११७ औं साहित्य श्रृंखला प्रगति राईको ‘थाङ्ग्रा’ सहित तीन पुस्तक सार्वजनिक

  टोपबहादुर याक्खा

२६ फेब्रुअरी, हङकङ– ‘थाङ्ग्रा’, ‘अनायोजित’, र ‘प्रिय मौनता’ गरी एउटै कार्यक्रममा तीन वटा पुस्तकहरु सार्वजनिक, पुस्तकमाथि टिप्पणी तथा सृजनाहरु वाचन गर्दै आइतबार ११७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालकी प्रखर कवि तथा उपन्यासकार प्रगति राईको अघिल्लो दिन शनिबार मात्रै नेपालमा विमोचित पछिल्लो कृति ‘थाङ्ग्रा’ उपन्यास, त्यस्तै गरी नेत्र एटमको ‘प्रिय मौनता’ कविता संग्रह र अनिता पन्थीको ‘अनायोजित’ उपन्यास सार्वजनिक गरियो भने उक्त तीन पुस्तकहरु माथि श्रृंखलाका संरक्षक तथा साहित्यकार दाजु गुरुङले छोटो टिप्पणी राखेका थिए । सोही क्रममा श्रृंखलाका सल्लाहकार समेत रहेका चर्चित चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले हाल नेपालका चर्चित दुई स्वतन्त्र मेयरहरु काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साह र धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ राईको स्केच सार्वजनिक गर्दै चित्र र साहित्य बीचको सम्बन्ध बारे बोलेका थिए ।
जोर्डनस्थित चुम्लुङ हिममा आयोजित श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको उक्त कार्यक्रममा कवि तथा साहित्यकारहरु नारायण भण्डारी, रोशन यक्सो, डी.बी. पालुङ्वा, अरुणा शर्मा, रमण गुरुङ, दाजु गुरुङ, शिव कुमार बान्तावा राई, बिनु लामा, बिना राई इङनाम लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार