पूर्वसांसद इच्छाराजले सहकारीका नाममा ७ अर्बभन्दा बढी रकम ठगी…..

काठमाडौं , काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन् । फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभमा जम्मा गरेका थिए । सो सहकारी नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङको हो । सहकारीले महर्जनलाई दुई वर्षदेखि सावाँ र ब्याज दिएको छैन । यहीबीचमा सहकारीका सञ्चालक तामाङलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । सहकारीबाट ठगिएकाहरु आफ्नो पैसा पाउने आशामा तामाङलाई थुनिएको प्रहरी कार्यालयमा भिड लाग्न थालेका छन् । र, यही भीडमा भेटिए देवनारायण महर्जन । डुबेको पैसा पाउने आशामा महर्जन शुक्रबार महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा पुगे । ब्यूरोका अधिकारीले ‘जाहेरी दिनु’ भनेपछि पूर्वसांसद तथा सिभिल सेभिङ्गस एण्ड क्रेडिट को अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ बिरुद्ध देवनारायणले पनि लाइनमा बसेर जाहेरी दर्ता गराए । ६ लाख फिक्स डिपोजिटमा र १ लाख बचत खातामा राखेको थिएँ’ रातोपाटीसँग कुरा गर्दै देवनारायणले भने, ‘पैसा राखेको ४ वर्ष भयो । दुई वर्ष यता सावाँ ब्याज केही पनि पाएको छैन । पूर्वसांसद समेत रहेका तामाङलाई सीआईबीले असोज १८ मा सुुन्धाराबाट पक्राउ गरेको हो । उनी पक्राउ परेपछि सीआईबीमा उनीविरुद्ध जाहेरी दिनेहरूको लाइन छ । तामाङलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ । कालिमाटीमा रहेको सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभ २०५७ मा खुलेको थियो । इच्छाराज २०६५ सम्म सो सहकारीको अध्यक्ष थिए । अहिले पनि उनी सहकारीका हर्ताकर्ता हुन् । सो सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ हुन् । इच्छाराज अहिले कार्यकारी अधिकारसहितको सल्लाहकारको भुमिकामा छन् । अर्थात, सहकारीमा उनले जे भन्यो, त्यही हुन्छ । सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकमको सावाँ र ब्याज फिर्ता नदिएर ठगी गरेको भन्दै ब्यूरोले उनको समूहविरुद्ध अनुसन्धान गरिरहेको छ । वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष तामाङसहित १२ जना प्रहरीको हिरासतमा छन् । सहकारीमा राखेको रकम लामो समय नदिएर इच्छाराजसहितले ठगेको आरोपमा अहिलेसम्म २४३ जनाले उजुरी गरेका छन् । ‘हालसम्म २४३ जनाले जाहेरी दिनुभएको छ’ सीआईबीका एसपी श्यामकुमार महतोले रातोपाटीसँग भने, ‘जाहेरीअनुसार १ अर्ब २६ करोड ५५ लाख ठगी भएको देखिएको छ । जाहेरी आउने क्रम रोकिएको छैन । सिभिल सेभिङ्समा ७ सयभन्दा बढी निक्षेपकर्ताले ७ अर्बभन्दा बढी रकम जम्मा गरेका छन् । जम्मा गर्नेहरुमध्ये धेरैले पैसा फिर्ता पाएका छैनन् । सहकारीका पैसा इच्छाराज समेतको समूहले २१ वटा कम्पनी स्थापना गरेर त्यहाँ लगानी गरेको र सहकारी टाट पल्टाएको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एकै परिवारको ६४ करोड डुब्यो

सिभिल सेभिङ्गसमा एकै परिवारको ६४ करोडसम्म डुबेको भेटिएको छ । विष्ट परिवारले सहकारीमा राखेको ६४ करोड लामो सयमदेखि फिर्ता पाएका छैनन् । सिभिल सेभिङ्गसमा राखेर पैसा डुबाउनेमा मालीदेखि पूर्व जर्नेलसम्म छन् । म्याग्दी घर भएका चमाया गर्बुजाले २०७४ असार २७ मा १ लाख ७० हजार डिपोजिट गरेकी थिइन । १२ दशमलव ३६ प्रतिशत व्याज दिने भनेको सहकारीले हालसम्म उनलाई सावाँ–ब्याज केही पनि दिएको छैन् । सीआईबीमा उजुरी दिन आएका चमायाका ज्वाइँ हिरा बहादुर थापा भन्दै थिए,‘इच्छाराजलाई पक्राउ गरेको थाहा पाएर उजुर गर्न आएको । सहकारीको रकम इच्छाराजले सिभिल बैंकमा पनि लगानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई बताए । सिभिल सेभिङ्गसको सवैभन्दा धेरै रकम लगानी भएको देखिएको सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको छ ।

थुनामा को–को छन् ?

सिभिल सेभिङ्गसका वर्तमान अध्यक्ष केशवलाल इच्छाराजका मामा ससुरा हुन् । अध्यक्ष सँगै उनि सहकारीमा लोन शाखा प्रमुखको जिम्मेवारीमा थिए । सहकारी ठगी आरोपमा इच्छाराजसहित १२ जना थुनामा छन् । वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिसमेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकार प्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन र जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई थुनामा राखेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, पूर्व लेखा समिती सदस्य हरिहर लामिछाने र सिभिल होम्सका बरिष्ठ प्रबन्धक विजय विक्रम शाह पनि छन् । पक्राउ परेका मध्ये मायोनानी महर्जन र एलिना तुलाधरलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा राखिएको छ । इच्छाराजलाई सोह्रखुट्टे प्रहरीमा र अरुलाई सिआईबीको हिरासतमा राखिएको छ ।

२१ वटा कम्पनीमा अवैध लगानी

सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभबाटै अघि बढेका इच्छाराजले २१ वटा कम्पनी स्थापना गरेका छन् । ती कम्पनी व्यक्तिगत छन् । सिभिल सेभिङ्गसमा सर्वसाधारणले गरेको बचत रकम अवैध तरिकाले पारिवारिक सदस्यहरु सञ्चालक रहेका ती कम्पनीमा लगानी गरेको भेटिएको ब्यूरोका एसपी महतो बताउँछन् । ललितपुरको धापाखेलमा रहेको सिभिल होम्स प्रालि ती कम्पनी मध्येको एउटा हो । परिवारका मान्छेका नाममा धापाखेलमा सस्तो मूल्यमा जग्गा किनेर सिभिल होम्सले महँगा घरहरु बनाएको थियो । त्यहाँ ११ सय भन्दा बढी घर बनाएर सर्वसाधारणलाई सो कम्पनीले चर्को मुल्यमा बेचेको थियो । तर, घर बेचेर आएको रकम सिभिल होम्सले सहकारीलाई फिर्ता गरेको देखिएको छैन । आफ्नो स्वामित्वमा रहेका सबै कम्पनी इच्छाराजले घाटामा गएको देखाएर करसमेत छलेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सिभिल सेभिङ्गसको रकम लगानी गरेको देखिएका कम्पनीहरु यस्ता छन् :

–कामेन कन्सल्टिङ इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि ।

–बाघभैरव कन्सल्टेन्सी प्रालि ।

–सिभिल मर्चेन्ट वित्तिय संस्था लि

–सिभिल होम्स प्रालि ।

–कोट्सेभैरव हाउजिङ्ग एण्ड डेभलपर्स प्रालि ।

–सिभिल इन्टरनेशनल कन्सलटेन्ट प्रालि ।

–सिभिल इष्टेटस प्रा.लि ।

–सिभिल मर्चेन्ट इन्भेष्टमेन्ट कम्पनी लिमिटेड ।

–सिभिल क्यापिटल मार्केट लि ।

–सिभिल अपार्टमेन्ट प्रालि ।

–सिभिल इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि ।

–सिभिल बैंक लि ।

–सिभिल फर्निचर एण्ड ट्रेडिङ्ग कम्पनी प्रालि ।

–सिटी बस्ती विकास कम्पनी प्रालि ।

–सिने डोसेफ कम्पनी प्रालि

–ब्रिउ एण्ड भ्यू बार एण्ड रेष्टुरेन्ट कम्पनी प्रालि ।

–सिभिल आर.एम.सी. एण्ड प्रिकास्ट इण्डष्ट्रिज प्रालि ।

–सिभिल होटल प्रालि, सिभिल मोडन कन्स्ट्रक्सन । राताेपाटी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार