हङकङ साहित्य श्रृंखलाको नेतृत्वमा रमण गुरुङ र गिता अधिकारी

  टोपबहादुर याक्खा

२५ अप्रिल, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको नवौं वार्षिक उत्सव कार्यक्रम मार्फत संयोजकमा रमण गुरुङ र सह–संयोजकमा गिता अधिकारी चयन भएका छन् ।
श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षता र हङकङका महावाणिज्यदुत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यतामा उद्धघाटनसंगै शुरु भएको पहिलो चरणको कार्यक्रममा हङकङका ५३ जना साहित्यकारहरुको विभिन्न विधाका सृजनाहरु समेटिएको कृति ‘श्रृंखला–५’ लोकार्पण गरिएको थियो ।
सोही क्रममा हङकङमा रहेर नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान दिदै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने साहित्यिक व्यक्तित्वहरुमा नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार तर्फ कमल पौड्याल र स्रष्टा र सृजना पुरस्कार तर्फ ‘गोधूलिको किनारा’ का सर्जक डोम रानालाई नगद १,१११ हङकङ डलर सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । त्यस्तै गरी पछिल्लो समय हङकङबाट प्रकाशित कृतिहरु क्रान्ति सुब्बाको ‘हङकङभित्र’, डम्बरकृष्ण श्रेष्ठको ‘नेपाली प्रवासनः नियति र रहर’, नरजित राईको ‘नसकिने बाटो’ र शिव प्रधानको ‘रुदिना’ संगै पत्रकारद्धय जगत अम्बु गुरुङ (एचकेनेपालडटकम) र देवमान लिम्बु (एनएचडीडी स्टुडियो) लाई समेत ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । सम्मानकै क्रममा नेपाली महावाणिज्यदुतावास हङकङ, हङकङ नेपाली महासंघ, एन.आए.एन.ए., पत्रकार किसन राई लगायत श्रृंखलाका संरक्षक, सल्लाहकार, संयोजक र सह–संयोजकहरुलाई समेत स–सम्मान मायाको चिनो प्रदान गरिएको थियो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्टको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदुत उदयबहादुर रानामगर, एन.आर.एन.ए.हङकङकी अध्यक्ष टिका गुरुङ, महासंघका अध्यक्ष टंक राना, तमु ट्यो ह्यूलका अध्यक्ष विजय कुमार गुरुङ, साहित्यकार मोति चाम्लिङ, श्रृंखलाका सल्लाहकारहरु चन्द्र मादने ‘आन्छन’, डी.बी.पालङ्वा, लालबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए भने विमोचित कृति ‘श्रृंखला–५’ माथि साहित्यकार कमल पौड्याल र श्रृंखलाका संरक्षक दाजु गुरुङले टिप्पणी गरेका थिए ।
कार्यक्रमका सभापती एवं श्रृंखलाका संयोजक सुनिता गिरीद्धारा धन्यवाद मन्तब्य राख्दै समापन भएको कार्यक्रममा बज्र कुमार राई, सन्ध्या क्षेत्री, किन्दर राई, सुनिस्का याक्खा, स्ट्याण्लि मावोहाङ, गिता अधिकारी, लालबहादुर गुरुङ, नारायण भण्डारी लगायत दर्जन बढि साहित्यकारहरुद्धारा सृजनाहरु वाचन तथा गायीकाहरुद्धय मञ्जु थापा र विनि लामाद्धारा गीत समेत गाएर कार्यक्रममा थप रचनात्मक तथा मनोरञ्जनात्म्क बनाएका थिए ।
दोस्रो चरणको कार्यक्रममा साहित्य श्रृंखलाको आठौं संस्करणको संयोजक र सह–संयोजकका रुपमा क्रमशः रमण गुरुङ र गिता अधिकारी सर्वसम्मतबाट चयन भएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको साहित्य श्रृंखला हङकङमा रहेका आधा दर्जन बढि साहित्यिक संघसंस्थाहरु मध्ये सबै भन्दा सक्रिय साहित्यिक संस्थाको रुपमा रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार