१०१ औं साहित्य श्रृंखलामा सम्पन्न

  टोपबहादुर याक्खा

३० मे, हङकङ– सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०१ औं हङकङ साहित्य साझा श्रृंखला विशेष रुपले सम्पन्न भयो ।
साहित्य श्रृंखलाका नव–संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डनस्थित नयाँ पेजको कार्यालयमा आयोजित कार्यक्रमको शुरुवात मै श्रृंखलाका संयोजक रमण गुरुङले उपस्थित सम्पूर्ण सर्जकहरुलाई सृजना लेखन कार्यमा सबैको लगाभ रहोस भन्ने शुभकामना सहित कलम र नोटबुक उपहार स्वरुप प्रदान गरेका थिए । सोहि क्रममा श्रृंखलाको ९ औं वार्षिकोत्सवलाई सफल पार्न आर्थिक सहयोग गर्ने सारयस गिरी फाण्डेशन काठमाण्डौंको प्रतिनिधी पूर्णिमा शाह र श्रृंखलाका संक्षक राज कुमार राईलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
श्रृंखलाका सह–संयोजक गीता अधिकारीद्धारा संचालित कार्यक्रममा कार्यक्रम संचालिकासंगै उपस्थित साहित्यकारहरु चन्द्र मादेन ‘आन्छन’ डी.बी. पालुङ्वा, सुनिता गिरी, बलबहादुर थापा, डोम राना, कमल पौड्याल, लोक प्रसाद दाहाल, बबिता राई, नरजित राई, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, विष्णु मुखिया, किन्दर राई, नारायण भण्डारी, नविन सुहाङ, लालबहादुर गुरुङ लगायतले सृजनाहरु वाचन गरेका थिए भने गायिकाद्धय मञ्जु थापा र बिन्नि लामाले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
श्रृंखलाका संरक्षकद्धय दाजु गुरुङ र राज कुमार राईद्धारा कार्यक्रममा वाचित सृजनासंगै समग्र कार्यक्रम बारे टिप्पणी राखेका थिए भने श्रृंखलाका नव–संयोजक रमण गुरुङद्धारा आफूलाई ९ औं वार्षिकोत्सव कार्यक्रम मार्फत संयोजकको रुपमा चयन गरेकोमा श्रृंखला परिवार प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको उत्तिकै माया र साथ पाउनेमा विस्वस्त रहेको बताएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको साहित्य श्रृंखलाले गत महिना मात्रै विभिन्न स्रष्टाहरुलाई सम्मान तथा ‘श्रृंखला–५’ पुस्तक प्रकाशन संगै आफ्नो ९ औं वार्षिकोत्सव मनाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार