नरजित राईको कविता संग्रह “मनका नदीहरु” हङकङमा लोकार्पित

  टोपबहादुर याक्खा

२७ नोभेम्बर, हङकङ– हङकङबासी साहित्यकार नरजित राईको कविता संग्रह “मनका नदीहरु” को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कविता संग्रहको प्रकाशक तथा कार्यक्रम आयोजक हङकङ साहित्यिक साझा श्रंखलाका संयोजक रमण गुरुङ, प्रमुख अतिथि साहित्य श्रृंखलाकै संरक्षक साहित्यकार दाजु गुरुङ, “मनका नदीहरु” कृतिका कृतिकार नरजित राई, कृतिका समीक्षक तथा साहित्य श्रृंखलाका सल्लाहकार बज्र कुमार राई तथा विशेष अतिथिका रुपमा ड्यासमा रहेका किरात राई यायोक्खा हङकङ, प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई र समाजसेवी पिताम्बर राईद्धारा कृतिलाई सामूहिक रुपमा विमोचन गरिएको थियो ।
साहित्य श्रृंखलाका सल्लाहकार सुनिता गिरीद्धाराद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रमका सभापति रमण गुरुङ, प्रमुख अतिथि दाजु गुरुङका साथै अन्य अतिथिहरु शशीमदन राई, समाजसेवी पिताम्बर राई, चित्रकार, साहित्यकार एवं साहित्य श्रृंखलाका सल्लाहकार दिपेन्द्र राई, साहित्यकार किन्दर राई, समाजसेवी वसन्त राई लगायतले शुभकामना मन्तब्य राखेका थिए भने साहित्य श्रृंखलाका सल्लाहकार समेत रहेका साहित्यकार बज्र कुमार राईले पुस्तक माथि समीक्षा राखेका थिए ।
हङकङ जस्तो अतिनै व्यस्त ठाउँमा बसेर पाँचौ कृतिका रुपमा “मनका नदीहरु” ल्याउनु आफैमा ठूलो उपलब्धि रहेको र यसले हङकङको नेपाली साहित्य क्षेत्रमा एउटा ईटा थप्ने कार्य गरेको बताउँदै “मनका नदीहरु” भित्र एकदमै सरल अनि सरस कविताहरु रहेको कृतिका समीक्षक बज्र कुमार राईले बताए ।

कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु पूर्णिमा शाह, अरुणा शर्मा, जुनु राना मगर, नारायण भण्डारी, बिना राई लगायतले विमोचित कविता संग्रह “मनका नदीहरु” भित्रबाटै कविता वचन गरेर कार्यक्रमलाई थप साहित्यमय बनाएका थिए ।
दुई नियात्रा, एक संस्मरण र एक कविता संग्रह पछि पाँचौं कृतिका रुपमा “मनका नदीहरु” कविता संग्रह पाठकहरु समक्ष ल्याएका कवि तथा साहित्यकार राईको उक्त संग्रहमा ७२ वटा कविताहरु पढ्न पाइन्छन् ।
जोर्डनस्थित चुम्लुङ हिममा ११४ औं साहित्य श्रृंखला विशेष आयोजित उक्त पुस्तक लोकार्पण कार्यक्रमलाई साहित्य श्रृंखलाका सल्लाहकार समेत रहेका साहित्यकार डी.बी. पालुङ्वाले संचालन गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार