९७ औं साहित्य श्रृंखला राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे प्रति समर्पित

  टोपबहादुर याक्खा

३० अगष्ट, हङकङ– १८ अगष्ट २०२० मंगलबार एकसय एक वर्षको उमेरमा असामयीक निधन हुनु भएका राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे प्रति श्रृद्धाञ्जली अर्पण सहित वहाँका र वहाँप्रति समर्पित रचनाहरु वाचन गर्दै कोराना कहरका बीच भर्चुअल विधिबाट आयोजित ९७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।
कार्यक्रमको पहिलो चरणमा श्रृंखलाका सह–संयोजक समेत रहेका चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले स्व.घिमिरेको संक्षिप्त परिचय राखेका थिए । त्यस लगत्तै उनैद्धारा चित्रित स्व.घिमिरेको तस्विरमा पुष्पगुच्छा चढाउँदै एक मिनेट मौनधारण सहित स्व.घिमिरे प्रति कार्यक्रममा सहभागी सबैले श्रृद्धाञ्जली अर्पण गरेका थिए ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दोस्रो चरणमा भने साहित्यकारहरु दाजु गुरुङ, भुपेन्द्र चेम्जोङ, बज्र कुमार राई र नरेन्द्र गुरुङले नेपाली भाषा तथा साहित्यको फाटमा राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरेले दिनु भएको योगदानको चर्चा गर्दै रचनाहरु वाचन गरेका थिए । त्यसै क्रममा साहित्यकारहरु गीता अधिकारी, चन्द्र मादेन, पूर्णिमा शाह, आर्यन भण्डारी, रमण गुरुङ, टी.बी. याक्खा लगायतले समेत स्व.घिमिरे बारे बोल्दै वहाँका र वहाँप्रति समर्पण गर्दै रचिएका रचनाहरु वाचन गरेर सुनाएका थिए ।
कोरानाको महामारीले गर्दा हङकङ सरकारद्धारा तोकिएको विभिन्न नियमहरुका कारण प्रत्यक्ष जमघट भएर कार्यक्रम संचालन गर्ने अवस्था नभएता पनि नयाँ प्रविधि जुम मिटिङमा आवद्ध भएर श्रृंखलालाई निरन्तरता दिन उपस्थित सम्पूर्ण साहित्यकारहरुलाई धन्यवाद सहित स्व.घिमिरेप्रति श्रद्धासुमन स्वरुप उनैका “फूलको थुङ्गा…” बोलको गीत गाउँदै श्रृंखलाकी संयोजक सुनिता गिरीद्धारा कार्यक्रमको अन्त्य भएको घोषणा गरेकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाले विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा साहित्यिक स्रष्टाहरुलाई पुरस्कृत समेत गर्दै आइरहेको छ भने आगामी १०० औं श्रृंखलालाई विशेष रुपमा मनाउँने तयारीमा लागिरहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार