत-संगीतको आकाशमा खरो उत्रदै गरेको एउटा नक्षत्र वा नाम हो ‘प्रबल थापा’ ।

नेपाली गीत संगीतको बारेमा चर्चा गर्दा छिमेकी देश भारतको दार्जीलिङलाई सम्झिनै पर्ने हुन्छ । किनभने यहाँका मूर्धन्य स्रष्टा र सर्जकहरूले नेपाली गीत-संगीतमा उल्लेखनीय योगदान दिएका छन्, दिईरहेका छन् । ती मूर्धन्य व्यक्तित्वहरू- शान्ति ठटाल, अम्बर गुरुङ, गोपाल योन्जन, अरूणा लामा, मन बहादुर मुखिया, दिब्य खालिङ, भक्तराज आचार्य, शरण प्रधान, डेजी बराईली, कर्म योन्जन, दिनेश सुब्बा, कुन्ति मोक्तान, शिला बहादुर मोक्तान, उदय सोताङ, मनिला सोताङ, सुरेन्द्र मुखिया, एड्रिन प्रधान, प्रशान्त तमाङ, प्रबल थापा लगायत पछिल्लो पुस्ताकी गायीका बानिका प्रधानहरू नेपाली गीत संगीत जगतमा सोनामधन्य नामहरू हुन । जसले गर्दा नेपाली संगीतको आकाश चम्किलो, फराकिलो र ओजपूर्ण बनेको छ ।

दार्जिलिङमा जन्मेर नेपाली संगीतमा चम्किलो भएर उदाएका माथि उल्लेखित नामको फेहरिस्ताबाट मेरो जानकारी र सम्झनामा नआएका कतिपय नामहरू छुटेका हुन सक्छन्, जसलाई अगामी लेखहरूमा समेट्ने प्रयास गर्नेछु । यी समेटिएका नामहरूमध्ये भरपुर प्रतिभा प्रस्फुटित भएर पनि बिश्वमा छरिएर रहेका नेपाली संगीतप्रेमी स्रोता-दर्शकसामु अलि कम परिचित जस्तो लाग्ने दार्जिलिंङे गायक तथा संगीतकार “प्रबल थापा”को बारेमा संक्षिप्त प्रसंग उल्लेख गर्ने प्रयास गरेको छु ।

अधिकांश कलाकारहरूले आफ्नो प्रतिभा र कला प्रस्फुटन हुँदैगर्दा यसलाई ब्यापक रूपमा श्रोता, दर्शक सामु पुर्याउन प्रचार प्रसारको माध्यम पहिल्याउछन । लक्षित समुहसम्म पुग्न बजार ब्यबस्थान गर्छन र आफू स्वयं बजारको केन्द्रसम्म पुगेर कला प्रस्तुत गर्दै स्थापित हुने गर्दछन । यसै पकृया अनुरूप नायिका मनिषा कोईराला र गायक उदित नारायण झाहरू मुम्बई पुगेका हुन भने सोही अनुरूप दार्जेलिङे कलाकारहरू काठमाडौं पुगेर स्थापित भएका हुन । हुन पनि सहि गोरेटो पहिल्याउन सकिएन भने लक्ष चुम्न सकिन्न । सायद यही कारणले हुनसक्छ प्रतिभावान भएरपनि प्रबल थापा निक्कै कम चर्चामा छन । आफ्नो शरिरमै अमूल्य वस्तु ‘बिना’ भएर पनि ठम्याउन नसक्दा कस्तुरी झै भौतारिएका जस्ता देखिन्छन् । यसो हुनुको पछाडि एउटै कारण हो उनि दार्जीलिङमै जन्मे, दार्जीलिङमै हुर्के, कलासिके, दार्जीलिङमै सिमित भएर बसे । उनले संगीत कर्म गरेको २०औं बर्ष पुग्दा पनि एक प्रकारले उनि ओझेलमा परे । अब उनले आजैबाट सहि मेशो पर्गेल्ने प्रयत्न गर्नुपर्छ र गर्नेछन ।

पेशाको रूपमा संगीतलाई अगालेका गायक तथा संगीतकार प्रबल थापा सन १९८५ नोमेम्बर ६ मा दार्जीलीङमा जन्मेका हुन् । बाल्यकालदेखिनै संगीतमा रूचि राख्ने थापाले त्रिदेबी संगीत विद्यालय दार्जीलिङबाट संगीतको औपचारिक शिक्षा हासिल गरेर सन् २००० देखि गाउन शुरू गरेका हुन् । उनको संगीतको पहिलो कदम यहि गीतबाट शुरू भएको हो: हेरौं गीतको अंश-

म मरिगए तिमी नरूनु

चाहाने तिमीलाई धेरै होलान

नयाँ साथी रोज्नु

एउटा साथी रोज्नु ।

 

भोली कस्ले देखेको छ

मलाई पर्खालले छेकेको छ

म फर्की नआए तिमी नरूनु

नयाँ साथी रोज्नु, एउटा साथी खोज्नु

सम्झना बनि मैले सताए

आफैलाई तिमी सम्हाली दिनु …….।

सुदर्शन तामाङको शब्द र संगीत रहेको यो गीत प्रबल थापाले पहिलो गीतको रूपमा रेकर्ड भएको थियो । अल ईन्डिया रेडियो आकाशबाणीबाट स्वर परिक्षण पास गरेका थापाले हालसम्म नेपाली र हिन्दी गरेर लगभग डेढसयको हराहरीमा गीतहरू गाईसकेका छन् र कतिपय गीतहरूमा संगीत पनि भरेका छन् । उनले ‘माया’, ‘कल्पना’, ‘Emblaze, ‘Love Road’, ‘परिचय’, ‘उन्मुक्ति’, ‘उपशना’, ‘Eternity’, ‘My Dream’, ‘आश्रृता’, ‘ट्राफिक’ नामक ११ बटा गिती एलबम निकाली सकेकाछन् । जसमध्ये करिब १० वटा गीतहरूको म्यूजिक भिडियो बनेका छन् । ‘म मरिगए तिमी नरूनु’, ‘क्या मजा आउँछ’, ‘मार्यो नि मायाले’, ‘फेसबुक’, ‘Let’s twist’, र (हिन्दी) ‘दिलकी बाते’ बोलको गीतहरू उनका अधिक चर्चित गीतहरू हुन् । पछिल्लो समय उनले चलचित्र ‘ईच्छा’को ‘मेरो निम्ति जिउछु तिमी भन’ बोलको युगलगीत गायीका संगीता गुरुङसँग गाएका छन् ।

यसैगरी उनले टेली चलचित्र-सिनेमा- यहाँ यस्तै छ, तुवालो, नयाँ पुरानो, दोषी को, तिमी र म, मालरोड, भाग्य बिधाता, निक्की एउटा तितो कथा लगायतमा पार्स्व गीत गाएका छन् ।

हाल उनि “मनिष” बोलको गीतको म्यूजिक भिडियोको छायंकनमा जुटेका छन् । गीतकार अनिर तामाङको शब्द र ईजाज अलिको संगीत रहेको उक्त म्यूजिक भिडियोको छायंकन काठमाण्डौमा गरिएको छ । तेन्जिङ भोटियाले निर्देशन गरेको म्युजिक भिडियोमा सन्तोष थापा र ओसिस के.सी.को मूख्य भूमिका रहेको छ ।

संगीतलाई आफ्नो कर्मको रूपमा अगालेका प्रबलले गीत संगीत सृजना गर्नुको साथै त्रिदेबी संगीत विद्यालयमा संगीत अध्यापन गराउने काम पनि गर्दछन् । हालसम्म उनले दार्जीलिङ, कालिम्पोङ, सिलगुडी, अरूणान्चल प्रदेश, आसाम, सिक्किम, डुवर्स, भूटान, नेपाल, सिङगपुरमा कन्सर्ट प्रस्तुत गरिसकेका छन् । उनले गायन तर्फ (गौरी शंकर संस्था नोर्थ बेंगाल फिल्म फेयर अवार्ड) मा बेष्ट सिङ्गर अवार्ड समेत हात पारिसकेका छन् ।

नाम र काम दुवै प्रबल रहेको ‘प्रबल थापा’ नेपाली गीत संगीतको श्रीबृद्धिको क्षेत्रमा उदारणीय नाम हो । उनको सांगितिक यात्रा अनवरत रूपमा निरन्तर अगाडि बढि रहोस् र उनले सर्बथा सिखर चुमिरहुन् ।

शुभकामना ।

 

यस लेखका लेखक हङकङका कवि तथा समाजसेवी हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार