हङकङ नेपाली महासंघको अध्यक्षमा रिता गुरुङ

  टोपबहादुर याक्खा

१८ नोभेम्बर, हङकङ– हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनबाट अध्यक्षमा रिता गुरुङ निर्वाचित भएकी छिन् ।
आइतबार याउ मा तेई कम्युनिटी सेन्टरको सभाहलमा सम्पन्न उक्त अधिवेशनमा २८ मत प्राप्त गर्दै रिता गुरुङ अध्यक्षमा निर्वाचित भईन भने अध्यक्षका अर्का प्रत्यासी टंक रानाले १७ मत प्राप्त गरेका थिए । त्यस्तै गरी मतादान प्रक्रिया मार्फत नै महासचिवमा हेम थापा र सचिवमा सन्जोग राई निर्वाचित भए भने उपाध्यक्षमा नविन सुहाङ र कोषाध्यक्षमा निल कुमार वाइवा निर्विरोध चयन भएका थिए ।
महासंघका अध्यक्ष टंक रानाको सभापतित्वमा सम्पन्न प्रथम चरणको खुल्लासत्र कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना तथा विशेष अतिथिहरुमा एन.आर.एन.ए.का अध्यक्ष गोकर्ण ढकाल, नेपाल चेम्बर अर्फ कमर्शका अध्यक्ष डासुराम पराजुली, महासंघका सल्लाहकारहरु हेजेन राई, रिता गुरुङ, प्रदिप थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति टंक रानाद्धारा कोरोनाको महामारी बीच पनि आफ्नो कार्यकाललाई सफल बताउँन विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा महानुभावहरु प्रति धन्यवाद सहितको मन्तव्य राख्दै कार्य समिति भंग भएको घोषणा गरेसंगै शुरु भएको दोस्रो चरणको बन्दसत्रको कार्यक्रममा निवर्तमान महासचिव नविन सुहाङले आफ्नो ३ वर्षे कार्यकालको गतिविधीहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ताहिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हङकङमा रहेका नेपाली संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको महासंघले लागु औषध सम्बन्धि जनचेतनामुलक ‘विओन्ड रिच इन्फरमेशन एण्ड प्रिभेन्सन’ का साथै सि.एस.टी.एन. प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरु दिदै आउनुका साथै नेपाली समुदायका विभिन्न समस्याहरु हङकङ सरकारमा राख्दै निरोपण समेत गर्दै आइरहेको छ भने केही पहिले नेपालमा आएको कोरोनाको दोस्रो लहरले ठूलो जनधनको क्षति भइरहदा देशका ७७ वटै जिल्लाहरुमा ठूलो परिमाणमा अक्सिजन कन्सन्ट्रटेर लगायत स्वास्थ्य सामाग्रिहरु आफैले ढुवानी गरेर वितरण समेत गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार