कोराना कहरका बीच ९५ औं साहित्य श्रृंखला

  टोपबहादुर याक्खा

२८ जुन, हङकङ– विश्वव्यापी कोराना कहरका बीच कोराना कहर विशेष सृजना वाचन तथा समीक्षा गर्दै ९५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित साहित्यकारहरु लाल बहादुर गुरुङ, पूर्णिमा शाह, रमण गुरुङ, टी.बी. याक्खा, बिसु सम, सुनिता गिरी, गीता अधिकारी, आर्यन भण्डारी लगायतले आ–आफ्ना सृजनाहरु वाचन गरेका थिए भने दाजु गुरुङ, बज्र कुुमार राई तथा नरेन्द्र गुरुङद्धारा सृजना वाचन संगै अन्य स्रष्टाहरुद्धारा वाचित सृजनाहरु माथि आफ्नो भनाई समेत राखेका थिए ।
कोरानाका कारण तीन महिना सम्म स्थगित गरिएको भएता पनि वर्तमान हङकङको परिस्थिति सामान्य बन्दै गएकाले श्रृंखलालाई निरन्तरता दिइएको बताउँदै निकट भविश्यमै श्रृंखला भाग–५ पुस्तक प्रकाशन एवं विमोचन संगै १०० औं श्रृंखला विशेष रुपमा मनाउँन गइरहेको जानकारी सहित संयोजक गिरीले सहयोगका लागि सबै पक्षलाई आग्रह गरिन् ।
श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईद्धारा संचालन गरिएको औपचारिक कार्यक्रम पश्चात नेपालीहरुको विशेष पर्व असार पन्ध्रलाई दहि च्युरा खाएर मनाइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाले विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा साहित्यिक स्रष्टाहरुलाई पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार