फोहोरको डंगुरमा दलहरुको दुर्गन्धित राजनीति…..

काठमाडौँ — काठमाडौंमा थुप्रिएको फोहोरको डंगुरको अन्तर्य जान्न र बुझ्न कुनै राजनीतिक दलको चुनावी घोषणापत्र पढ्नुपर्दैन । न त कुनै नेताको तिलस्मी चुनावी भाषणका कुनै हरफहरु नै सम्झना गर्नुपर्छ । फोहोरोको यो थुप्रो हाम्रो राजनीतिको बचेखुचेको इज्जतभन्दा धेरैमाथि अग्लिइसकेको छ । जसका साक्षी संघीय राजधानीका जनताहरु हुन् । फोहोरले तिनलाई बढी सताईरहेको छ, जो दिनभर यहाँको साँघुरा, ओसिला गल्ली, चोक र चौबाटाहरुमा हरेक दिन फोहोरको डंगुर कसरी अग्लिैदछ भन्ने दृश्यको साक्षी बनेझै गरेर कुदिरहनुपर्छ । घरका ढोका ढोकामा खबर पुर्‍याउने हक, डोको वा खर्पनमा साग बोकेर बेचिहिड्ने श्रमजिवि, चक्रपथ बाहिरबाट स-साना क्यानमा दुधबोकेर घर घर पुर्‍यउने दुधवाला र अरु यस्तै कामकाजी । एसियाली विकास बैंकले सन् २०१३ मा गरेको अध्ययनमा प्रतिपरिवार मासिक ४० हजार वा त्यसभन्दा माथि खर्च गर्ने घरधुरीले मासिक ५ हजार रुपैँया खर्च गर्ने परिवारले भन्दा दोब्बर फोहोर उर्त्सजन गर्छन् । यो अध्ययनले काठमाडौंमा प्रतिव्यक्ति प्रतिदिन फोहर उत्पादन चार सय ग्राम हुने आकलन गरेको थियो । यो तथ्यले काठमाडौंको फोहोर उत्पादनमा यहाँका धनीमानी, सम्पन्नहरुको हिस्सेदारी धेरै छ । तर विडम्बना उनीहरु फोहोरबाट छलिएर हिँड्न सक्छन् । बाक्लो माक्स लगाएर दुर्गन्धलाई नाकसम्मै आउनबाट जोगिन सक्छन् । हरदिन फोहोरसँग साक्षात्कार गर्नेहरु भुइँमान्छेहरु काठमाडौंको फोहोर किन उठेन भनेर प्रश्न मात्रै गर्न सक्छन् । सवाल उठाउनेहरु त उनीहरुले मतदान गरेर संसद्मा पठाएका छन् । तिनीहरु यो बिषयमा कि त बोल्दैनन् बोलेपनि फोहोरभित्रै घुसिसकेको राजनीतिको पत्र केलाउँदैनन् । फोहोरको दुर्गन्धमा पछिल्ला दिनहरुमा राजनीतिको गन्ध पनि मिसिएको छ । यसको हरक झन् ह्वास्सै आईरहेको छ । जसमा सत्तासिन दलका नेतादेखि दलको झण्डा बोकेर राजनीतिको बजारमा चौकादाउ हानिरहेकाहरु झन् वाचालरुपमा सतहमा देखिएका छन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मेयरको चुनाव जितेपछि यस्तो फोहोरको डुंगुरमा लौरो चलाएर दुर्गन्धलाई पर पर सम्म फैलाउन जे जस्ता राजनीतिक हर्कतहरु भईरहेका छन् त्यो फोहोरभन्दा पनि दुर्गन्धित छ । फोहोरो नउठेपछि सुरु भएको छटपटी र आक्रोसको पहिलो श्रृंखलामै टिकटकमा खुबै, रसिला देखिने वडा नम्बर १६ का कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालले राजनीति खेल्न खोजेका थिए । उनले एकाध युट्युबरलाई बोलाएर आफ्नो वडाको फोहोर आँफैले उठाउँछु भन्दै भिडियो पनि खिचाएका थिए । तर उनको वडाबाट उठाईएको फोहोर कहाँ लगेर थन्क्याईने हो ? त्यसरी उनको वडाबाट उठाईएको फोहोरले सिंगो महानगरलाई सफा राख्न कति प्रतिशत योगदान गर्ने हो? यस्ता प्रश्न वडाध्यक्षलाई उनैले बोलाएका युट्युबरहरुले पनि सोध्नेवाला थिएनन् । फगत एउटा कलाविहिन नाटकको पटाक्षेपसँगै फोहोर बन्चरेडाँडा जान प्रक्रिया सुरु भयो । फगत स्वतन्त्र मेयरको सेखी झारी पो हाल्न सकिन्छ कि भन्ने भावमा प्रस्तुत भएका वडाध्यक्ष छिट्टै सेलाएजस्ता देखिए । तर फोहोरको राजनीति साउने झरीसँगै फेरी बल्झियो । काठमाडौंको चोक गल्ली र मूल बाटोमा फोहोरोको थुप्रो सहरका मन्दिर र सालिकहरुभन्दा पनि अग्लिन थाल्यो । त्यसबाट निस्कने हरक पर परसम्म फैलिन थाल्यो । त्यस्तो हरक गत साताको घनघोर वर्षापछि मूल सडकहरुका जमेको पानीको फोहोरका पोकाहरु तैरिन थालेपछि झनै बढ्यो । फोहोरको हरक संसद्भित्र पनि छिर्‍यो । त्यसपछि बोलेका थिए, एमाले अध्यक्ष केपी शर्मा ओलीले एक समय ‘लात्ताले पुक्क हिर्काएर भाग्ने बैगुनी केटो’को उपमा भिराएका एमाले नेता योगेश भट्टराई ।

जनताको सार्वभौम थलो संसद्मा काठमाडौंको फोहोरबारे यहिँकै जनप्रतिनिधिले समेत मुख खोल्न दकस मानिरहेका बेला पूर्वी पहाडको ताप्लेजुङबाट चुनाव जितेर केन्द्रीय राजनीतिमा उदाईरहेका युवा नेता भट्टराईले फोहोरको विषयमा मुख खोल्नु आँफैमा राम्रो कुरा थियो । तर भट्टराईको मन्तव्य फोहोर किन थुप्रिरहेको छ, यसका पछाडी के कस्ता जटिलताहरु जेलिएका छन् र त्यसलाई सुल्झाउने काममा महानगर कसरी चुकिरहेको छ भन्ने विषयमा थिएनन् । बरु उनले त एमालेबाट निर्वाचित अघिल्ला मेयर विद्यासुन्दरको पालामा १४ दिनसम्म फोहोर नथुप्रिएको बरु यसपाला ७१ दिनसम्म फोहोर थुप्रिएको तुलना गरे । असफलताको यो तुलना आँफैमा फोहोरी राजनीतिक खेल थियो । त्यही भएर अक्सर चर्का, टर्रा र विवादास्पस्द अभिव्यक्तिहरुमा मुखर देखिँदै गरेका भट्टराईले लाजै पचाएर मेयर बालेन्द्र शाहलाई सम्बोधन गर्दै भने, आउनुस ठोस प्रस्ताव सहित । नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ, नेकपा एमाले पूर्ण क्षमताकासाथ सहयोग गर्न तयार छ । यदी तपाईं सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ । सांसद भट्टराईले जेठयता ३३ दिन फोहर नउठेको तथ्यमाथि यसरी राजनीतिको मरमसला हालेर ७१ दिनको तथ्यांक प्रस्तुत गरे त्यो पनि फोहारमाथिको राजनीतिलाई मलजल गर्ने एउटा मिथ्यांक न थियो । सासंद भट्टराईले भाषणका बेला सायदै बिर्से होलान् काठमाडौंका ३२ वडामध्ये १२ वटा वडामा एमालेकै वडाध्यक्षहरु निर्वाचित छन् । एमालेबाटै निर्वाचित उपमेयर सुनिता डंगोल खुद महानगरको शक्तिमा विराजमान छिन् । यो सबै दृश्यहरुलाई पन्छाएर उनले विगतका मेयरको महिमाण्डन मात्रै गरेनन्, स्वतन्त्र मेयरलाई धुलिसात पारेर आफ्नो राजनीति अग्लिन्छ भन्ने फोहोरी खेल पनि खेले । बिर्सन हुँदैन, विद्यासुन्दर तिनै मेयर हुन्, जसले आफ्नो पाँच बर्षे कार्यकालमा काठमाडौंको फोहोरको स्थायी समाधन त खोजेनन नै, कोरोना महामारीमा दसौं हजार काठमाडौंका जनता भोक र शोकमा छटपटिइरहेका बेला, संक्रमितहरु आईसोलेसनको खोजीमा हिडिरहेका बेला आफू र आफ्नो परिवार संक्रमित भएपछि पाँचतारे सोल्टी होटलमा आईसोलेसनमा बिताएका थिए । बिर्सन नहुने यस्ता सयौं तथ्यहरु छन्, जसमा एमालेका विद्यासुन्दरले कायम गरेको किर्तीमानी आउने कुनैपनि मेयरले तोड्न सक्लान् । योगेश भट्टराईले संसद्मा फोहोरबारे बोलेको भोलिपल्ट एमालेको एउटापंक्ति फोहोर थुप्रिएको विरोध जनाउन सडकमा देखिएको थियो । त्यसको अर्को दिन एमालेको युवासंघका केही दर्जन कार्यकर्ता हातमा सेतो पन्जा लगाएर बानेश्वरतिर देखिएका थिए । तिनीहरुले सडकमा थुप्रिएको फोहोर उठाएर ट्रकमा हाल्दै गरेको दृश्य पनि देखिन्थ्यो । भलै त्यसरी उठाईएको फोहोर उनीहरुले कहाँ लगेर तरा लगाए भन्ने चाहिँ सार्वजनिक भएन । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार