हङकङ नेपाली महासंघले विविध कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनायो

  टोपबहादुर याक्खा

१८ अप्रिल, हङकङ– हङकङस्थित नेपाली संघ संस्थाहरुको छाता संगठनको रुपमा रहेको हङकङ नेपाली महासंघले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपाली नयाँ वर्ष २०७८ मनायो ।
स्थानिय सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरु संग समन्वय गरी जोर्डनस्थित याउ चिम मोङ मल्टिकल्चरल एक्टिभिटी सेन्टरको हलमा दिनभर आयोजना गरिएको कार्यक्रममा कोभिड–१९ रोग, यसले गर्ने असर तथा हङकङ सरकारद्धारा निःशुल्क प्रदान गर्दै आइरहेको कोभिड–१९ टेष्ट, कोभिड–१९ विरुद्धको भ्याक्सिन तथा भ्याक्सिन लगाउदाका फाइदाहरु बारे स्थानिय चाइनिज डाक्टरहरुको सहयोगमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो ।
हङकङ नेपाली महासंघद्धारा काउलुन वेष्ट च्यारेन एशोसिएसन लिमिटेड, याउ चिम मोङ डिस्ट्रिक अफिस र न्यू टाउन मेडिकल संग समन्वय गरी आयोजना गरिएको उक्त कार्यक्रममा निःशुल्क श्वास्थ्य परिक्षण गरिनुका साथ नयाँ वर्षको अवसरमा कार्यक्रममा उपस्थित सबैलाई आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।
विगत लामो समयदेखि महासंघ अन्तर्गत रहेर महासंघकी निवर्तमान अध्यक्ष समेत रेहकी रिता गुरुङद्धारा सी.एस.टी.एन. प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवा सुविधाहरु दिदै आएको भएता पनि अन्य स्थानिय सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुसंग समेत आवश्यक समन्वय गर्दै नेपाली समुदायलाई सकेसम्म धेरै भन्दा धेरै सेवा सुविधाहरु दिन हङकङ नेपाली महासंघ सदैव तत्पर रहेको महासंघका अध्यक्ष टंक रानाले बताए ।
साँझ भने जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा महासंघ तथा अन्तर्गतका विभिन्न संघसंस्थाका पदाधिकारीहरु बीच एक–आपसमा शुभकामना आदनप्रदान गर्दै नयाँ वर्ष मनायो ।
महासंघका अध्यक्ष टंक राना सभापति र नेपाली महावाणिज्यदुताबास हङकङका महावाणिज्यदुत उदयबहादुर राना मगर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा केहि पहिले मात्रै नेपाल सरकारद्धारा ‘सुप्रबल जनसेवा पदक’ द्धारा सम्मानित महावाणिज्यदुत उदयबहादुर राना मगर र ‘प्रबल जनसेवा श्री (चतुर्थ) पदक’ द्धारा सम्मानित हङकङबासी तेक्वान्दो खेलका ग्राण्ड मास्टर तथा परोपकारी संस्था ‘वि विल राईज’ का संस्थापक अध्यक्ष तुल्सि कुमार गरुङलाई सम्मान समेत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार