देवेन्द्र खेरेस, बेलायत
समय–पाइलाहरू गन्दागन्दै
तिमीसँग भेट्छु भन्दाभन्दै
बितिसकेछन् ऋतुहरू ।
तिमीलाई
बिर्सिनँ पनि सकिनँ
बिर्सिएपछि त
संसार अँध्यारिँदो रहेछ
तिमीलाई
सम्झिँरहन पनि सकिनँ
सम्झिँरहँदा त
पीडाको रापले झन् झन् पोल्दोरहेछ
सम्झना र बिर्सनाको उजाड बगरबीच
म एक आहत प्रेमी
बगाइरहेछु प्रेमनदी ।
तिम्रो यादका प्रत्येक ताता बुँदहरू
जम्मा भएर मुटुको हत्केलामा
आँखाको मूल फुट्यो आज अचानक
र अश्रुजल–प्रवाहमा बग्दै बग्दै म…
घरि छाँगा भएर खस्दै छु
घरि दह बनेर जम्दै छु
घरि बगरमा बिलाउँदै छु ।
तिमीलाई भेट्न नसक्नुको पीडा
तिमीलाई देख्न नसक्नुको तृष्णा
तिमीसित बोल्न नपाउनुको छटपटी
यो थकान मेटाउने
न छ कुनै चौतारी
यो भाकलको फूलपाती चढाउने
न छ कुनै देउराली
कुनै भीड या एकान्तमा
शहरको चोक, बजार
या गाउँका गोरेटाहरूमा
तिम्रो पदचिन्ह कतै नभेटेपछि
तिम्रो आवाजको थुँगा कतै नफुलेपछि
घाइते हृदयको कागजमा
आँसुको मसीले तिमीलाई
लेख्दै छु प्रेमपत्र ।
इतिहास हुनुअघि
म हाम्रो प्रिय अतीतलाई
वर्तमानसँगै आत्मसात गर्न चाहन्छु
जीवनका घुर्मैला यादहरू
तिम्रै नाममा सँगाली दिन चाहन्छु
प्रिय !
तिम्रो नाममा आज
यो भिजेको एकान्तको हृदय–पानामा
लेख्दै छु अन्तिम प्रेमपत्र ।
कोरोना भाईरस बिरुद्ध बगैंचा डट फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता ।
संयोजन: मगेन्द्र राई ।