बालेन शाहको अनेक आरोह र अवरोहबीच बितेका ५० दिन…..

काठमाडौं-      काठमाडौंका मेयर बालेन शाहले शपथ लिएको ५० दिन पुरा भएको छ । अनेक आरोह र अवरोहबीच बितेका ५० दिन कस्तो भयो ? बालेनका मतदाताहरूको मनोदशामा केही परिर्वतन आयो कि आएन ? बालेनले गरिरहेका क्रियाकलापमाथि उनका प्रशंसक एवम् मतदाताहरू खुशी छन् त ? यहाँ यी प्रश्नको उत्तर खोतल्ने प्रयास गरिएको छ । मेयरका रुपमा बालेनले पद सम्हालेको पनि ५० दिन पार गर्दै गर्दा उनको उदयका बहुल कारणहरु पनि हामीमाझ छन् । वैकल्पिक शक्तिको चिनारी लिएर आएका बालेनले मेयर हुनु अघि भनेका थुप्रै कुराहरु यतिबेला जनतामाझ विशाल विम्ब बनेका छन् । तिनै विम्बले विकासको आकार बनाएका जनताले यी ५० दिनको गतिविधि मिहिन ढंगले अध्ययन गरिरहेका छन् । बालेनको निम्ति चुनावी र्‍यालीमा नारा लगाउँदै हिँडेको जनसागर र राष्ट्रिय सभा गृह बाहिर मतपरिणाम पर्खिएको त्यो हुलले अहिले बालेनको काम र गतिविधिलाई ‘वाच डग’ बनेर हेरिरहेको छ । विशाल आकांक्षा र चाहनालाई परिपूर्ति गर्नको निम्ति मेयर बनेको हुँ भन्ने बालेन र केही गतिलो काम नगरेसम्म खादा र माला लगाउँदिन भन्ने बालेन पछिल्लो समय आलोचनाका सिकार हुने क्रम भने बढेको छ । कुनै पनि पार्टी र सम्मेलनमा सरिक हुन्न भन्ने बालेन शाह पछिल्लो समय हरिहर अधिकारी र नायिका नीता ढुंगानाको विवाह समारोहमा देखिएपछि उनको आलोचना नहुने कुरै भएन । यद्यपि, बालेनप्रति सकारात्मक हुँदै खेलकुद पत्रकार एवम् कमेन्टेटर आभास घिमिरे भन्छन्, ‘कसैले पनि जनभावना सोहोर्नको निम्ति अनावश्यक पपुलिष्ट कदम चाल्नुहुन्न । तर बालेनले अहिले जे गरिरहेका छन्, त्यसमा म आशावादी नै छु । तथापि, जनताको चाहना एकदम धेरै भएकोले हामी तुरुन्तै नतिजा खोजिरहेका छौँ । तर उनी आफ्नो काममा छन् र त्यसको नतिजा निकट भविष्यमा देखिनेछ । उनको समीक्षा गर्न अहिले नै हतार हुनेछ । ५ वर्षे कार्यकालको समयले मात्र समीक्षाको सार्थकता बोक्ला । चावहिल युवा संघका उपाध्यक्ष एवम् युवा नेताको रुपमा कामनपा–७ मा परिचित रमन पौडेल बालेन जनभावनालाई सम्बोधन गर्ने सवालमा उच्च देखिएको धारणा राख्छन् । तर, उनको कार्यकाल सुरु भएपश्चात् उनका एजेण्डाले लिनुपर्ने गति लिन नसकेको तर्क गर्छन् । उनी भन्छन्, ‘बालेन आफैँ नै सर्वोच्च हो भन्ने मेरो तर्क हैन । तर, बालेनमा पनि चुनावको अघि र चुनावको पछि देखिएको बहुल रंगसँग मेरो असहमति छ । फोहोर व्यवस्थापन नगरेसम्म खादा लाउँदिन भन्ने बालेनले अल्पकालीन रुपमा नै भएपनि फोहोर व्यवस्थापनको एउटा निष्कर्ष भेट्नुपर्छ । पौडेलका अनुसार फोहोर व्यस्थापन सधैँको मुद्धा हो र अहिले अल्पकालीन ढंगबाट यसको पूर्ण निकास निस्किदैन । तर मेयर बालेन हालसम्म अत्यन्तै सुस्त देखिएका छन् । फोहोर व्यवस्थापन मेयर शाहका लागि फलामको चिउरा सरह हुने देखिएको छ । किनकि काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने पत्रकार सम्मलेन गर्दै घोषणा गरेको हो । महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार