नेपाल फाइनान्सको ९ औं वार्षिक साधारणसभा सम्पन्न

  टोपबहादुर याक्खा

३० मे, हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेडद्धारा कोभिड–१९ को महामारिका बीच पनि सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गर्दै ९ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो ।

बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा फाइनान्सका महाप्रबन्धक शशीमदन राईद्धारा जानकारी गराइए अनुसार ५० जना सेयर धनी रहेको फाइनान्सको सेयर धनी पूँजी १३ मिलियन सहित गरी हाल कुल पूँजी ६२ मिलियन हङकङ डलर रहेको छ । आकर्षक व्याजदरमा वचत तथा सहुलियत तवरले विभिन्न ऋणहरु प्रवाह गर्दै आएको फाइनान्सले २०२०/२०२१ मा सम्पूर्ण खर्च कटाएर ११ लाख डलर खुद मुनाफा आर्जन गर्दै सम्पूर्ण सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गर्यो ।
नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदय बहादुर रानामगर रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, च्याम्बर्स अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, बगैचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार लगायत रहेका थिए ।
नेपाली राष्ट्रिय गानको धुनसंगै अतिथिहरुद्धारा स्याम्पेन फोडेर उद्धघाटन गरिएको कार्यक्रममा अतिथिहरुद्धारा शुभकामना मन्तव्य राख्दै हङकङबासी नेपालीहरु केबल सेक्युरिटी गार्ड र कन्स्ट्रक्सनमा लेबर काम मात्रै गर्दैनन् ब्यापारको क्षेत्रमा पनि उत्तिकै अगाडी बढिरहेका छन् भन्ने एउटा गतिलो उदाहरण नेपाल फाइनान्स रहेको भन्दै सम्पूर्ण टिमको प्रशंसा गरेका थिए ।
२००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय रुपमा कारोबार गर्दै २०१३ बाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था नेपाल फाइनान्सले हाल हङकङमा रियल स्टेट, अल्फा रेमिट्यान्स, बगैचा तथा हेल्लो किचन रेष्टुरेण्ट संचालनमा ल्याउनुका साथै निकट भविश्य मै नेपालमा समेत लगानी गर्ने सोचका साथ अगाडी बढिरहेको फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार