साहित्यिक पदयात्रामा सुनिता गिरीको ‘माइत जाने बाटो’ सार्वजनिक

  टोपबहादुर याक्खा

२६ सेप्टेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको १०५ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा–२०२१’ को क्रममा सिङमुन वाटर रिजर्भर परिक्रमा संगै श्रृंखलाकी निवर्तमान संयोजक तथा सल्लाहकार सुनिता गिरीको कविता कृति ‘माइत जाने बाटो’ को दोस्रो संस्करण सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
पदयात्राको शुरुवातमै श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि एभरेष्ट पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक एवं साहित्य परिषदका अध्यक्ष किसन राई रहेका थिए ।
श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहद्धारा स्वागत मन्तव्य राखिएको कार्यक्रममा बालकवि सुनिस्का याक्खाद्धारा ‘माइत जाने बाटो’ बाट ‘बाबाको तस्विर’ शिर्षकको कविता वाचन गरेसंगै कार्यक्रमका अध्यक्ष रमण गुरुङ, प्रमुख अतिथि किसन राई, ‘माइत जाने बाटो’ की सर्जक कवि सुनिता गिरी, श्रृंखलाका संरक्षक दाजु गुरुङ, सल्लाहकारहरु चन्द्र मादेन ‘आन्छन’ , लालबहादुर गुरुङ, डी.बी. पालुङवा, पूर्णिमा शाह, दिपेन्द्र राईका साथै उपस्थित कवि, साहित्यकार एवं समाजसेवीहरु राजेन्द्र थापा, नरजित राई, हर्क राना, डोम राना, जुनु राना, सन्ध्या क्षेत्री, स्ट्याण्लि माबो, रोशन याक्सो, हिमेन राना, सरु राई, माया राई, पुष्पराज गुरुङ, भिम गुरुङ, विष्णु मुखिया, लगायतको हातबाट सामुहिक रुपमा ‘माइत जाने बाटो’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।
अतिथिहरुद्धारा ‘माइत जाने बाटो’ सार्वजनिक गरिएसंगै कृतिका सर्जक कवि सुनिता गिरीलाई खदा लगाएर सम्मान गरिएको थियो भने केहि पहिले मात्रै नेपाल सरकारद्धारा ‘जनसेवाश्री’ पदकद्धारा विभुषित कार्यक्रमका अतिथि समेत रहेका पत्रकार, साहित्यकार एवं समाजसेवी किसन राईलाई श्रृंखला परिवारको तर्फबाट खदा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको बीच–बीचमा मिठो गजल वाचनसंगै श्रृंखलाकी सह–संयोजक गिता अधिकारीद्धारा संचालन गरिएको कार्यक्रममा कवि तथा साहित्यकार दाजु गुरुङ, चन्द्र मादेन ‘आन्छन’ र डी.बी. पालुङवाले ‘माइत जाने बाटो’ कविता कृति माथि समीक्षा राखेका थिए भने उस्थित अन्य कवि तथा साहित्यकारहरु राजेन्द्र थापा, नरजित राई, लालबहादुर गुरुङ, नारायण भण्डारी, डोम राना, जुनु राना, रोशन याक्सो, आन्ना लगायतले ‘माइत जाने बाटो’ भित्रबाट तथा आफैले रचना गरि ल्याएका सृजनाहरु सुनाएका थिए ।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि किसन राईले ‘माइत जाने बाटो’ की सर्जक कवि सुनिता गिरीलाई बधाई दिदै हङकङमा उम्रिएका कयौं साहित्यिक संघसंस्थाहरुको नाम निशाना नभएता पनि साहित्य श्रृंखलाले भने वर्षौ देखि विभिन्न साहित्यिक कृयाकलापहरु गर्दै निरन्तरता दिइरहेकोमा श्रृंखला परिवार प्रति बधाई संगै आभार प्रकट गरेका थिए । सोही क्रममा ‘माइत जाने बाटो’ की सर्जक सुनिता गिरीले कार्यक्रम आयोजक साहित्य श्रृंखला, कार्यक्रममा उपस्थित महानुभाव लगायत ‘माइत जाने बाटो’ लाई माया गर्नु हुने हङकङ लगायत देश विदेशका पाठकहरु प्रति हार्दिक आभार व्यक्त गर्दै विगतमा ‘माइत जाने बाटो’ को पहिलो संस्करणको बिक्रिबाट आएको रकम सामाजिक सेवामा खर्चिएको र दोस्रो संस्करणको बिक्रिबाट आएको रकम पनि सामाजिक सेवामै खर्चिने बताएकी थिईन ।३२ वटा कविताहरु संग्रहित ‘माइत जाने बाटो’ को प्रथम संस्करण २०१८ मा हङकङमै विमोचन गरेकी थिइन ।

सृजना वाचनसंगै कार्यक्रमका संयोजक रमण गुरुङद्धारा ‘माइत जाने बाटो’ की सर्जक कवि सुनिता गिरीलाई बधाई दिदै साहित्य श्रृंखलाको १०५ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा–२०२१’ मा उपस्थित भएर सफल बनाईदिनु हुने सम्पूर्ण साहित्यिक मन, समाजसेवी तथा पत्रकारहरु प्रति आभार व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रम सकिए लगत्तै श्रृंखला परिवारद्धारा वितरण गरिएको लन्चबक्स खाएर सिङमुन वाटर रिजर्भर परिक्रमा पदयात्रा शुरु गरिएको थियो । पदयात्राको क्रममा ठाउँ–ठाउँमा फोटो सेसन तथा नाँचगानले गर्दा कार्यक्रम साहित्यिक संगै मनोरञ्जनात्मक समेत बनेको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि हङकङ साहित्यिक साझा श्रृंखलाले विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा संगै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार