धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्ध बारे जानकारी सभा

  टोपबहादुर याक्खा

निर्माणाधिन थाउजेण्ड बिग बुद्ध बारे जानकारी दिनु हुदै समितिका अध्यक्ष प्रदिप थापा

१२ डिसेम्बर, हङकङ– पूर्वी नेपालको सुन्दर नगरी धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धको कार्य प्रगतीबारे आइतबार निर्माण समितिद्धारा जानकारी सभाको आयोजना सम्पन्न गर्यो ।
हङकङ नेपाली महासंघ, एन.आर.एन.ए., च्याम्बर कमर्श, व्यापार संघ लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, व्यापारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त जानकारी सभामा थाउजेण्ड बिग बुद्ध नेपाल, केन्द्रिय समितिका अध्यक्ष प्रदिप थापा र समितिका उपाध्यक्ष एवं हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङद्धारा परियोजनाको भिडियो क्लिप सहित प्रगती विवरण प्रस्तुत गर्दै हङकङबासी नेपालीहरुमा समेत सहयोगको अनुरोध गरेका थिए । सहयोगका लागि बिग बुद्ध भित्र स्थापना गरिने साना थाउजेण्ड बुद्ध मध्ये एउटा बुद्ध बराबर १ लाख रुपैयाँ वा बिग बुद्धको विभिन्न अङ्गहरुको मुल्य अनुसार पनि सहयोग गर्न सकिने जानकारी गराउँदै बोलकबोल गर्ने विभिन्न दाताहरुलाई खदा लगाएर सम्मान गर्दै सोभिनियर स्वरुप बुद्धको मुर्ती समेत प्रदान गरिएको थियो ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा परियोजना र कार्य प्रगती सम्बन्धि प्रोजेक्टर मार्फत स्लाइड सो तथा भिडियो क्लिप समेत देखाउदै हाल सम्म नेपाल सरकारबाट प्राप्त १७ बिगाहा जग्गामा पर्खाल सहित काँडेतारबाट बेरा हाल्ने, पानी तथा बिजुलीको सुविधा जडान, जग्गा सम्याउँने लगायतका कार्यहरु भएको जानकारी गराउँदै हङकङ र नेपाल बीचको हवाईयात्रा खुल्नासाथ नेपाल गएर थाउजेण्ड बिग बुद्धको निर्माण कार्यलाई युद्धस्तरमा अगाडी बढाउने केन्द्रिय समितिका अध्यक्ष प्रदिप थापाले बताए ।
कार्यक्रमको अन्तमा गत महिना मात्रै सम्पन्न ११ औं महाधिवेशन मार्फत नवनिर्वाचित हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायतका पदाधिकारीहरुलाई खदा लगाएर सम्मान समेत गरिएको थियो ।
धरान उप–महानगरपालिका ४, छोटी मोरङ, सुनसरीमा करिब ३ अरब रुपैयाँको लागतमा पार्क, भिक्षुहरुको वासस्थान सहित संसारकै नमुना १७५ फिट अग्लो बिग बुद्धको मुर्ती खडा हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार