अलि लामो समय ग्याप भएको थियो । ‘एक थुंगा सेतो फूल हातमा लिएर हुमहाम स्थित शवगृहको शोकसभा हलमा सामेल नभएको‘ । लाग्दछ– यस्तो दीन नआईदिए हुन्थ्यो ! तर बिधिको बिडम्बना आफूले नचाहेर पनि कतिपय अप्रिय लाग्ने कुराहरू जीवनमा ब्यहोर्न पर्ने हुन्छ, स्वीकार्योक्ति गर्नुपर्ने हुन्छ । हो ! त्यसै नियतिलाई आत्मसात गर्दै मेरो अनन्य मित्र श्री गंगाराम राईज्यूको सासुआमा तथा प्रीय बहिनि संगिता राईको ममतामयी आमा स्व. देउ कुमारी राईको श्रद्धान्जली तथा अन्ततेष्टी कार्यक्रममा सहभागि हुन रबिना र म गत १ अगस्त आईतबारको बिहान करिब ११ः१५ बजे हुङहाम स्थित शवगृहको आसपासमा पुगेका थियौं । अलिक टाढाबाटै लहरै राखिएको फूल पसलहरूमा नेपालीहरू जस्ता लाग्ने मानिसहरू चलमलाएका देखिन्थे । हामी क्रमशः ती पसलहरूको निकट हुँदै गैरहेका थियौं । हो– उनिहरू हाम्रै समुदायका मान्छेहरू रहेछन् । सबैले फूलको जोहो गर्दै गरेका देखिन्थे ।
हामीहरू पनि फूलको जोहो गरेर हातमा १–१ थुंगा फूल लिएर लाईनबद्ध भएर सिढी चढ्न थाल्यौं र शवगृहको दोस्रो तला पुगेर नाम दर्ता गराउँदै हलमा प्रवेश गर्यौं ।
हामी पुग्दा हलको दुई तिहाई भाग भरिसकेको थियो । अधिकांश मानिसहरू चिनजानका भएपनि मास्क (मुखौटो) लगाएको कारणले ठम्याउन कठिन परिरहेको थियो । क्रमशः हल भरिंदै गएको थियो, तथापि सबै चुपचाप रहेकोले एक तमासले सन्नाटा छाएको थियो । जब शव बाकसलाई बाहिर के निकालिएको थियो… अचानक क्रन्दनयुक्त रोदनको स्वरले हललाई स्तब्ध बनाएको थियो । हुन पनि हो.. जो आफूलाई मनपर्ने प्रिय र आदर्शको प्रतिमूर्ति ढल्दा, आफूलाई अति माया गर्ने ममतामयी आमालाई सदाको लागि गुमाउनु पर्दा कसलाई दुःख नलाग्ला? कसलाई भक्कानो नछुट्ला? कसको आँखाबाट बलिद्रधारा आसु नबग्ला?
मैले हेरिरहेको थिएँ.., सेतो मरून रंगको बस्त्र लगाएको र आफूलाई सम्हाल्न नसकी छटपटाउँदै ब्याकुल बनेर आसु बगाई रहने ति द्रबिभूत नारी अरू कोही नभएर आफ्नै अगाडि कफन भित्र चिर निन्द्रा निदाईरहनु भएकी ममतामयि आमा स्व. देउ कुमारी राईकी छोरी तथा शो़काकुल परिवारको सदस्य श्रीमति संगिता राई हुनुहुन्थ्यो । त्यस बखत त्यहाँ उपस्थित कतिपय महिलाहरू रोई रहेका थिए भने अरू प्रायः सबैको आँखा रसाएको देखिन्थ्यो । कदापि नब्यूझिने सर्तमा निदाई रहनु भएकी आमाको अनुहारलाई निहार्दै आमा..! आमा..! भनेर पुकार्दै रोएको कारूणिक त्यो स्वरले मेरो मानवीय समबेदनलाई एक तमासले मर्माहत बनाई रहेको थियो । तथापि म स्वर निकालेर रून भने सकिनँ, तर थाहै नपाई मेरा आँखाबाट दानाहरू झरिररेका थिए। मेरो अगाडिपट्टी बसेकी बहिनि दीर्घ र छेवैमा बसेकी मेम रबिनालाई पुलुक्क हेरेको.. उनिहरू पनि टिस्युले आँखा पुछ्दै थिए । सायद मानव समवेदन भनेकै यहि होला जो कसैलाई दुःख पर्दा स्वभावैेले दयाभाव जागेर आउने गर्दछ ।
बहिनि संगितालाई सबैले थुमथुमाई रहेपनि निरन्तर आसु बहाईरहेकी थियिन । रुवाईहरूको अनेको रूप र प्रकार हुन सक्छन । तर उनको यस रूवाईमा स्वर्यीय आमाप्रतिको आदरभाव थियो, सम्मान थियो, समर्पण थियो, विनम्रता थियो, पुकार थियो, अशिम मायाको गाथा थियो र आफ्नो आमालाई गुमाउनु परेको कटुि पिडा र दर्द थियो ।
हो.. रुवाई एउटा रस हो, जीवनको एउटा करूणामय रूप हो, संकेत हो, जसबाट केही न केही रहस्यमय अर्थ र भाव प्रकट भैरहेका हुन्छन् । मलाई लाग्दछ– रूनु एउटा नैसर्गिक अधिकार पनि हो जसको माध्यमबाट गरुङ्गो मनमा मडारिएर बसेका अनेकन उकुस–मुकस पिडा, दर्द, भय र बेदनालाई पखाल्दछ र केही हदसम्म मन हल्का हुन्छ । त्येसैले मनको कैलामैलालाई आसुले पखाल्न पाउँनु पर्दछ, मान्छेले धित खोलेर रून पाउँनु पर्दछ र यसलाई सबैले स्वीकार्नु पर्दछ ।
किराया हङकङ संस्थागत आयोजक र किरात राई साम्पाङ जुम्लेखाको संयोजनमा संचालित उक्त शोकशभालाई किराया हङकङका सचिव श्री राजेन्द्र राईले संचालन गर्दै कार्यक्रमलाई अगाडि बढाउनु भएको थियो । मुन्धुमको बचनहरू सुनाएर कार्यक्रम उठान गर्दै मृतकको पूर्ण परिचय सुनाईए पछि शोक धुन सहित उपस्थित सबैले एकमुष्ट १ मिनेट मौनधारण गरिएको थियो । आयोजक संस्थाका तर्फबाट अध्यक्ष श्रीमति चन्द्रका राईले मृतकको आत्मप्रति श्रद्धान्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नु भएपछि किरात राई मुन्धुम अनुसार कुबिमिद्वय श्री नारायण राई र श्री मैत्र कुमार राईले बिधिवत रूपमा आत्म जगाउने कार्य र क्रमिकरूपमा मृतकलाई पुष्पान्जलि, माटो र पानी अर्पण गर्ने कार्य सम्पन्न भएको थियो । ततपश्चात सबलाई समाधिस्थल तर्फ लैजाने क्रम चलेको थयो ।
म र रबिना सभाहलबाट बाहिरिएर मलामीका लागि ब्यबस्थापन गरिएको बसतर्फ गुज्रिरहेका थियौं । हामी बस चडेर पछिल्लो पट्टी रहेको खालि सिटमा बस्यौं । हामी पछिका ५–६ हार सिटहरू खालि नै थिए । केही बेरपछि बस बाटो लाग्यो । हामी मलामीहरूलाई बोकेर गुडिरहेको उक्त बस हरबर टनल (सुरुङ) पार गरेर बायाँ मोडिएपछि समुन्द्रको किनारै किनार हाईवे हुँदै चाईवान तर्फ हुईकी रहेको थियो । करिब आधा घण्टाको अन्तरालमा चाईवान स्थित समाधि स्थलमा पुगेका थियौं । अरू बाँकी बस र शव बहान बस हामी पुग्नु अधि नै पुगिसकेका थिए । हामी बसबाट ओर्लेर सामाधि गृहभित्र पस्दा कफिन बक्सलाई समाधि कक्षमा राखिएको थियो । पछाडि भित्तामा मृतकको तस्विर टाँसिएको थियो भने नजिकैको सानो स्टेजमा अन्तिम श्रद्धान्जलीको लागि धुप राखिएको थियो । कुबिमीद्वय नारायण साम्पाङ र मैत्र कुमार बान्तावाले शोकाकुल परिवारलाई शव अगाडि राखेर बिधिवत रूपमा आन्तिम संस्कार सम्पन्न गर्नु भएको थियो ।
जव समाधिस्तको निम्ति मृतकको छोरा–छोरिहरूलाई बिधुतिय बट्म दबाउन संकेत गरियो त्यसबेलाको कौराणिक माहौलले पुनः सबैको आँखा भिजेको थियो । जब बटम दबाएपछि शवको बाकस सर्दैसर्दै पर्दा पछाडि बिलिन भएको थियो । सोकाकुल पुरै आँसुमा डुबेको थियो हामी मलामीहरू भने मुकदर्शक बनेर साक्षि बसेका थियौं । यसरी स्वर्गीय आमा देउ कुमारी राईलाई अन्तिम बिदाई गरेका थियौं । सन् १९५१ मे २३ मा जन्म लिएर सन् २०२१ जुलाई १५ को दिन ७० वर्षमा एउटा संघर्षमय जीवन लिलाको अन्त्य भएको थियो ।
वास्तबमा मर्दाको मलामी र जिउँदाको जन्ती जानु भनेको अघोषित साँचि बस्नु रहेछ । जो काम पूरा गरेपछि हामी पुनः बसमा चढ्यौं । किनकी किराति मुन्धुम संस्कार अनुसर मलामीहरूलाई चोख्याउने काम बाँकी नै थियो । जसको निम्ति जोर्डन स्थित बगैंचा रेष्टुरेण्टमा अपरान्ह ३ बजे पुग्न अव्हान गरिएको थियो । बसमा पसेको केही छिनपछि घनघोर दर्कने पानी परिरहेको थियो । लाग्दथ्यो– हाम्रो समुदायको जनमानसले मान्दै आएको कहावत अनुसार ‘मृतकका आत्महरू रोईरहेका थिए‘ ।
तोकिएको समय पावन्दिलाई मिलान गर्नको निम्ति हामी बसभित्र बसेर करिव आधाघण्टा साबिक स्थानमा रोकिएका थियौंं । जब घडिले अपरान्ह २ः३० बजेको संकेत दिएपछि मेरो निकट बस्नु भएका संस्थाका सचिव राजेन्द्र राईले चालकलाई हिड्न भनेपछि बसले गन्तब्य तर्फ यात्रा तय गरेको थियो । समय ठिक ३ बज्दा बसले हामीलाई बगैंचा रेष्टुरेण्ट अगाडि उतारेको थियो । अघिल्लो सिटमा बसेको हुनाले म र रबिना नै सबैभन्दा पहिला बसबाट उत्रिएर बगैंचाको परिसर तर्फ लम्किदै थियौं । मूल गेटमै अगाडि कराईभरि सल्किरहेको रातो कोईला अम्खरामा पानी र तितेपाती लिएर बसेका रबि भाइ र उनका टिमले तितेपातिले पानी छर्केर कराईमा बलिरहेको कोईला नाधेर जानु भनेमुताबिक मलामी चोखिएर बगैंचा रेष्टुरेण्ट भित्र छिरेका थियौं । जहाँ मलामीहरूको लागि उपलब्ध खाजा पानी खुवाएर बिदा दिएपछि आ–आफ्नो बाटो लागेका थियौं ।
जब कुनै जीव जन्मिन्छ तब उसले मृत्युलाई पनि साथै लिएर आएको हुन्छ । अथवा जन्म पछि मृत्यु निश्चित छ, मृत्यु साश्वत छ, सत्य छ । एकदिन मरिन्छ भन्ने कुरा सबैलाई थाह छ । कहिले, कुनदिन र कसरि मरिन्छ भन्ने कुरा कसैलाई थाह हुन्न । सायद त्यही मृत्यु हुने मिति थाह नभएर होला, मान्छेले मृत्युलाई बिर्सिदिन्छ र दम्भि बनेर अनेक हथकण्डा मच्चाउँछ । स्वार्थि बन्छ, पाप, छल–कपट र कुकर्म गर्छ, सतकर्म गर्न अल्छि मान्छ र चोरिगर्छ, लुटपात गर्छ, गुण्डागर्दि गर्छ, डाका डाल्छ, धम्की र त्रास देखाएर हप्तावारी असुल्छ, परपिडक बनेर आत्म रत्तिलिन्छ र जीवनलाई नै दुर्पयोग गर्दै लाचार बनेर मृत्युको मुखमा पुग्छ । त्यसैले मृत्युलाई भूल्नु हुन्न । बाँचुन्जेल जीवन वरदानको अर्थलाई बुझेर आत्म सम्मानका साथ बाँच्ने र बचाउने काम गर्नु पर्दछ । आपसमा मैत्रिपूर्ण र सदभावले बाँच्नु पर्दछ । जीवनलाई दुर्पयोग गरेर होईन पूर्ण सदुपयोग गरेर मर्नु पर्दछ अनि मात्र जीउनु र मर्नु दुवैको अर्थ हुन्छ ।
अन्तमा स्व. आमा देउ कुमारी राईको आत्मको स्थाई चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु र प्रीय बहिनी संगिता राई लगायत शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
अस्तु ।
नरेश सुनुवार ‘ठूले‘
वान्चाई, हङकङ ।