हङकङको आगोलागी र यसले निम्त्याएका प्रश्नहरु

  टोपबहादुर याक्खा

१९ नोभेम्बर, हङकङ– गत आइतबार साँझ जोर्डन, क्यान्टोनरोडस्थित ५६० बिल्डिङको एक तलामा रहेको नेपालीद्धारा संचालित जिरे खुर्सानी रेष्टुरेण्टमा बर्थ डे मनाउँने क्रममा अकास्मत अगोलागी हुँदा ९ वर्षिय बालक सहित ७ जनाको मृत्यु तथा ११ जना घाइते हुने गरी भएको घटनाले सिंगो नेपाली समुदायसंगै एक प्रकारले पुरै हङकङ शोकमग्न भएको छ । घटनास्थलमा हङकङकी कार्यकारी प्रमुख क्यारी लामले समेत भ्रमण गरि सकेकी छिन् ।


तिनै मृतकहरुको सम्झना तथा घाइतेहरुको सिघ्र श्वास्थ्यलाभको कामना गर्दै हिजो बुधबार साँझ नेपाल महावाणिज्यदुतावास, एन.आर.एन.ए. हङकङ, हङकङ नेपाली महासंघ, आदीवासी जनजाती महासंघ, नेपाल च्याम्बर अफ कमर्स र नेपाली वैचारिक महासंघद्धारा संयुक्त रुपमा घटनास्थलमा नै शोकसभाको आयोजना ग-यो । उक्त शोकसभामा सयौंको संख्यामा नेपाली, गैरनेपाली सर्वसाधारण तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने आउँने आइतबार हङकङ नेपाली महासंघले याउ मा तेई कम्युनिटी हलमा छुट्टै शोक सभाको आयोजना समेत गर्न गइरहेको छ ।

घटनाक्रम

तिहारको अवसर पारेर आफ्नो ३ वर्षिय छोराको जन्मदिन मनाउँन बाग्लुङका युवराज कँडेल परिवार तथा आफन्तजनहरु जिरे खुर्सानी रेष्टुरेण्टमा भेला भएका थिए । जन्मदिन मनाउँने क्रममा करिब साँझको ८:३० बजे अचानक रेष्टुरेण्टमा भिषण आगोलागी हुदा मृत्यु हुनेहरुमा युवराज कँडेल र उनकी १३ वर्षिया छोरी कीर्तिका कँडेलका साथै युवराजका ज्वाँई राजु नेपाल र ९ वर्षिय भान्जा रायन नेपाल समेत रहेका छन् । यसरी हेर्दा एकै परिवारका ४ जनाले ज्यान गुमाउनु पर्यो । त्यस्तै गरी मृत्यु हुनेहरुमा क्लब संचालक बिनिता तामाङ र त्यहि कार्यरत अनिता निरौला तथा शेर बहादुर गुरुङ समेत रहेका छन् ।
दीपावलीमा बालेको क्याण्डल साउण्ड प्रुफ फर्ममा सल्किए पछि पुरै रेष्टुरेण्टमा आगोलागी भएको घाइतेहरुले बताएका छन् ।
रेष्टुरेण्टका संचालक तथा मृतक बिनिता तामाङको पति समेत रहेका मुकेश श्रेष्ठ, ३ वर्षिय बर्थ डे ब्वाई लगायत केही घाइतेहरु ट्वाइलेटको झ्यालबाट हाम फालेर बाच्न सफल भए भने रेष्टुरेण्ट भित्रै थुनिएका बाँकी घाइते तथा मृतकको लास फायर सर्भिसले उद्धार गरेको थियो ।

मृतक तथा घाइतेहरुको नाम

उक्त घटनामा परि मृत्युहुनेहरुमा युवराज कँडेल, कीर्तिका कँडेल, राजु नेपाल, रायन नेपाल, बिनिता तामाङ, अनिता निरौला र शेर बहादुर गुरुङ रहेका छन् । त्यस्तै गरी घाइते भई हाल हस्पिटलमा उपचारत हुनेहरुमा निला राई, गिता कँडेल, मुकेश श्रेष्ठ, हस्त माया धिमाल राई, सुवित्रा थापा, कृष्ण बहादुर कँडेल, देबकी कँडेल, सुरक्षा कँडेल, सालिग्राम कँडेल र आङ्ग लाक्पा रहेका छन ।

किन भयो यति ठूलो क्षति

अवैध रुपमा खोलिएको उक्त रेष्टुरेण्ट एक त रेसिडेन्सल त्यहि पनि पुरो बिल्डिङमा रहेको थियो । आफैमा अवैध रेष्टुरेण्ट भएकाले त्यहाँ कुनै पनि सरकारी सुरक्षाका मापदण्डहरु पुरा गरिएको थिएन । प्रहरीले छापा मार्ने डरले २ लेयरको ढोका त्यही पनि सामान्यतः रेस्टुरेण्टको स्टाफ बाहेक अरुले भित्रबाट समेत खोल्नै नसक्ने गरी फिक्स गरिएको घटना अघी रेस्टुरेण्ट जाने ग्राहकहरु बताउँछन् । रेसिडेन्सल बिल्डिङ भएकाले अन्य तलाका रेसिडेण्टहरुले कम्प्लेन गर्छन भनेर साउण्ड प्रुफका लागि रेष्टुरेण्टको ढोकाका साथै भित्ताहरुमा समेत साउण्ड प्रुफ फर्म राखेको हुंदा पहिले ढोकाबाटै आगो सल्किए पछि ढोका उघारेर भाग्न नसकिएको देखिन्छ । आपतकालिन अवस्थाको लागि कुनै पनि इमर्जेन्सि इक्जिट नहुनु, स्प्रिङकल जडान नहुनुका साथै फायर एक्स्टिङ गुइसर समेत नराखेको कारण आगोलागी हुदा ठूलो क्षति ब्यहोर्नु परेको सहजै अनुमान लगाउँन सकिन्छ । त्यस माथि मृत्यु तथा घाइते हुनेहरुमा पनि आगोले डढेर भन्दा पनि त्यही फर्मबाट निस्किएको कडा कार्बनडाइअक्साइडको कारण भएको खबरहरु बाहिरिएका छन् ।

सहयोगको ओइरो

घटना लगत्तै मृतका परिवार तथा घाइतेहरुको उपचारका लागि हङकङको परोपकारी संस्था सिक सिक युनले १० लाख हङकङ डलर सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै गरी हङकङका टाइकुन ली का सिंले ली का सिं फाउण्डेसन मार्फत मृतकका परिवार तथा घाइतेहरुको उपचारका लागि ३० लाख हङकङ डलर सहयोग गर्ने निर्णय गरेको छ भने पोक ओई हस्पिटलले समेत मृतकका परिवारलाई ३० हजार हङकङ डलर र घाइतेहरुका लागि २० हजार डलरका दरले सहयोग गर्ने बताएको छ । अग्नि पीडितहरुको सहयोगका लागि हङकङ सरकारमा रहेको डी.ए.डी. पार्टीले सामाजिक सञ्जालहरुमा नै सहयोगको अपील गर्दै बैंक एकाउण्ट समेत राखेको छ भने अर्को नेपाली संस्था हिन्सले समेत सहयोगका लागि अपील गर्दै सामाजिक संजालहरुमा बैंक एकाउण्ट राखेको छ । त्यस्तै अन्य संघसंस्था तथा अग्नि पीडितहरुका आफन्त तथा साथी भाईहरुले समेत औपचारिक अनौपचारिक रुपमा सहयोगको हातहरु अगाडी बढाइरहेको अवस्था रहेको छ ।
साथै ७ जना मृतकहरुको अन्तिम श्रद्धाञ्जली एवं दाहसंकार निःशुल्क उपलब्ध गराईदिन फरेनरल सर्भिस राजी भएको हङकङ नेपाली महासंघ मार्फत पहल गरिरहेकी महासंघकी सल्लाहकार एवं सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रीता गुरुङले जानकारी दिएकी छिन् ।

सामाजिक संजालहरुमा नेपालीहरु बीच एक आपसमा दोषारोपण

चलनचल्तिको भाषामा दुले रेष्टुरेण्टको नामले चिनिने नेपालीद्धारा अवैध (हङकङ सरकारको नियम अनुसार कुनै पनि लाइसेन्स नलिई) संचालित जिरे खुर्सानी रेष्टुरेण्टमा घटेको उक्त कहाली लाग्दो घटनाले नेपाली समुदायमा एक प्रकारको तरंग ल्याइदिएको छ । कतिपयले अवैधरुपमा खोलिएको रेष्टुरेण्टमा सुरक्षाका कुनै पनि मापदण्डहरु पुरा नभएकाले यत्तिका क्षति ब्यहोर्नु परेको भन्दै जिरे खुर्सानी जस्तै नेपालीहरुले खोलेका धेरै अवैध रेष्टुरेण्टहरु तत्काल बन्द गर्नु पर्नेमा जोड दिएका छन भने कत्तिले आफ्नै गाला आफ्नै लपेटा हुने तर्क सहित पीडामा वैध अवैधको वकालत गर्नु भन्दा पनि पीडितहरुको सहयोगका लागि एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । कतिले भवितब्यमा घटेको घटनालाई तोडमोड गरी समाजका अग्रज भनौदाहरुले आफ्नो राजनैतिक विज्ञापनको आधार बनाईरहेको आरोप लगाएका छन् भने कतिले विशेष गरी जोर्डन र याउ मा तेई ईलाकामा पैसा कमाउँने होडमा जिरे खुर्सानी जस्तै अवैध रुपमा खुलेका दर्जनौं रेष्टुरेण्टहरुले विगत देखिनै विभिन्न प्रकारका सामाजिक समस्याहरुले ल्याइरहेको र यो घटनाबाट थप पाठ सिकेर अगाडी बढ्नु पर्ने तर्क दिइरहेका छन् ।
अझ केहि समाजका अगुवाहरुले स्थानिय टी.भी. तथा समाचारपत्रहरुमा जिरे खुर्सानी अवैध रुपमा खोलिएको रेष्टुरेण्ट भएको र यस्ता रेष्टुरेण्टहरु माथि हङकङ सरकारले कडा कदम चालेमा भविश्यमा यस्ता घटनाहरु नदोहोरिने तर्क सहितका अन्तर्वार्ताहरु दिए पछि सामाजिक संजाल झनै तातिएको देख्न सकिन्छ ।
केही वर्ष पहिले जोर्डनकै उसुङ स्ट्रिटमा यस्तै अवैध रुपमामा संचालनमा रहेको एक नेपाली रेष्टुरेण्टबाट शुरु भएको नेपाली–नेपाली बीचको झगडा भूँई तलमा झर्दासम्म तरवार हानाहानको अवस्थामा सम्म पुग्दा जोर्डन वरिपरीका त्यस्ता अवैध रेष्टुरेण्टहरु हङकङ प्रहरीको तारो बन्न पुगेको थियो ।

फोटो– टी.बी. याक्खा तथा टंक सम्बाहाम्फेको फेसबुक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार