दाजु गुरुङको कथा संग्रह “लाई–सी” हङकङमा विमोचित

  टोपबहादुर याक्खा

१७ अक्टोबर, हङकङ– हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी ‘दाजु गुरुङ’ को दोस्रो कथा संग्रह “लाई–सी” को विमोचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, “लाई–सी” का लेखक स्वयम दाजु गुरुङ, कार्यक्रम सह–आयोजक हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ, साब्लाबुङका प्रकाशक एवं सम्पादक राज कुमार राई, साहित्यकार एवं महासंघकी सल्लाहकार रिता गुरुङ, संखुवासभा समाज हङकङका सल्लाहकार एवं साहित्यकार लालबहादुर गुरुङ, प्रकाश गुरुङ (जे.पी.), तमु ट्यो हुल हङकङका अध्यक्ष विजय गुरुङ लगायत ड्यासमा रहेका अतिथिहरुद्धारा कृतिलाई सामूहिक रुपमा विमोचन गरिएको थियो ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रमका सभापति र प्रमुख अतिथिद्धारा पानसमा वत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेसंगै, सभापति टोपबहादुर याक्खा, प्रमुख अतिथि टंक रानाका साथै विशेष अतिथिहरु लालबहादुर गुरुङ, लव कुमार गुरुङ, रिता गुरुङ, प्रकाश गुरुङ (जे.पी.) लगायतले शुभकामना मन्तब्य राखेका थिए भने साहित्यकार एवं समीक्षकद्धय किन्दर राई र बज्र कुमार राईले पुस्तक माथि समीक्षा राखेका थिए ।
चाइनिज भाषा “लाई–सी” को शाव्दिक अर्थ दक्षिणा भनेर बुझ्न सकिने भन्दै हङकङमै देखे भोगेका कथाव्यथाहरुलाई सर्लक्क टिपेर साहित्यमा ढाल्न माहिर दाजु गुरुङको २०१८ मा प्रकाशित पहिलो कथा संग्रह “टाँकीका फूलहरु” भन्दा पनि दोस्रो कथा संग्रह “लाई–सी” अझ वजनदार र पढ्दै जादा कथाकारले प्रत्येक पाठककै कथा उतारे झै लाग्ने समीक्षक किन्दर राईले बताए । त्यस्तै अर्का समीक्षक बज्र कुमार राईले दाजु गुरुङका कथाका घटना, पात्र छनौट र लेखनशैलीले हङकङेली साहित्यलाई अर्को उचाईमा पुर्याएको भन्दै हङकङमा भन्दा पनि नेपालका पाठक र शैक्षिक संघ संस्थाहरुको हात–हातमा “लाई–सी” पुग्नु पर्नेमा जोड दिए ।
पाठक, शुभेच्छुक र सहयोगी मनहरुबाट “टाँकीका फूलहरु” ले पाएको माया, सद्धभाव र हौसल्लाको प्रतिफल नै “लाई–सी” रहेको भन्दै कथाकार दाजु गरुङले दोस्रो कथा संग्रह “लाई–सी” ले पनि उक्तिकै माया पाउँनेमा आफू आशावादी रहेको बताए । २३२ पेजको कथा संग्रह “लाई–सी” मा “चिसो हावाले”, “रिफ्युजी”, “कामरेड”, “कानूनले नचिनेको मान्छे”, “लालीगुँरास डटकम” लगायतका १८ वटा कथाहरु पढ्न पाइन्छ ।
हङकङ साहित्यिक साझा श्रृंखलाका संस्थापक संरक्षक, हङकङबाटै प्रकाशित हुंदै आएको “हाम्रो संखुवासभा” मुखपत्रका सम्पादक, संखुवासभा समाज हङकङका सल्लाहकार लगायत विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेका दाजु गुरुङले कथाका अलवा कविता, गीत, गजल र मुक्तकको क्षेत्रमा पनि उत्तिकै कलम चलाउँदै आइरहेका छन भने पहिलो कथा संग्रह “टाँकीका फूलहरु” हङकङबाटै “पारिजात साहित्य पुरस्कार–२०१९” द्धारा पुरस्कृत भएको थियो ।
जोर्डनस्थित बगैचा रष्टुरेण्टमा आयोजित उक्त कार्यक्रमलाई कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङले संचालन गरेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार