११५ औं साहित्य श्रृंखलामा एकसाथ पाँच पुस्तक सार्वजनिक

  टोपबहादुर याक्खा

२५ डिसेम्बर, हङकङ– ‘प्रवास बुकी र बास्ना’, ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’, ‘कोलम्बस यात्रा’, ‘अश्वेत महावाणी’ र ‘मगर इतिहास’ गरी एउटै कार्यक्रममा पाँच वटा पुस्तकहरु सार्वजनिक, पुस्तकमाथि टिप्पणी तथा शुभकामना मन्तव्य राख्दै आइतबार ११५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
हङकङबासी प्रखर कवि तथा साहित्यकार मोती चाम्लिङको नविन कविता संग्रह ‘प्रवास बुकी र बास्ना’, त्यस्तै गरी हङकङ तथा बेलायत निवासी कवि तथा साहित्यकारद्धय देवेन्द्र खेरेसको पछिल्लो कविता संग्रह ‘कोलम्बस यात्रा’, र जानु काम्बाङ लिम्बुको नियात्रा संग्रह ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’, अर्का बेलायत निवासी कवि दयाकृष्ण राईको कविता संग्रह ‘अश्वेत महावाणी’ र पत्रकार तथा साहित्यकारद्धय मनोज घर्तीमगर र राजकुमार दिक्पालद्धयको खोज तथा अनुसन्धानात्मक कृति ‘मगर इतिहास’ सार्वजनिक गरियो ।
जन्मभूमि ताप्लेजुङदेखि युरोपका विभिन्न ठाउँहरु घुम्दा देखे, भोगे र सुनेका कथा, व्यथा र यथार्थहरुलाई उनेर पाठकहरु समक्ष ल्याएकी जानु काम्बाङ लिम्बुको नियात्रा संग्रह ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ माथि कवि तथा समीक्षक भूपेन्द्र चेम्जोङले टिप्पणी राखेका थिए भने कवि मोती चाम्लिङ र कवि देवेन्द्र खेरेसले आफ्नो कविता संग्रह भित्र समेटिएका कविताहरु बारे बोल्दै कविता संग्रह पढेर थप टिप्पणी राख्न कार्यक्रममा उपस्थित साहित्यकार तथा पत्रकारहरुलाई अनुरोध गरेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जानु काम्बाङ लिम्बु तथा श्रृंखलाका संरक्षकद्धय दाजु गुरुङ र राज कुमार राईले सार्वजनिक गरिएका पुस्तकहरुबारे छोटो टिप्पणी सहितको मन्तव्य राखेका थिए भने श्रृंखलाका सल्लाहकार दिपेन्द्र राईद्धारा चित्रित अर्का साहित्यकार डोम रानाको स्केच हस्तान्तरण गर्दै आगामी श्रृंखलाहरुमा अन्य साहित्यकारहरुको समेत क्रमशः स्केच बनाउँदै जाने बताएका थिए ।
जोर्डनस्थित नयाँपेजको कार्यालयमा आयोजित श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमका अध्यक्ष रमण गुरुङद्धारा आफ्नो मन्तव्य राख्दै समापनको घोषणा गरेसंगै श्रृंखलाकी निवर्तमान संयोजक तथा वर्तमान सल्लाहकार सुनिता गिरीको शुभजन्मोत्सवको अवसरमा केक काटेर जन्मोत्सव समेत मनाइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार