१११ औं साहित्य श्रृंखलामा ‘साब्लाबुङ’ लगायत तीन पुस्तक सार्वजनिक

  टोपबहादुर याक्खा

२८ अगष्ट, हङकङ– ‘साब्लाबुङ’, ‘जोइटिङ्रेका नियतिहरु’ र ‘आँधी रोकिएपछि’ गरी ३ पुस्तक सार्वजनिक, तिनमाथी टिप्पणी तथा सृजना वाचन गर्दै १११ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
करिव एकदशक अगाडी हङकङमै विमोचन गरिएको कवि टोपबहादुर याक्खाको कविता संग्रह ‘आँधी रोकिएपछि’ सार्वजनिक गरे संगै कवि तथा कथाकार दाजु गुरुङ र उक्त पुस्तकको प्रकाशक साब्लाबुङका सम्पादक तथा प्रकाशक राज कुमार राईले उक्त कविता संग्रहमाथि टिप्पणी राखेका थिए । सोही क्रममा हङकङबाटै प्रकाशन हुदैं आएको साहित्यिक पत्रिका ‘साब्लाबुङ’ वर्ष–११, पूर्णाङ्क–८ र नेपालका साहित्यकार निर्भीक राईको उपन्यास ‘जोइटिङ्रेका नियतिहरु’ बारे साब्लाबुङका सम्पादक तथा प्रकाशक राज कुमार राईले टिप्पणी राखेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रोशन यक्सो, नरेन्द्र गुरुङ, दीपा एवाई राई, विष्णु मुखिया, सुनिता गिरी, पूर्णिमा शाह, वाल कवि सुनिस्का याक्खा, अरुणा शर्मा, जुनु थापा, डोम राना, टी.बी. याक्खा लगायतले सृजना वाचन तथा साहित्यिक मन्तव्य राखेका थिए भने चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ माथी टिप्पणी राखेका थिए ।
जोर्डनस्थित नयाँपेजको कार्यालयमा आयोजित श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमका अध्यक्ष रमण गुरुङद्धारा आफ्नो मन्तव्य राख्दै समापनको घोषणा गरेसंगै हिन्दु नारीहरुका महान चाड तीजको अवसरमा गत वर्षहरुमा झै दिदीबहिनीहरुद्धारा तीज विशेष गीतहरुमा नाँचगान गर्दै रमाईलो गर्नुका साथै तथा खिर लगायतका विविध नेपाली परिकारहरु खाएर तीज मनाइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको श्रृंखलाले आगामी २५ सेप्टेम्बर २०२२, आइतबारका दिन ११२ औं श्रृंखलालाई गतवर्षमा झै ‘साहित्यिक पदयात्रा–२०२२’ को रुपमा मनाउँने निर्णय समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार