११३ औं साहित्य श्रृंखला तिहार विशेष रह्यो

  टोपबहादुर याक्खा

३० अक्टोबर, हङकङ– महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्ति संगै सृजना वाचन, विभिन्न पुस्तक सार्वजनिक तथा देउसी भैलो खेल्दै तिहार विशेष ११३ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
महाकवि लक्ष्मि प्रसाद देवकोटाको ११४ औं जन्म जयन्तिको अवसरमा श्रृंखलाका संयोजक समेत रहेका चित्रकार रमण गुरुङद्धारा तयार पारिएको महाकवि लक्ष्मि प्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाए संगै नेपाली साहित्यमा महाकवि लक्ष्मिप्रसाद देवकोटाको योगदान बारे श्रृंखलाका संरक्षक राज कुमार राईले बोलेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राखी गौचनको कविता संग्रह ‘प्रमिथसको फिलिङ्गो’, कुम्भराज राईको खोजमुलक पुस्तक ‘ओखलढुंगा तथ्य र इतिहास’ र सेवेदार इमानबहादुर तमुको कविता संग्रह ‘लाहुरे दाइ’ सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा उपस्थित साहित्यकारहरु दाजु गुरुङ, अरुणा शर्मा, पूर्णिमा शाह, डी.बी.पालुङ्वा, बिना राई इङ्नाम लगायतले सृजना वाचन गरेका थिए भने एन.आर.एन.ए.हङकङ महिला विभागकी उपाध्यक्ष अनु राई तथा केही पहिले मात्रै यू.के.बाट हङकङ आउनु भएकी साहित्यकार जानु काम्बाङ लिम्बुले शुभकामना मन्तब्य राखेका थिए । सोही क्रममा बिन्नि लामा र बिनम थापाले गीत गाएर र सुनिस्का याक्खा र अरुणा शर्माले नृत्य गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
जोर्डनस्थित नयाँपेजको कार्यालयमा आयोजित श्रृंखलाका सदस्य साहित्यकार रोशन यक्सोद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमका अध्यक्ष रमण गुरुङद्धारा आफ्नो मन्तव्य राख्दै समापनको घोषणा गरेसंगै नेपालीहरुको महान चाड तिहारको अवसरमा मोडल तथा गायीका मन्जु थापाको अग्रतामा देउसीभैलो तथा नाँचगान गर्दै तिहार विशेष साहित्य श्रृंखला सम्पन्न भएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार